संस्कृति : तीज पर्व कति ठिक कति बेठिक ?

प्रकाशित मिति : २०७६ भाद्र २२

- हिरामणि दुःखी

१. भर्खरै नेपाली हिन्दू समाजबाट महिलाहरूले मनाउने तीज पर्वले विदा लिएको छ । भाद्र शुक्ल तृतीया तिथिका दिन पर्ने यो तीज पर्व नेपाली समाजमा हरितालिका तीज नामले पनि चिनिन्छ । यो पौराणिक कथनमा आधारित छ । यद्यपि कुनै पनि धार्मिक संस्कार र संस्कृतिमा आधारित चाडपर्वहरूको श्रोत पौराणिक मिथकहरू नै हुन् । तीज पनि त्यही मिथककै एक पर्व हो । यो ‘पार्वती’ले ‘शिव’ पति पाउँ भनेर केही पनि नखाई निरहार ब्रत बसेर ‘शिव’को भक्ति गरेको हुनाले उनले ‘शिव’ पति पाएको भन्ने किम्बदन्तीमा आधारित छ । त्यसैले अहिले पनि तीजका ब्रत बस्नेहरूले दिनभर निराहार बसेर बेलुका आफ्नो पायक पर्ने स्थानका शिवालयहरूमा गएर पूजा गर्ने प्रचलन छ । त्यस दिनको ब्रत कन्याहरूले राम्रो पति पाउँ भनेर र बिबाहितहरूले पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर बस्ने परम्परा छ । यसको कुनै वैज्ञानिक, सामाजिक एवम् भौतिकवादी आधार छैन । केवल परम्परामा आधिारित मिथ र रुढ बाहेक यसमा कुनै सत्यता पनि छैन ।

ब्रत बस्दैमा राम्रो पति प्राप्त हुने वा ब्रत बस्दैमा श्रीमान्को स्वास्थ्य राम्रो हुने र आयु बढ्ने हुन्थ्यो भने विज्ञानका रूपमा आविस्कार भएका भौतिक बस्तुको कुनै काम आउने थिएन । ग्रहगोचर, दैदेवता आदिको पूजा गर्दैमा तथा स्वास्थ्यलाभ र दीर्घायुको कामना गरेर ब्रत भाकल गर्दैमा मानिस स्वस्थ हुने र आयु बढ्ने हुन्थ्यो भने संसारभरी यति ठूला अस्पतालहरूको विकास गर्नु पर्ने नै थिएन । र समाजमा अशान्ती, अत्याचार, शोषण, उत्पीडन, व्यभिचार, बलात्कार, हत्या, हिंसा आदि कुनै पनि घटनाहरू हुने थिएनन् । न त लुटतन्त्र हुन्थ्यो न त असमानता र विभेदपूर्ण समाज नै हुन्थ्यो । किनकि मानिस पाप र पूण्यका कारण कोही पनि पाप बोक्न तयार हुने थिएन । यो सबै कुरा भ्रम मात्रै हो । बरू धर्म र धार्मिक चाडपर्वहरूले त जातीय विभेद, रङ्ग विभेद, असमानता, बर्गीय उत्पीडनकारी राज्य निर्माणमा मद्दत गरेको छ । किनकि मानिसलाई भाग्यवादी बनाएर राज्यसत्ता र शाषक जाति वा समूदायका हरेक प्रकारका शोषणलाई सहेर बस्ने बनाएको छ । हिन्दू धर्मको मात्रै नभएर संसारमा विकास भएका जुनसुकै धर्मको मूल्य र मान्यताहरू अन्धविश्वासमा आधारित छन् । अल्पचेनता र भौतिकवादी विश्वदृष्टिकोण नभएका मानिसहरूको चेतनालाई भ्रमित गरेर धर्मान्धहरू टिकेका छन् । यद्यपि धर्मको सम्बन्ध सामन्तवादसँग छ । परन्तु अहिलेको भूमण्डलिकृत राजनीतिमा पूँजीवादी र साम्राज्यवादी शासनसत्ता टिकाउन पनि शासकहरूले धर्मको आड लिने गरेका पनि छन् । मान्छेलाई भाग्यवादमा अल्मल्याएर लूटको शाषन टिकाउने सत्ताधारीहरूको रणनीति भित्र धर्म र धार्मिक पर्बहरू फस्टाएका छन् ।

