बाढी–पहिरो–डुबान पीडितलाई उचित क्षतिपूर्ति दिन देजमोको जोडदार माग

प्रकाशित मिति : २०७६ असार २९


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक वक्तव्य जारी गरी बाढी–पहिरो–डुबानमा परी ज्यान गुमाउन पुगेका जनसमुदायहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै पीडितहरुलाई क्षतिपूर्ति दिन सरकारसित जोडदार माग गरेको छ । साथै, मोर्चाले विपतको घटनामा जनतालाई आवश्यक सहयोग पु¥याउनका निम्ति संगठनका सबै तहका नेता कार्यकर्ताहरुलाई अनुरोध समेत गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले २९ असारमा एक वक्तव्य जारी गरी यस्तो अनुरोध गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “केही दिनयता भइरहेको अविरल वर्षाले राजधानी काठमाडौंलगायत देशका विभिन्न भागहरुमा गएको बाढी–पहिरो आदिले जनधनको ठूलो क्षति भएको छ । यसमा हामी गहिरो दुःख प्रकट गर्दछौं । साथै, दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइते हुनुभएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित क्षतिपूर्ति दिनको निम्ति सरकारसँग जोडदार माग गर्दछौं । त्यसका साथै विपतको घटनामा जनतालाई आवश्यक सहयोग पु¥याउनको निम्ति संगठनका सबै तहका साथीहरुलाई पनि अनुरोध गर्दछौं ।”