जुन पार्टी साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद तथा दलाल– नोकरशाही पुँजीपति वर्गसँग सांठगांठ गरेर सत्तामा पुग्ने अनि त्यसैमा टिकिरहन अनेकन प्रपञ्च गर्छ, त्यो प्रतिक्रियावादमा नै बदलिन्छ । यो कुरा वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी डबल नेकपा उदाङ्गो रूपमा चरितार्थ भएको छ । यसले मालेमावादको क्रान्तिकारी सिद्धान्त, मालेमावादको विकासको पछिल्लो कडी माओवाद वा क.माओका योगदानलाई सम्पूर्ण रूपले छोडिसकेकोले अब त्यो पार्टी माक्र्सवादी–लेनिनवादी भपनि रहेन । पार्टीको नाम नेकपा (नेकपा) राख्नु, आफुलाई माक्र्सवादी–लेनिनवादी भन्नु केवल जनतालाई भ्रमित गर्ने कुचेष्टा मात्र हो र यो उसको दक्षिणपंथी अवसरवाद र नवसंशोधनवादको चारित्रिक विशेषता पनि हो । यसले मालेमावादको सिर्जनशील प्रयोगको नाममा क्रान्तिकारी सिद्धान्तको भ्रष्टीकरण गर्ने, संसारमा असफल सिद्ध भएको पुरानो संसदीय व्यवस्थाको महिमा मण्डीत गरी आत्मसातीकरण गर्ने, मालेमावादको वैज्ञानिक सिद्धान्त मूल्य–मान्यता र त्यसका आधारभूत विषयलाई परित्याग गर्दै साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र दलाल तथा नोकरशाही पँुजीपति वर्गलाई साथ दिंदै उत्पीडित वर्ग र समुदायलाई केवल फोस्रा कुरा र झुट्टा आश्वासन बाँड्ने बाहेक अरु केही गरेको पाइएन ।

जनता सार्वभौम हुन्, राष्ट्र सार्वभौम हो र त्यसलाई संरक्षण र समृद्ध गर्न मालेमावादको वैज्ञानिक सिद्धान्तलाई आत्मसात गरी उत्पीडित वर्ग, उत्पीडित समुदाय तथा तमाम क्रान्तिकारी जनसमुदायलाई एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको पक्षमा संघर्ष गरिरहेका पार्टी र जनसमुदायलाई दमनको नीति अंगिकार गरी वैदेशिक हस्तक्षेपकारी प्रतिक्रियावादी शक्तिहरूलाई नेपालमा खुला रूपले चलखेल गर्ने अवसर यो सरकारले पैदा गरेको छ । विकल्प नदिई सुकुम्बासीको उठिबास गर्नु– यसप्रकारको काममा सत्ता संरक्षित गुण्डाहरू र भूमाफियाहरूलाई प्रयोग गर्नु, गरिब तथा निमुखा जनताको रोजीरोटी र हकअधिकारको कुनै व्यवस्था नगर्नु, भ्रष्टाचारी, कमिशनखोरी, तस्करी, गुण्डागर्दी र जनता ठग्ने हरेकखाले बिचौलियाको संरक्षण गर्नु नै यो सरकारको दिनचर्याजस्तै बनेको छ । सामन्त, दलाल र नोकरशाही पुँजीको बोलवाला रहेको शैक्षिक र स्वास्थ्य क्षेत्रमा माफियाकरण सरकारी संरक्षणमा मौलाउँदै गएको छ । यस प्रकारका संस्थाहरू सामान्य जनताको पहुँचभन्दा धेरै–धेरै टाढा हुँदै गएका छन् । जनताको बाँच्ने र शिक्षा, स्वास्थ्यको नैसर्गिक अधिकार खोसिंदै गएको छ । सरकार यसमा कुनै उल्लेख्य कदम चाल्न तयार छैन ।

हार्दिक शुभकामना !