धर्मलाई अधिकांस मानिसले अन्धविश्वासमा मानिरहेका हुन्छन् । समाजको ठूलो हिस्सा अन्धतामै रुमलिएको हुन्छ । उनीहरूमा साँच्चिकै ‘स्वर्ग’ र ‘नर्क’को भ्रम छ । त्यसैले तीर्थ, ब्रत, दान, धर्म, पूजाआजा गरेर ‘पूण्य’ कमाउने र मरेपछि ‘स्वर्ग’मा बास पाउने अभिलासाले उनीहरू धर्मको सहारा लिएका हुन्छन् । एक समय युरोपका कतिपय मुलुकमा त्यहाँका राजाहरूले आफ्ना जनतालाई ‘स्वर्ग’ पु¥याईदिने भनेर ‘स्वर्ग’ जाने टिकेट काट्न आदेश गरेर जनताबाट अकूत धन दौलत हडपेका घटना इतिहासमा पढ्न पाइन्छ । हाम्रो देशमा त यो प्रथा अर्को रूपमा अध्यावधिक छ । जस्तो कि पशुपतिनाथमा गरिने÷गराइने महादानदेखि विभिन्न प्रकारका दान दक्षिणा चढाउने प्रथा रहेको छ । त्यस्तै अहिले फेसनका रूपमा विकास भएका सप्ताह, माहापूराण लगाउने र त्यहाँ भक्तहरूलाई प्रतिष्पर्धात्मक रूपमा दान दक्षिणा चढाएर ‘स्वर्ग’प्राप्ती गर्ने सांसारिक दुःखबाट मुक्त हुने जस्ता भ्रम दिइन्छ । रुद्री, सत्यनारायणका कथा लगाउने, लक्ष्यबर्तिका बाल्ने, सप्ताह पुराण लगाउने, बृद्ध भएपछि चौरासी पूजा गर्ने, मरेपछि तेह« दिनसम्म किरिया बसेर गरुढ पुराणमा बर्णित विभिन्न प्रकारका दान दक्षिणा दिनु जस्ता कर्मकाण्डीय कार्य गरेर ‘स्वर्ग’ प्राप्त हुन्छ भनेर गरिने कार्य त्यही युरोपका राजाहरूले ‘स्वर्ग’ जाने टिकेट काटे जस्तै हो । त्यसैले तीज, पञ्चमीमा गरिने ब्रत तथा पूजा, विभिन्न प्रकारका ब्रतहरू, मठमन्दिरहरूमा जाने, पूजाआजा गर्ने, भाकल गर्ने, ग्रहदशाको जप तथा शान्ति गर्न ब्रत बस्ने, पूजा गर्ने, शक्तिपीठहरूको दर्शन गर्न तीर्थाटन जाने, जात्राहरू मनाउने आदि सबै त्यही ‘स्वर्ग’ र ‘मोक्ष’ प्राप्तीका सूचकहरू हुन् ।

२. तीजको एउटा पक्ष त पतिका निम्त ब्रत बस्ने र पूजा गर्ने कुरासँग सम्बन्धित छ, जस्को माथि चर्चा गरिसकिएको छ । अर्को पक्ष भनेको चेलीबेटीहरू माइती मावलीमा जाने, दिदी–बहिनी र साथी–सँगीहरू सबै जम्मा भई चौतारीहरूमा भेला भएर नाचगान गर्ने, पिङ खेल्ने, रमाइलो गर्ने हो । त्यस दिन घरपरिवारका सासू–ससुरा, देवर–जेठाजु, लोग्ने, नन्द–आमाजूहरूले गरेका दुब्र्यवहार, शोषण, अत्याचार आदिका बारेमा गीत गाउने र बर्षदिनको एक पटक भए पनि मनको बह पोखेर आत्मसन्तुष्टी लिँदै नाच्ने गरिन्छ । यसलाई एकातिर नेपाली समाजमा बुहारीहरूले घरमा ब्यहोर्नु परेका उत्पीडनका विरुद्ध गीतबाटै भएपनि विद्रोह बोल्ने एउटा पर्वका रूपमा लिइन्छ भने, अर्कातिर दिदी–बहिनी, साथी–सँगी जम्मा हुने र आफ्ना आमा–बुबा, दाजु–भाइसँग सँगै बसेर मिठा मिष्टाङ्ग भोजन खाँदै रमाइलो गर्ने पर्वका रूपमा पनि लिइन्छ । यो दिदी–बहिनी र साथी–सँगी तथा आफन्तसँगको मिलनको अवसर जुराउने पर्व पनि हो । यो एक हदसम्म सकारात्मक पक्ष पनि हो । समाजमा स्थापित परम्परागत मूल्य–मान्यता र संस्कार–संस्कृतिहरू पनि शत प्रतिशत खराब वा शत प्रतिशत ठिक भन्ने हुँदैन । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अङ्गाल्ने कुनै पनि मानिसले यस्ता परम्परागत संस्कार–संस्कृतिहरूको सकार र नकार पक्षलाई पर्गेल्ने र समाजलाई अग्रागामि दिशातिर डो¥याउन मद्दत पुग्ने भएमा मात्रै त्यस्ता संस्कृतिहरूका राम्रा पक्षलाई अङ्गाल्नु पर्छ । तर अहिलेसम्म पनि त्यसरी पर्गेलेर स्वीकार वा अस्वीकार गरिएको पाइँदैन । बरू सीमित राजनीतिक स्वार्थका कारण अरूको सिको गर्ने र अचेतनशील जनताले रुढिका रूपमा पछ्याएका संस्कृतिहरूलाई भोटको राजनीति गरेर उनकै पछि सचेत राजनीतिज्ञहरू पनि दौडिरहेका छन् ।

