क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न, संगठन विस्तारमा जोड

प्रकाशित मिति : २०७६ भाद्र २१

- बिष्णु भट्ट


कैलाली । क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटिको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले संगठन विस्तारमा जोड दिने निर्णय गरेको छ । बैठकमा राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका साथै केन्द्रीय योजना, जनपक्षीय पत्रकारिता र श्रमजीवी पत्रकारका हकहित लगायतका विषयमा महत्वपूर्ण छलफल भएको छ । शनिवार कैलालीको अत्तरियामा सम्पन्न बैठकले ९ वटा जिल्लामा मध्ये तीन जिल्लाको जिल्ला भेला एंव अन्य छ जिल्लामा सम्पर्क कमिटी निर्माण गर्ने निर्णय गरेको महासंघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक धनञ्जय अवस्थीले जानकारी दिए ।

बैठकले कैलाली, कञ्चनपुर र डडेल्धुराको जिल्ला भेला तत्काल सम्पन्न गर्ने र बैतडी सहितका जिल्लामा सम्पर्क कमिटी गठन गर्नका निम्ति प्रदेश सदस्यहरुको कार्यविभाजन समेत गरेको प्रदेश कमिटी सदस्य भुवन भट्टले बताए ।

त्यस्तै बैठकले कैलालीबाट नारायण चौधरी र डडेल्धुराबाट दिपकराज भट्टलाई प्रदेश कमिटिमा थप गरेको छ ।

महासंघको बैठकले मिडिया काउन्सिल बिद्येयक फिर्ताको आन्दोलनमा ठोस सहमतिविनै नेपाल पत्रकार महासंघले आन्दोलन बिसर्जन गरेर धोका दिएको ठहर गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी कानुनका बिरुद्धको संर्घषलाई जारी राख्ने निर्णय गरेको छ ।
बैठकले सरकार तथा सबै संचारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र साना लगानी तथा स्वरोजगारमुखी मिडियाको प्रबद्र्धनका लागि दवाव सिर्जना गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले नेपाल पत्रकार महासंघलाई साझा र छाता चरित्रको बनाउन सबै जिल्ला र प्रदेशस्तरबाट खबरदारी गर्ने र पेशागत मुद्दाका विषयलाई लिएर प्रदेश स्तरमा अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डेयले कुनै पनि निकायको हनुमानकारिता गर्दै पत्रकारले समाचार लेख्न नहुनेमा जोड दिए । उनले जनपक्षीय पत्रकारले राष्ट्रियता र जनताको पक्षमा कलम चलाउनुपर्ने उल्लेख गर्दै देशमा ब्याप्त बिकृति बिसंगतीका बिरुद्ध कलम चलाउन निर्देशन दिए । उनले भने– निर्भिक भएर कलम चलाउनुस् ।

त्यस्तै कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य सुदुर पश्चिम प्रदेशका ईञ्चार्ज एंव सेक्रेटरी अनुकुलले क्रान्तिकारी पत्रकारले आफ्नो पहल बृद्धि गर्दै राष्ट्रियता, जनतन्त्र, जनजीविका र उत्पीडित जनताको पक्षमा आवाज बुलन्द गर्न क्रान्तिकारी पत्रकारहरलाई निर्देशन दिए ।

बैठकलाई सम्बोधन गर्न काठमाडौंबाट आउँदै गरेका संगठनका अध्यक्ष इन्द्र राउत धादिङको गल्छीमा गएको पहिरोको अवरोधका कारण बैठकमा आउन नसकेको प्रदेश संयोजक अवस्थीले जानकारी दिए ।

बैठकमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा प्रदेश संयोजक राम महराको समेत उपस्थिति रहेको थियो ।