महान् नेपाल राष्ट्रको अङ्गको रुपमा रहेका र यससँग रगत र मासु झैँ अभिन्न रुपले गाँसिएको नेपाली क्रान्तिकारी कम्युनिष्टहरुको निम्ति नेपालका विशेषताहरुबाट अलग्गिएर मारर्क्सवादको कुरा गर्नु खाली हवाई मार्क्सवाद, खोक्रो मार्क्सवाद हो । सिङ्गो नेपालमा विदेशी रुढीवादलाई उन्मुलन गर्नैपर्छ, खोक्रो निस्सार राग अलाप्न छाड्नु पर्छ र कट्टरतावादलाई निमिट्यान्न पार्नु पर्छ, तिनको सट्टामा सर्वसाधारण नेपाली जनताले मनपराउने नौलो, ज्यूँदो नेपाली शैली र भावना अपनाउनु पर्छ ।

हार्दिक शुभकामना !

तर विडम्वना नै भन्नुपर्छ नेपालमा संसदीय दलहरुको मिलेमतोमा, सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा दलीय व्यवस्थाभित्र निर्दलीय सरकार गठन गरी, दोस्रो संविधानसभा नाउँ गरेको संविधानसभा निर्माण गरी, उक्त संविधान सभाबाट जन्माएको त्यो अवैध (बतासे) शिशुलाई ‘नेपालको संविधान’ नामाकरण गरी बढि सजधजताका साथ समावेशी समानुपातिक तथा धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो लोकाचारी गहना पहिराई, मुलुकमा विद्यमान, नक्कली (अन्ध) राष्ट्रवादको भुलभुलैयामा चम्केको कम्युनिष्ट नकावधारी डबल नेकपाका अध्यक्ष केपी ओलीको नेतृत्व वर्तमान सरकारले त्यो आफैले सिर्जना गरेको अवोध शिशु हुर्किन नै नपाउँदै, धर्म निरपेक्षताको मर्म र भावनाविपरीत, नेपालका वर्तमान प्रधानपन्त्री केपी ओलीले त्यो विवादित क्रिश्चियन संस्थालाई अत्यन्तै महत्वका साथ तामझाम अपनाई, नेपालमा क्रिश्चियन धर्म प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्न गराउन सुगम स्थिति सिर्जना गर्न गराउन प्रधानमन्त्री केपी ओली स्वयम् आफू, तीन दिन तीन रात होटल सोल्टीमा मुकाम जमाई बिना हिचकिचाहट उक्त अबोध शिशुको गला रेट्न पुगेका थिए भने अर्कोतिर संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनमानसको नजरमा घृणा पैदा गर्न आफूले भ्याएसम्मको प्रक्रिया अपनाउन कुनै कसर बाँकी नराख्ने अठोटका साथ लागि पर्दै आइरहेका छन् ।

वास्तवमा भन्नु नै पर्दा, वर्तमान सरकारको नियत नै खोटपूर्ण छ भन्दा फरक नपर्ला । किनभने दुनियाँमा पद, प्रतिष्ठा र पैसाको लागि मरिमेट्ने यस्ता लोभी–पापीहरुको निम्ति आफूलाई जन्मदिने आमा–बुबाको मात्र होइन, तर आफैले जन्माई हुर्कायका सन्तानहरु समेतको पर्वाह नगर्ने र आफ्नै स्वअस्तित्वलाई समेत तिरस्कार गर्न पछि नपर्ने, यस्ता दुराचारीहरुका लागि राष्ट्र र राष्ट्रियताको मूल्य र मान्यताको अर्थ नै के रहन्छ र ।

तब त यस्ता दूराचारीहरु सत्ताबाहिर हुँदा मात्र होइन, अपितु सत्तासिन हुन पुगेपछि त झन् सत्ताको दुरुपयोग गर्दै, देश र जनताको हितविपरीत तिनका आफ्ना विदेशी मालिकहरु साम्राज्यवादी विस्तारवादीको विशेषतः यहाँको सन्दर्भमा भन्नुपर्दा भारतीय विस्तारवादको हित र उनीहकै स्वार्थअनुरुप गतिछाडा तालले बिना हिचकिचाहत राष्ट्र र राष्ट्रिय स्वाधीनतालाई खलबल्याई, सदा उनीहरुको आशिर्वाद पाई सदा सत्तासिन भइरहने मनसायका साथ जस्तोसुकै क्रियाकलाप अपनाउन पछि पर्दैनन् र परेका पनि छैनन् ।

