कथा : मेरो जेल मित्र

प्रकाशित मिति : २०७६ भाद्र १७

- गौरव


भारतको चेन्नाई सेण्ट्रल जेल ! त्यति ठूलो जेलमा खाने पानीको व्यवस्था थिएन । सबै कैदी वन्दी बाहिरबाट भेटघाट गर्ने आफन्तले किनेर ल्याइदिएको पानीमा भर पर्नु पर्दथ्यो । मेरो बाहिरबाट भेट्न मानिस आउने अवस्था नै थिएन, किनभने केही दिनसम्म मेरो अवस्था बाहिरी संसारका लागि अज्ञात नै थियो । जेल प्रशासनले दिने चारपांग्रे स्ट्रेचमा झिँगा भन्काउँदै ल्याएको खाना न त जिभ्रोले स्वीकार गरिरहेको थियो, न त आँखाले नै खाउँ न त भनेर अनुमति नै दिन मानिरहेको थियो । एक रात र एक बिहान भैसकेको थियो, पानी खान नपाएको । धारोबाट दिनको एक घण्टा छाडिने पानी पनि पिउन लायक थिएन । बाध्य भएर त्यही पानी खाएँ, एक गिलास जति । बस्, दिउँसोदेखि पखाला लाग्न थालिहाल्यो । डि हाइड्रेसन भएर मरिने भयो, भन्ने लागेको थियो । मेरो नाजुक अवस्था देखेपछि जेलकै एक जना युवकले आफुसँग भएको औषधी र एक लिटर पानी खान दिए । म अहिले पनि त्यो युवकलाई सम्झि रहन्छु र मनमनै सोच्दछु– ‘उसैले गर्दा यो संसारमा म अहिले छु’ ।
म विदेशी भएर पनि मलाई ‘फरेनर्स वार्ड’मा सारिएन । मलाई त्यो वार्ड छ भन्ने पनि थाहा थिएन । त्यहाँकी मुख्यमन्त्रीले गरेको भ्रष्टाचार काण्डको पर्दाफास गरेको कारण, त्यसैको उपहार स्वरुप जेलमा थुनिएको एक जना पत्रकारले मलाई त्यसप्रकारको वार्डमा जान सल्लाह दिएका थिए । एकदिन जेल गार्डका मानिस आएर मलाई आफ्नो झोला झाम्टा बोकेर तयार हुन इशारा गरे । नभन्दै मलाई तिनीहरुले त्यही ‘फरेनर्स वार्ड’मा छिराएर गेट बन्द गरिदिए । मलाई रिँगटा लाग्यो । त्यहाँ एउटा चौतारो रहेछ, म त्यही चौतारामा पल्टिएँ । आधा दर्जन जति बन्दि आएर मेरो जिउ छामे । एकजना कालो रंगको, लुंगी र गंजी लगाएको मानिस आएर मेरो नाडी छाम्यो । एक छिनपछि उसले जीवन–जल जस्तो केही मिसाएको एक गिलास चिसो पानी ल्याएर खान दियो । त्यसको केही बेर पछि चिया पनि खान दियो । मलाई अहिलेसम्म पनि त्यो चिया मेरो मैले आफ्नो जीवनमा खाएको सबैभन्दा मिठो चिया जस्तो लागिरहेको छ । उसको नाम सुब्रमन्यम् रहेछ ।
सुब्रमन्यम् श्रीलंंकाको जाफ्नाको तामिल । उ पढाइमा निकै जेहन्दार रहेछ । उसको दिदी भिनाजु लामो समयदेखि लण्डनमा बस्दै आएका हुनाले उसलाई पनि त्यहाँको इंजिनियरिङ र कलेजमा पढ्ने अवसर जुटाइदिएछन् । उसले लण्डनबाटै इंजिनियरिङ पास गरेको रहेछ । त्यतिखेर जाफ्नामा ‘तामिल इलम’ आन्दोलनको चक्चकी थियो । त्यो आन्दोलनलाई समर्थन गर्ने तामिलको संख्या बेलायतमा पनि प्रशस्तै थियो । सुब्रमन्यम् पढ्दापढ्दै तामिल इलमतिर आकर्षित भएछ । एल्टिटिईका सिद्धान्तकार डा. आण्टोन बाला सिंगम थिए । एल्टिटिईको श्रीलंका सरकारसँग वार्ता हुँदा टाइगरको प्रतिनिधिमण्डलको नेतृत्व उनले नै गर्ने गरेको हुनाले उनको नाम मैले