हिँजोआज कतिपय नारीवादी अभियन्ताहरू, राजनीतिक दलका महिला नेताहरू विभिन्न सामाजिक सङ्घसंस्था, सरकारी तथा गैरसरकारी निकायका कर्मचारी महिलाहरूले यसलाई आफ्नो लिङ्गीय उन्मुक्तिका पर्वका रूपमा लिने गरेका छन् । त्यसैले उनीहरू तीजभन्दा महिनादिन पहिलेदेखि नै दर खान जम्मा हुने, विभिन्न पार्टी प्यालेसहरू, क्लवहरू, होटेल रिसोर्टहरू, सभाहलहरूमा जम्मा भएर दर खाने प्रचलन बढ्दै गएको छ । यो पर्वका नाउँमा आएको विकृति हो ।

यो पर्वको अर्को विकृत पक्ष भनेको फेसन र गरगहना प्रदर्शनको स्पर्धा हो । महिला अधिकारका ठूला ठूला भाषण गर्ने नारीवादीहरू, स्थानीय तहदेखि केन्द्रसम्मका जनप्रतिनिधि महिलाहरू, स्कुल कलेजका शिक्षिकाहरू, राजनीतिक दलका महिला नेताहरूसम्म सबैलाई फेसन सो र गहना स्पर्धाको प्रभावले लपक्कै छोएको हुन्छ । मानौँ कि तीजका दिनमा गहना र फेसनेवल कपडा प्रदर्शन गर्नाले महिलाका समग्र अधिकार प्राप्त भएको होस् । अघिपछि महिला अधिकारका कुरा गर्नेहरू नै तीजका दिन धर्मका नाममा आफ्ना श्रीमान्को आयु बढाउन र सुस्वास्थ्यको कामनामा ब्रत बस्ने गर्छन् । यस्ता ब्रत बस्नेहरू मध्यका धेरैजसोले बेलुका आफ्ना पतिको गोडा धोएर जल खाएर मात्र अन्नादिको भोजन गर्छन् । पुरुष सरहको समान अधिकार खोज्ने र श्रीमान्को निम्ति ब्रत बस्ने कुरा अन्तरबिरोधी कुरा हुन् । ब्रत बस्ने र पूजाआजा गर्ने कुरा सामन्तवादी संस्कृति हो भने बराबरी हक अधिकारको कुरा गर्नु न्यायपूर्ण समानता र मानवताको कुरा हो । सामन्तवादी परम्परागत संस्कृतिले समानता र न्यायको कुरालाई अस्वीकार गर्छ । त्यसैले महिला अधिकारकर्मी, राजनीतिज्ञ, तथा आधाुनिक शिक्षाबाट शिक्षित महिलाहरूले तीज पर्वलाई आफ्नो पतिब्रता धर्मसँग जोडेर मनाउने, फजुल खर्च गरेर भड्किलो फेसन र गहना प्रदर्शन गर्ने, महिनौँदेखि दर खाने जस्तो विकृतिमा लाग्नु सोभनीय र चेतनशील कुरा होइन ।

