विप्लवको कार्यकर्ता भन्दै क्रान्तिकारी माओवादीका जिल्ला सदस्य पक्राउ

प्रकाशित मिति : २०७६ भाद्र १९

प्युठान । नेकपा (क्रान्तिकारी माओवादी) प्युठानका जिल्ला सदस्य चन्द्रप्रसाद पोखरेललाई प्रहरीले आर्थिक सहयोग उठाएको आरोपमा पक्राउ गरेको छ । प्रहरीले क्रान्तिकारी माओवादीको जिल्ला सदस्यको परिचय दिंदा पनि विप्लव नेकपाको कार्यकर्ताको होस् भन्दै पक्राउ गरेर प्रहरी हिरासतमा राखेको क्रान्तिकारी माओवादी प्युठानले जानकारी दिएको छ ।
क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज टिकाराम पौडेलका अनुसार प्रहरी हिरासतमा राखिएका पोखरेललाई जबर्जस्त चन्दा असुलीको मुद्दा लगाई जेल चलानको तयारी गरिएको छ ।
पोखरेल पक्राउ परेपछि इन्चार्ज पौडेललगायतका क्रान्तिकारी माओवादीका नेताहरुले जिल्ला सिडिओ र डिएसपीलाई आफ्नो जिल्ला पार्टीको सदस्य भएकोले छाड्न अनुरोध गर्दा पनि नछाडिएको जानकारी दिए ।  पोखरेललाई अविलम्ब रिहाई नगरे पार्टीले कडा प्रतिरोध गर्ने चेतावानी दिएको पौडेलले बताए ।

पोखरेल जिल्लाको क्वाडी निवासी हुन् । उनलाई बुधबार स्वर्गद्वारी आश्रमबाट पक्राउ गरिएको थियो ।