कपिलवस्तुको कृष्णनगरमा मारिने पाण्डे भारतीय नागरिक भएको खुलासा

कपिलवस्तुको कृष्णनगरमा मारिने पाण्डे भारतीय नागरिक भएको खुलासा

काठमाडौं । हिन्दू र मुस्लिम समूदायबीच बीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा गोली लागेर मारिने सुरजकुमार पाण्डे भारतीय नागरिक भएको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुको कृष्णपुरमा मारिने व्यक्ति भारतीय नागरिक भएको बुझिएको छ । पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको खुल्न आएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दीपशम्शेर राणाले मारिएका पाण्डे प्रहरीको गोलीबाट नमारिएको दावी गरे । उनले भने, ‘पाण्डेको मृत्यु गोली लागेरै भएको देखिन्छ । तर, हामीले गोली चलाएका छैनौं । घूसपैठको सम्भावना छ । अवस्था सामान्य भइसकेको छैन ।’

कृष्णनगरमा बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्न जाँदा विसर्जन पक्षधर र अर्को समुदायका व्यक्तिबीच झडप भएको थियो । स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले मूर्ति विसर्जन गर्न आफूहरुको बाटो प्रयोग गर्न नदिने बताएपछि विवाद सिर्जना भएको थियो । बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड बढी आश्रुग्यास प्रहार गरेको थियो ।

विवादका कारण लक्ष्मीपूजाको मूर्ति अझै विसर्जन हुन सकेको छैन । बिहिबार बिहानैबाट अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनकारीसँगको झडपमा ५ जना प्रहरी समेत घाइते भएका बताइएको छ ।