नेवाः जातिमाथिको उत्पीडन विरुद्ध नेवाः मोर्चा संघर्षमा

संगठन विस्तारमा तीव्रता

प्रकाशित मिति : २०७६ भाद्र ३१

   हालका दिनहरुमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल व्यापक संगठन विस्तारमा लागेको छ । यही क्रममा भाद्र २५ गते रौतहटको वाग्मतीमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको २ नं. प्रदेश स्तरीय भेला आयोजक समिति गठन भएको छ ।

 मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठ र नेकपा(क्रान्तिकारी माओवादी) २ नं. प्रदेशका इन्चार्ज रमेशको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य रमेश श्रेष्ठको संयोजकत्वमा सन्तोष प्रधान, राजु हाडा, अजय श्रेष्ठ, विकास श्रेष्ठ लगायत ७ सदस्यीय भेला आयोजक समिति गठन भएको छ ।

  उक्त भेला आयोजक समितिको बैठकले २ नं. प्रदेशका जिल्लाहरुमा नेवाः मोर्चाको जिल्ला गठन गर्ने तथा साधारण सदस्यता व्यापक रुपमा वितरण गर्ने निर्णय गरेको छ । नेवाः मोर्चाको प्रदेश भेला आगामी मंसिर ३० गते सम्म गरी सोही भेलाले मोर्चाेको तेस्रो राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि पर्यवेक्षक चयन गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा नेवाः मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले नेवाः जातिमाथि राज्यद्वारा गरिँदै आएको उत्पीडन विरुद्ध संघर्ष उठान गर्न आवहान गरेका थिए । साथै उनले नेवाः जाती , मोर्चाको संगठन र राष्ट्रिय सम्मेलनको महत्वबारेमा प्रकाश पारेका थिए ।

  त्यसै गरी यही भाद्र २७ गते १ नं. प्रदेशको सुनसरी जिल्ला स्थित इटहरीमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको १ नं. प्रदेश स्तरीय भेला आयोजक समिति गठन भएको छ । कार्यक्रम नेवाः मोर्चाको पूर्व केन्द्रीय उपाध्यक्ष मनोज श्रेष्ठको अध्यक्षता र मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । उक्त भेलाले कुल बहादुर श्रेष्ठ(मोरङ्ग)को संयोजकत्वमा जीवन श्रेष्ठ(खोटाङ्ग), शिवशंकर श्रेष्ठ(मोरङ्ग), निर्मल बज्राचार्य(सुनसरी), उमेश श्रेष्ठ(सुनसरी), गणेश श्रेष्ठ(झापा) , इन्द्र श्रेष्ठ(उदयपुर), जीवन प्रधान(झापा) र पृथ्वी श्रेष्ठ(सुनसरी) गरी ९ सदस्यीय प्रदेश भेला आयोजक समिती गठन गरेएको छ ।

  सोही भेलाले १ नं. प्रदेशका विभिन्न जिल्लाहरुमा नेवाः मोर्चाको जिल्ला गठन तथा सदस्यता व्यापक रुपमा वितरण गरी पुष ५ गते नेवाः मोर्चाको १ नं. प्रदेश स्तरीय भेला सम्पन्न गर्ने निर्णय गरेको छ । साथै सोही भेलाबाट मोर्चाको राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि र पर्यवेक्षक चयन गर्ने निर्णय समेत गरिएको छ ।
भेलामा उपस्थित मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले नेवाः जातिको अवस्था, नेवाः आन्दोलन र नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको राष्ट्रिय सम्मेलनको महत्वबारे महत्वपूर्ण धारणा राखेका थिए ।

  उक्त कार्यक्रममा उपस्थित अखिल नेपाल आदिवासी जनजाति महासंघ, १ नं प्रदेशका सचि गौरव राईले आफ्ना भनाइहरु राख्दै सबै जनजातिहरु मिलेर अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमका अर्का बक्ता अखिल तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष पदम तामाङ्गको समेत उपस्थिति रहेको थियो ।