क्रान्तिकारी माओवादी २ नं. प्रदेशद्वारा पाँच दिने प्रशिक्षण कार्यक्रमको सञ्चालन, पार्टी प्रवक्ता प्रतीकले गरे प्रशिक्षण कार्यक्रमको उद्घाटन (फोटो फिचरसहित)

प्रकाशित मिति : २०७६ भाद्र १९


सिरहा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) २ नं. प्रदेशको पाँच दिने वैचारिक राजनीतिक प्रशिक्षणको बुधबार उद्घाटन गरिएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता हरिभक्त कँडेल “प्रतीक”ले उद्घाटन गरे । सिराहा जिल्लाको गोलबजारमा एक कार्यक्रमका बीच प्रवक्ता प्रतीकले प्रशिक्षणको उद्घाटन गरेका हुन् ।


पार्टीका पूर्वी कमाण्डका ईन्चार्ज समेत रहनु भएका प्रवक्ता प्रतिकले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नवसंशोधनवादीहरु प्रतिक्रियावादी सरकारमा पुगेर फासीवादी सत्ताको अभ्यास गरिरहेको आरोप लगाए ।
चौतर्फी रुपमा नेपालको कम्युनिस्ट तथा माओवादी आन्दोलनमा संशोधनवाद र अवसरवाद हावी रहेको बेला क्रान्तिकारी बाँकी कार्यभार पूरा गर्ने अठोटसहित पार्टीले सञ्चालन गरेको यस्तो ऐतिहासिक प्रशिक्षण कार्यक्रमले क्रान्तिको महान् अभियानमा दुरगामी प्रभाव पार्ने प्रवक्ता प्रतीकले विचार व्यक्त गरे ।
नेता प्रतीकले अगाडि थपे, “बिभिन्न रुप रंगले सिंगारिएका संशोधनवादीहरुले नेपाली क्रान्तिलाई जटिल बनाइरहेका बेला हामीले क्रान्तिको यो तयारी गरिरहेकाले आज हाम्रो सामु चुनौती र अवसर दुवै छ । यस प्रकारको अवस्थामा सञ्चालन गरिएको यो महत्वपूर्ण प्रशिक्षणले हाम्रो पार्टीका कार्यकर्ताहरुमा वैचारिक स्तर बृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्नेछ ।”

पार्टीपंक्तिभित्र पढाइ र अध्ययनको रुचि घटिरहेको र कार्यकर्ताहरुको वैचारिक स्तर पनि ज्याँदै न्यून हँुदै गइरहेको बेला आयोजना गरिएको प्रशिक्षण कार्यक्रम पार्टीका कार्यकर्ताहरुलाई लालबाट निपूर्ण बन्ने दिशामा कोसेढुङ्गा सावित हुने नेता प्रतीकले विश्वास व्यक्त गरे ।
यस प्रशिक्षण कार्यक्रममा २ नम्बर प्रदेशका ४३ जना कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
५ दिन सम्म सञ्चालन गरिने उक्त प्रशिक्षण कार्यक्रममा माक्र्सवादका तीन संघटक अङ्ग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र विषयहरुमा कार्यकर्ताहरुमा प्रशिक्षण दिइनेछ ।
केन्द्रीय पार्टी स्कुल विभागका सचिव हस्तबहादुर केसीले दर्शन– अन्तर्गत (१) दर्शनको उत्पत्ति र विकास, (२) माक्र्सवादी दर्शन– (क) द्वन्द्वात्मक भौतिकवाद (ख) ऐतिहासिक भौतिकवाद र (ग) साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन, (घ) मालेमावादको ऐतिहासिक कार्यभारबारे प्रशिक्षण दिनेछन् भने केन्द्रीय पार्टी स्कुल विभागका सदस्य सिताराम तामाङले राजनीतिक अर्थशास्त्रका समग्र विषयमा र केन्द्रीय पार्टी स्कुल विभागका अर्का सदस्य इन्द्रमोहन सिग्देल “बसन्त”ले वैज्ञानिक ससमाजवाद अन्तर्गत समग्र विषयमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । पिविएम कमल चौधरीले भने सामाजिक आन्दोलनका विषयमा प्रशिक्षण दिनेछन् ।
पार्टीका पीवीएम तथा २ नं. प्रदेशका इन्चार्ज कृष्णदेव सिंह दनुवारको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रमको सञ्चालन सञ्जय सिंहले गरेका थिए । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।