
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले ७ असोजदेखि खेलेको देउसी भैलो बिहीबार समापन गरेको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले देशको हालत सिस्नुपानी देउसी हेरे छर्लङ्ग हुने बताएका छन् । मुलुकमा बढ्दो राष्ट्रघात र जनघात, भ्रष्टाचार र अनियमिततालगायत बढ्दो जनआक्रोशको प्रतिनिधित्व गर्दै सिस्नुपानी नेपालका कलाकारहरुले व्याङ्ग्यात्मक देउसीमार्फत् शासकहरुलाई कडा प्रहार गरेको अध्यक्ष गजुरेलको टिप्पणी थियो । वर्तमान दलाल संसदीय व्यवस्था रहुन्जेल कलाकारहरुले आफ्नो व्याङ्ग्यमार्फत् चित्रण गरेको स्थितिमा सुधार नआउने र जतिसुकै आलोचना गरे पनि शासकहरु नसुध्रिने दावी गर्दै अध्यक्ष गजुरेलले देश र जनताको स्थितिमा सुधार ल्याउन व्यवस्था नै बदल्नु पर्ने दावी गरे र भने, “अब जनगणतन्त्रका लागि आन्दोलनको आँधिबेहरी उठाउने बेला भइसक्यो ।”
करिब एक हप्ता लामो देउसी भैलो कार्यक्रमको बिहीबार महासंघका अध्यक्ष डा. ओम गुरुङको घरमा समापन गरियो । कीर्तिपुरस्थित गुरुङको घरमा देउसी भैलो कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य किरण पुगे पनि नियमित स्वास्थ्य जाँचका लागि चाँडै निस्कनु परेपछि देउसी भैलोको समापन मोर्चा अध्यक्ष सीपी गजुरेलले गरेका थिए ।
सो अवसरमा पार्टीका स्थायी समिति सदस्य परि थापा, रामसिंह श्रीस, पीविएम इन्द्रमोहन सिंग्देल, सीताराम तामाङ, केन्द्रीय सदस्यहरु हुकुमबहादुर सिंह, हस्तबहादुर केसी लगायका नेताहरुको समेत उपस्थिति रहेको थियो ।