नेपाली एकता समाज, भारत संयुक्त राज्य समिति चण्डीगढको सम्मेलन भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७६ भाद्र २४


भारत । नेपाली एकता समाज, भारत अहिले राज्यहरुको सम्मेलनमा जुटेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव परि थापाको प्रमुख आतिथ्यतामा ती राज्यहरुका सम्मेलन धमाधम भइरहेका छन् । पछिल्लो पटक भाद्र २१ र २२ गते समाजको संयुक्त राज्य समिति चण्डीगढ एकताको प्रथम राज्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । पंजावको राजधानी चण्डीगढ अन्तर्गत दसमेस नगर अवस्थित ढिल्लों फार्मको सभाकक्षमा २०७६ साल भाद्र २१ र २२ गतेका दिन देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव परि थापाले प्रमुख अतिथिको हैसियतमा सम्मेलनको उद्घाटन गरे ।

समाजका केन्द्रीय समितिका सचिवालय सदस्य एवं राज्य समितिका अध्यक्ष शिवराज बुढामगरको अध्यक्षता, राज्य समितिका सदस्य भद्रसिंह घर्तिमगरको उद्घोषण र राज्य समितिका उपाध्यक्ष विष्णु न्यौपानेको स्वागत मन्तव्यसहित सुरु भएको सम्मेलनमा सामना सांस्कृतिक परिवारका साथै स्थानीय कलाकारहरुले रोचक प्रगतिशील तथा क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । जसले सम्मेलनलाई अझ रोमाञ्चक बनाएको थियो । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले वर्तमान कथित कम्युनिस्ट पार्टीको सरकारले विगतका सरकारहरुले जस्तै राष्ट्रघात, जनघात र भ्रष्टाचार लाई निरन्तरता र व्यापकता दिएको बताए । उनले अगाडि भने, ‘समाजवाद’ को लफ्फाजी दिएको सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व लिनु पर्नेमा ती विषय र क्षेत्रमा भैरहेको नीजिकरणलाई तिब्रता दिएर मुठ्ठीभर दलाल, नाफाखोर र विचौलियाहरुको हितमा काम गरेकोछ ।’

मोर्चा महासचिव थापाले थपे, ‘वर्तमान सरकारले संविधानमा व्यबस्था भएका प्रावधानहरुका विपरित कार्य गरेको र राज्य व्यबस्था प्रतिकृयादमा पतन भैसकेकाले अब यसको भण्डाफोर गर्न आवश्यक नभएकाले आगामि मंसिर महिनामा हुने भनिएको संघीय र स्थानीय चुनावलाई सकृय बहिष्कार गर्दै राष्ट्रीयता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान गर्न संघर्षलाई सशक्त ढंगले अगाडी बढाएर संघीय जनगणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्दै वैज्ञानिक समाजवादको स्थापना गर्नु पर्दछ।’

नेपाली एकता समाज, भारत केन्द्रीय समितिका सचिवालय सदस्य केशव थापाले नव निर्वाचित राज्य समितिको नामावली प्रस्तुत गरेका थिए । उनले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुका साथै नवनिर्वाचित कार्य समितिलाई वधाई ज्ञापन गरे । सम्मेलनमा शुभकामना मन्तव्य दिनेहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय समिति सदस्य कुमार बोगटी र क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य विक्रम थापा लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनले शिवराज बुढामगरको अध्यक्षतामा तेह्र (१३) सदस्सीय नेपाली एकता समाज, भारत संयुक्त राज्य समिति चण्डीगढ चयन गरेकोछ । राज्य समितिको अन्य पदाधिकारीहरुमध्ये उपाध्यक्ष विष्णु न्यौपाने, सचिव पहल बांठामगर, सहसचिव युवराज घर्तिमगर, कोषाध्यक्ष विष्णु पोखरेल रहनु भएकोछ। त्यसैगरी सदस्यहरुमा हिरालाल गौतम, भद्रसिंह घर्तिमगर, केवल प्रसाद बुढामगर, टेक सिंह, गीता शर्मा र निम कुमारी न्यौपाने रहेका छन् दुई स्थान पछि पूर्ति गर्ने गरी रिक्त राखीएको छ । त्यस्तै बेल बहादुर बुढामगरलाई सल्लाहकारमा चयन गरिएको छ ।