यसरी कम्युनिस्टको नाममा कलंकको रूपमा देखापरेको अवसरवादले मालेमावादी वैज्ञानिक सिद्धान्त र क्रान्तिकारी कम्युनिस्टको बदनाम गर्ने साम्राज्यवादीहरूको असली पहरेदारको काम गरिरहेको छ । यस प्रकारका तत्वहरू घरमा आगो लगाइ मुसा त मा¥यौ भन्दै खरानी वितरण गर्न व्यस्त देखिन्छन् । विगतको स्थानीय तथा संघीय निर्वाचनको तयारी र त्यसैक्रममा सत्तासीन पार्टीका नेताहरूले आफ्ना मालिकहरूलाई विश्वस्त पार्न आपूmहरू संघीय लोकतान्त्रिक गणतन्त्रको असली पक्षपाती रहेको र यो (प्रतिक्रियावादी) संविधान लागू गर्न तथा संघीय लोकतान्त्रिक संसदीय व्यवस्था दरिलो बनाउन आफ्नो आवश्यकता रहेको भनी असलियत खोल्न बाध्य भएका छन् । अर्काेतर्फ जनतामा भ्रम छर्न सबै कम्युनिस्टहरू नमिली नेपालमा शान्ति, स्थायित्व र समृद्धि सम्भव छैन, एक्लै लेकमा पुग्न सक्दैनौं भनी ‘कम्युनिस्ट’ एकताका नाममा संसदवादी कम्युनिस्ट एकताबद्ध हुन विभिन्न प्रकारले अनुनय, विनय र प्रलोभन बाँड्दै हिंडेका छन् । पुराना दलाल पार्टीहरू नाङ्गिइसकेकाले त्यसबाट आफ्नो अभिष्ट पूरा नहुनेदेखि साम्राज्यवाद र विस्तारवादले नयाँ दलालको तयारीमा लागेको थियो ।

सर्वहारा वर्गीय संघर्ष छोडिसकेको प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अस्तित्व संकटमा पर्दै गएको र अर्काेतिर एमाले–माके एकताबिना बहुमत नआउने एमालेको आँकलनले दुवै पक्षलाई नजिक्याउँदै लग्यो । संघीय निर्वाचनमा चुनावी तालमेलसहित एकतालाई अघि बढाउने प्रक्रियातर्फ लागे । स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टी फेरबदल, किनबेच साम, दामसहित पैसाको खोलो बगाइयो । साम्राज्यवादी विस्तारवादीहरूले पनि नयाँ दलालहरूलाई सत्तामा ल्याउन आवश्यक देखेर यो चुनावी खेल योजनाबद्ध ढंगले सम्पन्न गरियो । संसदवादी कम्युनिस्टहरूले बहुमत ल्याए र त्यसको सरकार बन्यो । साम्राज्यवादीहरूले आफ्ना नयाँ दलालहरूलाई प्रयोग गर्न विभिन्न किसिमका भेटघाट गर्दै, कहीं प्रशंसा गर्दै थप आत्मसमर्पण गराउने नीतिअनुरूप संसद छलेर गोप्य सम्झौता र समझदारी गर्दै–गराउँदै गए । यसको ज्वलन्त उदाहरण परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सरकार प्रमुखको विदेश भ्रमणका दृष्टान्त त्यसका कतिपय दृश्य र अदृश्य समझदारी र सम्झौतालाई निरन्तरता दिइरहेका छन् । अमेरिकी इण्डोप्यासिफिक रणनीतिमा भारत साझेदारी रहेकोमा नेपालको पनि संलग्नता रहेको अमेरिकी पक्षको भनाइमा सरकार त्यसबारे केही जानकारी दिएको छैन । यही रणनीतिअन्तर्गत ‘मिलिनियम च्यालेञ्ज कर्पाेरेशन’ नाममा पचास करोड डलर नेपाललाई दिने निर्णयको सरकारको स्वीकारोक्तिले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर खतरा उत्पन्न गरेको छ । अर्काेतर्फ एक चीन नीति अवलम्बन गर्दै बीआरआईप्रति सहमत हुँदै आएको नेपालका लागि यसप्रकारको अवस्था अत्यन्त अशोभनीय विषय हो । यस्तै हो भने नेपालको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकता साथै परराष्ट्र नीति र कूटनीतिमासमेत ठूलो धक्का लाग्ने देखिन्छ । अर्थतन्त्रको क्षेत्रमा यो सरकारले स्वाधीन तथा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण र विकासमा होइन, दलाल तथा नोकरशाही पुँजीवादलाई नै निरन्तरता दिंदै आएको छ । किनकि यसले देशमा रहेका कच्चा पदार्थ, प्राकृतिक स्रोत साधन तथा जलविद्युतको समुचित प्रयोग, कृषि क्षेत्रको विकास र त्यसकै जगमा राष्ट्रिय उद्योगहरूको निर्माणमा सरकारको कहीं कतै ध्यान दिएको पाइन्न । यो सरकारद्वारा २०७६÷०७७ का लागि पेश गरेको बजेटमा यी कुरा प्राथमिकतामा परेकै छैनन् । बजेट यथास्थितिवादी, पपुलिष्ट र वितरणमुखी छ । बजेटको चरित्र नवउदारवाद र बजार अर्थतन्त्रको मान्यतामा आधारित छ, जसले साम्राज्यवादको सेवामा परिचालित गर्दछ । त्यसैले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको नारा हावादारी र जनतामा छारो हाल्ने झुटको खेती बनेको छ । दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्ततवर्गको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादीहरू शान्ति, समृद्धि र समाजवादको नारा फजुल जनता ढाँट्ने ठगी खाने विषयबाहेक केही होइन ।