हालै यी सत्तासिनहरुले, नेपाली सामाजिक रितिरिवाज तोडेर सामाजिक सद्भाव भड्काई जातिय साम्प्रदायिक दङ्गा मचाउन, पूरै षड्यन्त्रात्मक ढङ्गले गुठी संस्थानलाई प्राधिकरणमा परिणत गरी, भूमाफियासँगको साँठगाँठमा गुठी संस्थानको मातहतमा रहिआएको हर गुठीको जग्गा किनबेच गर्न मिल्ने गरी, सम्पूर्ण गुठीको जग्गाहरु रैकरमा परिणत गरी, नेपाली कला सांस्कृति ध्वष्ट पार्ने, र त्यसैगरी नेपाली भूमिभित्र कुनै मन्दिर निर्माण गर्नु परेमा वा पुनर्निर्माण गर्नु परेमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने प्रावधान समावेश गरेका छन्, तर यसै नेपाली भूमिभित्र जहाँकहिं जस्तो किसिमले चर्चहरु जतिसुकै निर्माण गर्न प्राधिकरणबाट स्वीकृत लिइरहनु पर्ने जस्तो कुनै प्रावधान समावेश छैन, खुल्ला छुट दिएको स्थिति छ, जसले गर्दा नेपालमा धार्मिक द्वन्द्व (साम्प्रदायिक दङ्गा) भित्र्याउने कुचेष्टा अघि सारेर ती नेपाली अनुहारका सत्तासिनहरुका आफ्ना महाप्रभू भारतीय विस्तारवादको स्वार्थ पूरा गर्न लालायित भई निरलज्जताका साथ पूरै नाङ्गो रुपले अग्रसर हुन आइपुगेका छन् ।

अब त यिनीहरुको हरकतले सिमा नाघिसकेको छ । देशमा यस्तो नाजुक स्थिति आइपरिसक्दा पनि अज्झै मुलुकमा केही नभएको जस्तो गरी हाइसञ्चो मानी, नेपालका स्वाभिमानी नेपालीहरु चुपचाप आफ्नो दुबै हातहरुमा दही जमाई बस्नु किमार्थ शोभनीय हुन सक्दैन र स्वाभिमानी नेपालीहरुको यो चिनारी होइन र हुन पनि सक्दैन ।

यसै सन्दर्भमा भन्नुपर्दा नेपाली क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्रको एकता प्रतिरोध युद्धमा विजय प्राप्त गर्न र नौलो नेपाल निर्माण गर्न सिङ्ग्रै राष्ट्रलाई एकतावद्ध गर्ने कुराको आधारभूत पूर्वशर्त हो । ७० वर्षको अग्निपरीक्षामा खारिंदै नेपाली क्रान्तिकारी कम्युनिष्ट पार्टीले भित्री एकता हासिल गर्ने थुप्रै तरिकाहरु सिकेको छ र हाल हाम्रो पार्टी पहिलेको दाँजोमा निकै बढी पारङ्गत भएको छ । यस प्रकार हामी प्रतिरोध युद्धमा विजय प्राप्त गर्न र नौलो नेपालको निर्माण गर्ने संघर्षमा सम्पूर्ण जनताको निम्ति एउटा शक्तिशाली केन्द्रविन्दु निर्माण गर्न करिब सक्षम भएका छौँ । कामरेडहरु एकता भयौं भने हामीले निश्चय नै यो लक्ष प्राप्त गर्न सक्ने छौँ ।

नेपालमा हुन गइरहेको महान् संघर्षमा नेपाली क्रान्तिकारी कम्युनिष्ट पार्टीले के माग गर्दछ भने यसका सबै नेतृत्वदायी अङ्गहरु, यसका सबै सदस्यहरु र काडरहरुले पूर्ण रुपले, आफ्नो पहलकदमी प्रकट गरुन् । यसो गर्नाले मात्र विजय सुनिश्चित हुन सक्छ । यो पहलकदमी अङ्गहरु काडरहरु र पार्टीका सारा सदस्यहरुको सिर्जनात्मक ढङ्गले काम गर्ने क्षमतामा, जिम्मेवारी बहन गर्ने उनीहरुको तत्परतामा उनीहरुले आफ्नो कामप्रति ठूलो उत्साह प्रदर्शन गर्ने उनीहरुको साहस र निपूर्णतामा र नेतृत्वदायी काडरहरुको मैत्रीपूर्ण निरीक्षण गर्ने काममा ठोस रुपले प्रदर्शित हुनुपर्दछ । नत्रभने “पहलकदमी” एउटा निस्सार कुरा हुनेछ ।

यस्तो पहलकदमी देखाउने कुरा पार्टी जीवनमा जनवादको प्रसादणमाथि भर पर्छ । पार्टी जीवनमा र चाहिँदो मात्रामा जनवाद नभएमा पहलकदमीको विकास हुन सक्दैन । जनवादको वातावरण मा मात्र थुप्र्रै सक्षम मानिसहरुलाई अघिसार्न सकिन्छ । हाम्रो देश एउटा यस्तो देश हो जहाँ त्यो पनि छिटफुट नाउँ मात्रको लघुस्तरको उत्पादन र पितृसत्तात्मक व्यवस्थाको रजाइँ चलेको छ, र सिङ्गो देशको कुरा गर्ने हो भने देशमा बिलकुलै जनवादी जीवन छैन, परिणामस्वरुप, यो कुरा पार्टी जीवनमा अपर्याप्त जनवादको रुपमा प्रतिविम्वित भएको छ । यस स्थितिले आफ्नो पहलकदमी पूर्ण रुपमा विकसित गर्नमा सिङ्गै पार्टीको निम्ति बाधा उत्पन्न गर्छ ।

