‘आरक्षण बचाऔं’ आन्दोलनमाथि प्रहरी हस्तक्षेप, तीनजना आन्दोलनकारी घाइते

प्रकाशित मिति : २०७६ असार ३०

काठमाडौं । ‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै अधि बढेको शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा शोभा विश्वकर्मा, टेक बहादुर वि.क, मात्रिका राई घाइते भएका छन् । संघीयता र समानुपातिक समावेशी पक्षधरको मसाल जुलुस रोक्ने क्रममा प्रहरीले चन्देश्वर दास नाम गरेका एक जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडी समेत कब्जा गरेको छ । आन्दोलनकारीहरुले ‘असमावेशी विज्ञापन खारेज गर, लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ लगायत नारासहित शान्तिवाटिकामा आयोजित जुलुस समापन सभा भएको थियो ।


जुलुस समापन सभामा जनजाति महासंघका अध्यक्ष जगत बरामले प्रहरीले नियन्त्रणमा लिएका चन्देश्वर दासलाई तत्काल रिहाई गर्न माग गरे ’रिहाई नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्नेछ’ उनले भने साथै आरक्षणकै कोटामा प्रहरी भएर आरक्षण पक्षधर आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीको आलोचना गरे । उनले आन्दोलनमाथि दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने चेतावनी दिए । आरक्षणको आन्दोलनमा दलित समुदायको तर्फबाट बोल्दै बुद्धी नेपालीले आफूहरुको आन्दोलन संघीयता र समानुपातिक समावेशी पक्षधरको आन्दोलन भएको बताए । दुई तिहाईको कम्युनिष्ट सरकारलाई आयोगको विज्ञापन सच्याउन आग्रह गरे । ‘जबरजस्ती अघि बढ्न खोज्यौ भने परिस्थिति भयानक हुन्छ,’ उनले चेतावनी दिए । मधेसीको तर्फबाट विकास ठाकुरले आइतबारको मसाल जुलुस आन्दोलनको कास्टिङ मात्रै भएको बताए । उनले आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित समुदायलाई वर्तमान सरकारले मुल धारमा आउनबाट रोक्ने प्रयास गरेको बताएका थिए ।