दशगजा क्षेत्रमा भारतले बनाएको पक्की सडक र बाँधका कारण मधेश डुबानमा परेको भन्दै क्रान्तिकारी माओवादीले जारी ग¥यो यस्तो वक्तव्य

प्रकाशित मिति : २०७६ असार ३०


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले अविरल बर्षाका कारण जनताले ठूलो विपद्को सामना गरिरहनु परेको भन्दै वक्तव्य जारी गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा दशगजा क्षेत्रमा भारतले बनाएको पक्की सडक र बाँधका कारण मधेस डुबानमा परेको भन्दै भारतीय विस्तारवादको कडा विरोध गरिएको छ र सरकारलाई त्यस प्रकारका सडक तथा बाँधहरुबाट भइरहेको अवरोध हटाउन र त्यसबारे आवश्यक तथा उपयुक्त कदम चाल्न सरकारसित जोडदार माग गरिएको छ ।

वक्तव्यमा विपद्मा परी ज्यान गुमाउन पुगेका मानिसहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निःशुल्क उपचार तथा शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ र विपद्मा परेका जनताको राहत तथा उद्दारको प्रभावकारी पहल बढाउन सरकारसित विशेष आग्रह गरिएको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ :  
“प्रेस वक्तव्य

केही दिनयता आएको अविरल वर्षाको कारण देशका विभिन्न भूभागहरुमा बाढी, पहिरो र डुबानका समस्या गम्भीर बन्दै गएका छन् । र, ठूलो धनजनको क्षति भइरहेको छ । ६० जनाभन्दा बढीको संख्यामा मानिसहरुको निधन र ४० भन्दा बढीको संख्यामा बेपत्ता भएको समाचार आइरहेका छन् । भारत सरकारद्वारा एकतर्पी रुपमा सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको उलंघन गरी दशगजा क्षेत्रमा बनाइएका बाँध र सडकहरुको अवरोधको कारण सुनसरी, सप्तरी, सर्लाही, रौतहट, कपिलवस्तु, बाँके, पर्सा, बारा लगायतका जिल्लाहरुको विशाल भूभाग जलमग्न बन्न गएको छ । भारत सरकारले सप्तकोशीको बहावको धारलाई पश्चिमतिर धकेल्दा सप्तरीको हनुमान नगरक्षेत्रमा झण्डै ४ सय परिवार विस्थापित हुन पुगेका छन् । त्यस्तै भारत सरकारले गण्डक नहरको रेड रेगुलेसनको ढोका बन्द गर्दा पर्सा र बाराका नहर क्षेत्रका ठाउँ भत्कँदै गएका छन् । देशका धेरैजसो ठाउँमा बाटा, घाटा, सडक बन्द भएका छन् । यसरी जनताले ठूलो विपद्को सामना गरिरहनु परिरहेको छ ।
त्यस स्थितिमा हाम्रो पार्टी जनताले भोग्नु परेको विपद्प्रति गहिरो दुःख, चिन्ता तथा सहानुभूति प्रकट गर्दछ । र, सम्बन्धित सबै ठाउँमा पार्टी कमिटिहरुलाई जनताको सेवा तथा सहयोग गर्न आव्हान गर्दछ । भारतीय विस्तारवादी सरकारद्वारा अन्तर्राष्ट्रिय मापदण्ड मिची सडक तथा बाँधहरु बनाइएको र डुबान समस्या हल गर्न दुवै देशका प्राविधिक टोलीले ६ महिनाअघि तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न समेत अटेर गरेकोमा भारत सरकारको कडा विरोध गर्दछ र त्यस प्रकारका सडक तथा बाँधहरुबाट भइरहेको अवरोध हटाउन र त्यसबारे आवश्यक तथा उपयुक्त कदम चाल्न सरकारसित जोडदार माग गर्दछ । साथै, पार्टी विपद्मा परी ज्यान गुमाउन पुगेका मानिसहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरुको निःशुल्क उपचार तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ र विपद्मा परेका जनताको राहत तथा उद्दारको प्रभावकारी पहल बढाउन सरकारसित विशेष आग्रह गर्दछ ।”