यिनै कारणहरुले गर्दा, पार्टी सदस्यहरुले जनवादी जीवनको अर्थ बुझ्न सकून, जनवाद र केन्द्रीयता बीचको सम्बन्धको अर्थ बुझ्न सकून् र जनवादी केन्द्रीयता प्रयोग गर्ने तरिका बुझ्न सकून भन्ने ध्येयले पार्टीभित्र जनवादसम्बन्धी शिक्षा दिनुपर्छ । यसरी मात्रै हामी पार्टीभित्र जनवादी जीवन साँच्चि नै विस्तार गर्न सक्छौँ र त्यसको साथसाथै अनुशासनलाई नष्ट गर्ने अतिजनवाद र स्वेच्छाचारिताबाट जोगिन सक्छौँ र यसरी नै हामी नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाका साथ नौलो नेपाल निर्माण गर्न सक्षम हुनेछौँ ।

हाम्रो काँधमा रहिआएको कार्यभार देश र जनतालाई मुक्ति र स्वतन्त्रता सँगसँगै नयाँ नेपाल निर्माण गर्ने अत्यन्तै गहनतम जिम्मेवारिलाई केटाकेटी पाराले त्यतिकै हलका फुलका सोच र कार्यविधिले पूर्णता प्राप्त गर्न सकिन्न । त्यसको निम्ति मुलुकमा मौजुदा रहिआएको दलाल पुँजीवादी अर्धसामन्ती तथा अर्धऔपनिवेशिक नवऔपनिवेशिक व्यवस्थामा ऐस गरी, विदेशी साम्राज्यवादी विस्तारवादीको नीतिनिर्देशनमा तल्लिन रहिआएका यी भाडाका टट्टुहरुलाई निमिट्यान्न पारी पठाउनुको साथै प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्नु जरुरी छ । यसको निम्ति सर्व प्रथम मुलुकमा वैचारिक रुपमा एक रहेका अर्थात माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रर्दशक मान्ने तर नीतिगत तथा व्यक्तिगत महत्वाकांक्षी जस्ता झिनामसिना कुराहरुबाट मुक्तभई माथि उठेर राष्ट्रिय समस्याप्रति गम्भीरभई समयको मागअनुसार दृढ मनस्थितिसाथ क्रान्तिमा होमिन, पार्टीगत एकता नै एकमात्र आजको अनिवार्य शर्त हो भन्ने कुरो बुझ्नु जरुरी छ ।

सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको सही पहिचान भनेको त्यो सामन्तवादी नीति समाजमा ‘एकताबाट अनेकतामा विभाजित गर्ने’ अनुरुप उही टुटफुटको मानसिकताभित्र गुटमुटेर बस्नु कदापि होइन । सच्चा क्रान्तिकारी कम्युनिष्टको सही पहिचान हो अनेकतामा छरिएर रहेको समाजलाई एकतावद्ध पारेर, समय र परिस्थितिलाई आफूअनुकूल बनाई क्रान्तिकारी पथमा हरहमेशा अनुगमन छलाङ मार्दै गर्नु ।

आज हाम्रो आँखासामु नेपालमा ती गद्दार साम्राज्यवाद विस्तारवादका पाल्तु कुकुरहरुले सिङ्गो देशलाई, उनीहरुकै स्वार्थ अनुरुप उम्किन नै नसकिने गरी भयावह स्थिति सिर्जना गर्दै गइरहेको वर्तमान स्थितिमा पनि हामी आआफ्नै इगोमा लुभ्दभई टुटफूटकै मानसिकतामा गुटमुटेर, मात्र क्रान्तिको माला जपेर बस्नु उचित हो र ? होइन भने आऊ, सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको राष्ट्र र राष्ट्रियताप्रतिको क्रान्तिकारी दायित्व पूरा गर्न बिनाहिचकिचाहट पार्टीगत एकतामा जुटौं र अन्य, देशव्यापी अचेतन स्थितिमा अंसगठित रुपले छरिएर रहेका आमजनतालाई सचेत बनाई संगठित पारी, भारतीय विस्तारवादविरुद्ध प्रतिरोध युद्धका साथ प्रतिक्रियावादी राज्यसत्ता ध्वष्ट पारी नयाँ जनवादी राज्यसत्ता कायम गरी नौलो नेपाल निर्माण गर्न सशस्त्र जनविद्रोह (नयाँ जनवादी क्रान्ति) मा जुटौं ।
२०७६/३/१
ताहाचल, काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित खवर