पनि प्रशस्तै सुनेको थिएँ । लण्डनमा बाला सिंघम्को प्रशिक्षणमा दुई तीन पटक बसेपछि सुब्रमन्यम्ले जाफ्नामै गएर छापामार युद्धमा भाग लिने निर्णय गरेर स्वदेश फर्केछ । हातहतियार र बिस्फोटकको व्यवस्था गर्न उ तामिलनाडु आएछ । केही वर्षसम्म त उसले यो काम निर्वाध रुपमा गरेछ । तर राजीव गान्धी हत्या प्रकरणपछि भएको दमनमा परेको सुब्रमन्यम विगत दशवर्षदेखि त्यहीँ जेलजीवन बिताएर बसेको रहेछ । हामी घनिष्ट हुँदै गएपछि उसले यो नालीबेली मलाई सुनाएको थियो ।
सुब्रमण्यम्ले मलाई एउटै कोठामा बसौं भन्ने प्रस्ताव ल्यायो । मलाई ‘के खोज्छस् कानो आँखा’ भने जस्तो भयो । तर त्यसको निमित्त जेल प्रशासनले स्वीकृति दिनु पर्दथ्यो । कस–कसलाई त्यसको निमित्त भन्सुन् गर्नुपर्छ भन्ने पनि उसैले सिकायो । त्यसै अनुसार म जेलरसँग भेट्न गएँ । जेलर पहिले झस्कियो र मलाई हकारे जस्तो गरी सोध्यो, “यती चाँडै तिमीलाई यो माग गर्न कस्ले सिकायो ? सुब्मन्यम् ले ?” मैले सहजरुपमा भने, “मलाई कसैले सिकाएको होइन । मेरो सुविधाको निम्ति म तपाईंसँग कुराकानी गर्न आएको ? यति कुरा पनि मलाई अरुले नै सिकाउनु पर्ला र ?” उ अलिक नरम भयो । “तिम्रो बारेमा कुनै पनि निर्णय गर्दा सुपरिन्टन्डेन्टले गर्दछन् । हामीले गर्न मिल्दैन ।” उसले उतातिर पठाइदियो । बल्ल तल्ल मैले सुपरिण्टेण्डेण्टलाई भेट्ने मौका पाएँ । उसले तलदेखि माथिसम्म मलाई हे¥यो । मैले आफ्ना कुरा सुनाइसकेपछि उसले मलाई अलिक् परको कुर्सीमा बस्ने इसारा ग¥यो । एकछिन पछि एउटा अफिसरले उसलाई केही फाइल ल्याएर दियो । फाइलको आधा घण्टा जति अध्ययन गरिसकेपछि उसले मलाई नजिक आउने इसारा ग¥यो र भन्दै गयो, “तिम्रो र सुब्रमन्यम्को केसको प्रकृति उस्तै खालको देखिन्छ । त्यसकारण, तिमीहरु दुबैलाई एउटै सेलमा राख्न मिल्दैन । जेल प्रशासनले आवश्यकै ठान्यो भने माथिको आदेश लिएर पछि व्यवस्था गरिने छ । अहिलेलाई तिमी जहाँ छौ, त्यहीँ बस ।” म भारी मन लिएर फर्किएको थिएँ ।
म बस्ने सेलमा अरु दुई जना थिए । हेरोइनको तस्करी गरेको आरोप लागेका एक जना तामिल र अर्को सिंहाली । त्यतिखेर श्रीलंकामा सिंहाली सरकार र तामिल बिद्रोहीका वीचमा भीषण लडाईं चलिरहेको थियो । सिंहालीले तामिललाई र तामिलले सिंहालीलाई समाप्त पारेका खबरहरु आइरहेका थिए । तर ती दुवैजना आपसमा असाध्यै मिलेर बसेका थिए । तिनीहरु न त पत्र पत्रिका पढ्दथे, न त टिभीका समाचार नै हेर्दथे । मौका मिल्यो भने क्रिकेट म्याच हेर्न चाहिँ हुरुक्क हुन्थे । ‘अज्ञानताले मानिसलाई सुखि बनाउँछ’ भनेको पनि यसैलाई होला । म माओवादी पार्टीको भन्ने तिनीहरुलाई राम्रोसँग थाहा थियो । तिनीहरुले अरु राजनीतिक नेताहरुलाई मन नपराए जस्तै मलाई पनि मन पराउँदैनथे । तिनीहरुले सुब्रमण्यम्लाई पनि मन पराउँदैनथे र हामी दुई जनाका बिचमा घनिष्टता भएकोमा पनि तिनीहरुलाई राम्रो लागेको थिएन । जेलर र सुपरिण्टेण्डेण्टले बेला बखतमा हामीसँग लामै कुराकानी गरेको देखेर अनि मलाई भेट्न यूरोपदेखि वकिलहरु आएको थाहा पाएपछि हामीसँग तिनीहरु अलि हच्किन्थे । तिनीहरु आपसमा सिंहाली भाषा बोल्दथे । तिनीहरु र मेरा बिचमा सम्पर्क भाषा नै भएन । त्यसैले सेलमा ताला बन्द हुँदा दिनको १२ घण्टा म सम्वादविहीन हुनु पर्दथ्यो ।