यसकारण उनीहरूले भनेको समाजवाद पनि दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र बुर्जुवा नवधनाढ्य सामन्तहरूकै समाजवाद हो– जुन सर्वहारावर्गको हितमा हुनै सक्दैन । जस्तो कि लेनिन भन्नुहुन्छ– ‘जुन पार्टी सबभन्दा समुन्नत सिद्धान्तद्वारा निर्देशित रहेको हुन्छ, त्यसले मात्र अगुवा जोधाहाको भूमिकालाई पूरा गर्न सक्दछ’ (लेनिन भाग ४ पृ. ३८० बाट) । हो ठीक हो क्रान्तिकारीको सबैभन्दा समुन्नत मालेमावादी सिद्धान्त परित्याग गरेकाबाट मजदुर, किसान र सबै उत्पीडित वर्ग र समुदायका लागि अगुवा जोधाहाको भूमिका सम्भव छैन– जसले यथार्थमा साम्राज्यवाद र त्यससँग सम्बद्ध शक्तिहरूको सेवा गर्दछन्– जनतालाई हमेसा ढाँट्ने÷ठग्ने कुचेष्टा गरिरहन्छन् । ‘कम्युनिस्ट’ भन्ने सरकारबाट यसप्रकारको राष्ट्रघात, जनघात र षडयन्त्र हुनुले जनता आक्रान्त बनेका छन्– नक्कली कम्युनिस्टहरू कतिसम्म खतरनाक हुँदा रहेछन् स्पष्ट हुँदै गएको छ । त्यसका विरुद्ध सैद्धान्तिक तथा राजनीतिक भण्डाफोर तीव्र पार्ने, राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न निकै संवेदनशील र पेचिलो बन्दै आएकाले स्वतन्त्र र मुद्दा मिल्न सक्नेसँग कार्यगत एकता गरी अगाडि बढ्न नेकपा (क्रान्तिकारी माओवादी) तयार छ । यसका साथै राष्ट्र र जनताका जल्दाबल्दा समग्र समस्याको उठान गरी जनसंघर्ष र वर्गसंघर्षका विविध रूपहरू प्रयोग गर्न आवश्यक भैसकेको छ । यतिबेला कम्युनिस्ट खोल ओढेका दक्षिणपन्थी अवसरवाद र नवसंशोधनवादका प्रतिनिधिहरू व्यवहारतः सरकारमा बसेर सामाजिक फासीवादतर्फ उन्मुख भएकोले उनीहरू नाङ्गिदै गएका छन्– उनीहरूको प्रतिक्रियावादी चरित्र सर्वत्र उदाङ्गो भएको छ । जनता विकल्पको खोजीमा छन्– अबको विकल्प संघीय जनगणतन्त्र नै हो– त्यसको नेतृत्व गर्न नेकपा (क्रान्तिकारी माओवादी) डटेर लाग्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर