अन्तिम श्रद्धाञ्जलीसहित गरियो कमरेड राममणि अधिकारीको अन्त्यष्टी

प्रकाशित मिति : २०७६ भाद्र १९


बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी)का दिवंगत केन्द्रीय सल्लाहकार समितिका सदस्य राममणि अधिकारीको अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ । जिल्लाको बबई नदीमा बिहीबार पार्टीको हसियाँ हथौडा झण्डा ओढाएर नेता अधिकारीप्रति अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको हो ।
क्रान्तिकारी माओवादीका पीवीएम तथा बाँके बर्दिया इन्चार्ज संकुल, पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य कृष्ण भट्टराई लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता अधिकारीले कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गरेका थिए ।


पार्टीका बर्दिया सेक्रेटरी भूकम्पले सञ्चालन गरेको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा नेता अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका निम्ति पार्टीका बाँके सेक्रेटरी अर्जुन, पूर्व जनमुक्ति सेनाका बटालिन कमाण्डर विपिन रोकाया, किसान महासंघ(क्रान्तिकारी)का केस प्रेम थापा, देजमोको बर्दियाका अध्यक्ष विक्रम भण्डारीलगायत क्रान्तिकारी माओवादी र अन्य विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु बबई नदीमा पुगेका थिए ।
वक्तव्य निकालेर नेता अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी माओवादीले अधिकारीको निधनबाट पार्टी र क्रान्तिका लागि ठूलो क्षति भएको जनाएको छ ।

नेता अधिकारीको बुधबार राती साढे १० बजे उपचारको क्रममा नेपालगञ्जको भेरी अस्पतालमा निधन भएको थियो ।

यसैबीच, क्रान्तिकारी माओवादी बर्दिया जिल्लाले पनि एक वक्तव्य जारी गरी पार्टीका केन्द्रीय सल्लाहकार अधिकारीको निधनले नेपालको सिंगो कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको जनाएको छ र दिवंगत नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक संतप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । नेता अधिकारीको निधनबाट जिल्ला पार्टी मर्माहत बनेको भन्दै पार्टी सचिव भुकम्पले जारी गरेको वक्तव्यमा नेता अधिकारीका अधुरा सपना पुरा गर्न पार्टी जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको उल्लेख गरिएको छ ।