सुब्रमन्यम् ज्यादै अध्ययनशील थियो । उसलाई लण्डनमा भएकी आमाले आर्थिक सहयोग गरिरहन्थिन् । आएको पैसाको एउटा ठूलै हिस्सा पुस्तक पत्रिकामा खर्च गर्दथ्यो । राजनीतिक बहसमा उसलाई निकै रुची थियो । म पनि त्यस्तै । हाम्रा चाहना मिलेका हुनाले हाम्रो मित्रता निकै गाढा भयो ।
सुब्रमन्यम् ज्ञानको भण्डार नै थियो । उ जुनसुकै विषयमा पनि स्तरीय बहसमा उत्रिहाल्दथ्यो । बहस गर्ने उसको शैली आक्रामका थियो । उसँगको बहसले मेरो आफ्नै ज्ञानको भण्डारलाई निकै बढाएको महशुस भएको छ । कहिले काहीँ बहश गर्दा गर्दै हाम्रो उठा–उठ पनि हुन्थ्यो । उसँग सेलमा बस्ने एकजना साथी थियो । हाम्रो चर्को बहस हुन थालेपछि उ हाम्रो बिचमा हातै हालाहाल हुने हुने हो कि भनेर डराउँथ्यो । बहस सकिएपछि हामी फेरि उस्तै, झन् घनिष्ट हुन्थ्यौं ।
सुब्रमन्यम् र मेरो भेटघाट नभएको ११ वर्ष बितिसकेको छ । हाम्रा बिचमा कुनै सम्पर्क र सम्बन्ध हुन सकेको छैन । म बेला बेलामा उसलाई सम्झिरहन्छु । त्यो विदेशी, मेरो साइनु, सम्बन्ध केही नभएको मान्छे । तर म उसलाई सम्झि रहन्छु । कति पटक सपनामा पनि देखिरहन्छु । म नेपालकै धेरै नेताहरुसँग सँगै जेलमा बसेको छु । उनीहरु सरकारका ठूला ठूला पदमा पुगे । तिनीहरुसँग भेटघाट पनि हुन्छ । तर उनीहरुसँग म त्यत्ति किन घनिष्ट हुन सकिनँ, जति म सुब्रमन्यम्सँग भएँ ? श्रीलंका कै पनि धेरै जनासँग म जेलमा बसें । तर उसको जति सम्झना अरुको मलाई किन हुन सकेन ? आखिर सबै कुराको निर्णय विचारले गर्दो रहेछ । उसको बारेमा जानकारी पाउने इच्छा भैरहन्छ । तर मसँग कुनै उपाय छैन ।
हामी जेलमा छँदा नेपाल र श्रीलंकाको स्थिति उस्तै–उस्तै थियो । दुवै देशमा क्रान्तिकारी आन्दोलन अघि बढिरहेका थिए । दुवै देशको क्रान्ति विजयको सन्निकट पुगिसकेका थिए । तर आज स्थिति बदलिएको छ । श्रीलंकाको राष्ट्रिय मुक्ति आन्दोलनले धक्का खाएको छ । सरकारी सेनासँगको भिडन्तमा तामिल टाइगर पराजित भएको छ । नेपालमा माओवादी कुनै भिडन्तमा पराजित भएको होइन । नेतृत्वले आत्मसमर्पण गरेर विश्वासघातको शिकार भएर धक्का खाएको छ । तामिल टाइगरको पराजय सम्मानजनक रुपमा भएको छ । नेतृत्वबाट भएको आत्मसमर्पणले माओवादी आन्दोलनलाई विश्वस्तरमै बद्नाम गराएको छ । यसको ओज र गरिमा घटाएको छ । यस बिचमा सुब्रमन्यम र मेरो भेट हुन पाएको भए हामी कति महत्वपूर्ण बहस र छलफल चलाउने थियौं होला !
०७५ ।०१ ।२३