३. तीज पर्व धार्मिक संस्कृतिको एउटा पक्ष त हुँदै हो, अहिले यो फेसनका रूपमा पनि स्थापित हुँदै गएको छ । तीजको ब्रत लगभग दस बर्सभन्दा माथिका अबोध वालिकाहरू समेत बसेका भेटिन्छन् । धार्मिक परम्परामा अबिबाहित युवतीहरू ब्रत बस्नाले राम्रो श्रीमान् प्राप्त हुन्छ भन्ने मान्यता छ । तर ती अबोध बालिकाहरूलाई राम्रो श्रीमान् पाउने कुरासँग कुनै सरोकार हुँदैन र तिनले यो धार्मिक मान्यता बुझेका पनि हुँदैनन् । तथापि तिनीहरू साथी सँगीहरू, दिदी, भाउजूहरू, आमा–हजुरआमाहरू ब्रत बसेको देखेर र यो तीज पर्ब महिलाहरूको हो भन्ने देखेर सुनेर रहरका रूपमा ब्रत बसेका हुन्छन् । यसले महिलाहरूलाई अबोध उमेरदेखि नै पुरुष ठूला हुन् र महिला साना हुन्, महिलाले पुरुषको पूजा गर्नु पर्छ, भोली आफ्नो बिहे भएर अर्काको घरमा गएपछि लोग्नेको यसैगरी ब्रत बसेर पूजा गर्नु पर्छ, दीर्घायुको कामना गर्नु पर्छ भन्ने चेतना घुसाइदिन्छ । यसरी संस्कार–संस्कृति र चाडपर्वका माध्यमबाट समेत हामीले ससाना बाल–बालिकाहरूलाई कलिलै उमेरदेखि नै महिला र पुरुषबिच विभेदको पर्खाल खडा गरिदिन्छौँ भने हामीले पछि महिला अधिकारको कुरा गर्नु, महिला पुरुष समान हुनुपर्छ भन्नु कति औचित्यपूर्ण हुन्छ ?

४. सत्ताका उपरीसंरचनामा भएका फेरबदल सँगै राजनीतिकर्मीहरूले समेत विभिन्न जातजाति र समूदायका जनताले मनाउँदै आएका परम्परा, धर्म, संस्कार–संस्कृति र चाडपर्वहरूलाई अझ बढि प्रश्रय दिएर मनाउने गरेका छन् । हिजो जनयुद्धकालमा जनवादी संस्कार संस्कृतिको विकास गर्ने भनेर कैयौँ रुढिवादी संस्कार–संस्कृतिहरूको विरोध गरेका, अन्धविश्वासमा आधारित पर्व र संस्कारहरूको विरोध गरेर मनाउन छोडेकाहरू आज सत्तामा पुगेपछि आफैँले हिजोका मूल्य मान्यताहरूलाई कुल्चेर परम्परागत रुढ संस्कृतिलाई पछ्याउन थालेका छन् । पुरुष सरह समान हैसियत निर्माण गरेका नेतृहरू, जनमुक्ति सेनाका योद्धा र कमाण्डरहरू आज भटाभट पुरानै संस्कार संस्कृति, रिति परम्परागत चाडपर्वहरू मनाउने होडबाजीमा लागेका छन् । हिजो काङ्ग्रेस र झापा आन्दोलनबाट विकसित भएका माले–एमालेहरूले समेत अहिलेका सत्तासीन माओवादीहरूलेझैँ विगतमा आफैँले स्थापित गरेका मूल्यहरूको विघटन गरेका थिए । सङ्घर्षमा हुँदा स्थापित गरेका मूल्यहरूलाई सत्ताप्राप्तीपछि विघटन गर्ने र पुरानै सामन्तवादी संस्कृतिलाई बोकेर हिँड्ने नेपाली राजनीतिको सबैभन्दा पाखण्डी र ढोँगी चरित्र बन्न पुगेको छ ।

राजनीतिमा व्यवस्थै परिवर्तन भयो, युग परिवर्तन भयो, सत्ताको मूल स्वरूप नै परिवर्तन भयो भनेर वकालत गर्नेहरूले नै सामाजिक, सांस्कृतिक रूपमा सामन्तवादी संस्कृतिलाई अझ बढि काँध थापेर बोक्दै हिँडेका छन् । आर्थिक रूपमा पछ्यौटे, सामन्ती टुक्रे उत्पादन सम्बन्ध र दलाल पुँजीवादी राजनीतिबाट पैदा भएको आत्मसमर्पणवादी संस्कृतिलाई आत्मसात गरिरहेका छन् । यसप्रकारको खच्चर संस्कृतिको विकास गराउने कार्यमा सत्तासीन वर्ग लागिपरेको छ । यस्तोवेला पारिवारिक मिलन तथा सामाजिक सद्भावका रूपमा तीजलाई अङ्गाल्नु पर्छ भन्नुको कुनै औचित्य छैन् । बरू यसले उही पुरातन सामन्तवादी संस्कार संस्कृतिलाई नै बलियो बनाउन मद्दत पु¥याउँछ । फलस्वरूप जातीय, लिङ्गीय, धार्मिक रूपले असमानता र विभेदका पर्खाल अझ बलिया भएर खडा भइरहन्छ । त्यसपछि नारिवादका कुरा पनि राजनीतिका मुट्ठीभर महिला नेताहरूलाई सत्ताको जुठो चाटेर तृप्त पार्ने अवसर प्रदान गर्ने र कतिपय एनजिओ आइएनजिओहरूका निम्ति डलर कमाउने स्थायी भाँडो भइरहन्छ ।
२०७६ भदौ २१

[email protected]