राष्ट्रियता जोगाउन दशवर्षे जनयुद्धभन्दा पनि ठूलो लडाइँ अपरिहार्य : अध्यक्ष सिपी गजुरेल

प्रकाशित मिति : २०७६ भाद्र २२


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालको राष्ट्रियता जोगाउनका लागि दशवर्षे जनयुद्धको भन्दा पनि ठूले लडाइँ अपरिहार्य रहेको बताएका छन् । ‘राष्ट्रियताको कसिमा माथिल्लो कर्णाली जलविद्युत् परियोजना’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् ।

अध्यक्ष गजुरेलले शासकहरु पराधीन भएकोले राष्ट्रघात व्यहोर्नु परेको स्मरण गर्दै अपर कर्णालीमा राष्ट्रघात हुन नदिन राष्ट्रवादीहरुको बृहद मोर्चाबाट सडक आन्दोलनसँगै आवश्यक परे पुरानो दशवर्षे जनयुद्धभन्दा पनि ठूलो लडाइँ लड्न तयार रहनु पर्ने बताए । उनले मुलुकको आत्मर्भिरता जलविद्युतमा रहने विषय प्रष्ट पार्दैै आम नेपालीलाई सरकारले गरेको राष्ट्रघात र जनघातका विषयमा सहि विषय सम्प्रेषण गर्न जरुरी भएको बताए ।

उनले कालो सूचिमा सूचिकृत जिएमआर कम्पनीलाई तत्काल खारेज गरिनु पर्ने पनि विचार व्यक्त गरेका थिए । अधिकांश वक्ताहरुले माथिल्लो कर्णाली सम्झौता खारेज गरिनु पर्ने धारणा राखेका थिए ।

पुष्पलाल अध्ययन समाज नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले, राष्ट्रिय जागरण परिषद्, माथिल्लो कर्णाली बचाउ अभियान र जनसमाजवादी पार्टी नेपालको संयुक्त आयोजनामा सम्पन्न सो अन्तक्र्रिया कार्यक्रममा सभापति लोककृष्ण भट्टराईले जनतामा जागरुकता बढ्दै गएकाले शाषकहरु रुपान्तरित हुने विश्वास व्यक्त गरेका थिए भने राष्ट्रियताका अभियन्ता साध्य बहादुर भण्डारीले कुर्सीमा पुगेपछि राष्ट्रियताप्रति आँखा चिम्लने प्रवृत्तिलाई सशक्त आन्दोलनबाट जवाफ दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, नेता घनश्याम भुसाल, नेकपा मालेका नेता डम्बर श्रेष्ठ, जनसमाजवादी पार्टीका अध्यक्ष सुवास काफु्ले, पूर्वमन्त्री दीपक ज्ञवाली, माथिल्लो कर्णाली वचाउ अभियानका भरत बहादुर शाही, संघीय सांसद राज बहादुर बुढा, जलश्रोत विज्ञ रत्नसंसार श्रेष्ठ, वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की लगायतका व्यक्तिहरु बोलेको उक्त कार्यक्रममा रतन भण्डारीले कार्यपत्र पेश गरेका थिए ।