जनजातिहरुको देउसी भैलोको समापन गर्दै अध्यक्ष गजुरेलले भने– ‘देशको हालत सिस्नुपानी देउसी हेरे छर्लङ्ग हुन्छ’

जनजातिहरुको देउसी भैलोको समापन गर्दै अध्यक्ष गजुरेलले भने– ‘देशको हालत सिस्नुपानी देउसी हेरे छर्लङ्ग हुन्छ’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल आदिवासी जनजाति महासंघले ७ असोजदेखि खेलेको देउसी भैलो बिहीबार समापन गरेको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले देशको हालत सिस्नुपानी देउसी हेरे छर्लङ्ग हुने बताएका छन् । मुलुकमा बढ्दो राष्ट्रघात र जनघात, भ्रष्टाचार र अनियमिततालगायत बढ्दो जनआक्रोशको प्रतिनिधित्व गर्दै सिस्नुपानी नेपालका कलाकारहरुले व्याङ्ग्यात्मक देउसीमार्फत् शासकहरुलाई कडा प्रहार गरेको अध्यक्ष गजुरेलको टिप्पणी थियो । वर्तमान दलाल संसदीय व्यवस्था रहुन्जेल कलाकारहरुले आफ्नो व्याङ्ग्यमार्फत् चित्रण गरेको स्थितिमा सुधार नआउने र जतिसुकै आलोचना गरे पनि शासकहरु नसुध्रिने दावी गर्दै अध्यक्ष गजुरेलले देश र जनताको स्थितिमा सुधार ल्याउन व्यवस्था नै बदल्नु पर्ने दावी गरे र भने, “अब जनगणतन्त्रका लागि आन्दोलनको आँधिबेहरी उठाउने बेला भइसक्यो ।”

देउसी भैलोमार्फत् आदिवासी जनजातिका नेताहरुले आफ्ना मुद्दा र आन्दोलनको आवश्यकताको विषयमा कुराहरु उठाएका थिए । महासंघका अध्यक्ष डा. ओम गुरुङ र महासचिव नगेन्द्र राईको नेतृत्वमा रहेको देउसी टोलीमा आदिवासी जनजातिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सामना साँस्कृतिक परिवार लगायतका कलाकारहरुको समेत देउसी भैलोमा सहभागिता रहेको थियो । महासंघले डबल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, उर्जा मन्त्री अनन्तलगायतकोमा समेत देउसी भैलो खेलेका थिए ।
करिब एक हप्ता लामो देउसी भैलो कार्यक्रमको बिहीबार महासंघका अध्यक्ष डा. ओम गुरुङको घरमा समापन गरियो । कीर्तिपुरस्थित गुरुङको घरमा देउसी भैलो कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य किरण पुगे पनि नियमित स्वास्थ्य जाँचका लागि चाँडै निस्कनु परेपछि देउसी भैलोको समापन मोर्चा अध्यक्ष सीपी गजुरेलले गरेका थिए ।
सो अवसरमा पार्टीका स्थायी समिति सदस्य परि थापा, रामसिंह श्रीस, पीविएम इन्द्रमोहन सिंग्देल, सीताराम तामाङ, केन्द्रीय सदस्यहरु हुकुमबहादुर सिंह, हस्तबहादुर केसी लगायका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

देउसी भैलो खेलेर संकलन भएको रकममध्ये केही गुल्मीका पहिरो पीडितलाई सहयोग गर्ने र बाँकी महासंघको आन्दोलनका निम्ति खर्च गर्ने गरी छलफल भइरहेको महासंघका केन्द्रीय सचिवलाय सदस्य खगेन्द्र छन्त्यालले जानकारी दिए ।