
कार्यदिशा विविध हुन सक्छन् । देश, काल र परिस्थितिअनुसार क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टीले आफ्नै विशिस्ष्टतामा विभिन्न काल खण्डमा विभिन्न कार्यदिशा अबलम्बन गर्न सक्छन् । रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति रुसी बोल्सेविक पार्टीले त्यहाँको विशिष्टतामा अल्पकालीन सशस्त्र जनविद्रोहको कार्यदिशा अबलम्बन गरेको थियो । चिनियाँ क्रान्ति सम्पन्न गर्नका लागि चीनको क्रान्तिकारी पार्टीले त्यहाँको विशिष्टतामा दीर्घकालीन सशस्त्र जनयुद्धको कार्यदिशा अबलम्बन गरेको थियो ।
अल्पकालीन सशस्त्र जनविद्रोहमा पर्याप्त शक्ति सञ्चय गरेर पहिले केन्द्रिय सत्तामाथि धावा बोलिन्छ वा त्यसलाई कब्जा गरिन्छ । तत्पश्चात् स्थानीय सत्ता कब्जा हुन्छन् । दीर्घकालिन सशस्त्र जनयुद्धमा ग्रामीण क्षेत्रमा छापामार युद्धद्वारा आधार इलाका निर्माण गर्दै पहिले गाउँ कब्जा गरेर गाउँले सहर घेरेर अन्त्यमा प्रतिक्रियावादीको केन्द्रिय सत्ता कब्जा गरिन्छ । दीर्घकालिन जनयुद्धमा गाउँका शोषक, सामन्त, जाली फटाह र तिनका मतियारहरुका गर्धन सुरू सुरुमा जनकारवाहीका निशाना बन्दछन । सशस्त्र जनविद्रोहमा सहरका काला पुँजीपति, दलाल, तस्कर ,भ्रष्ट र तिनका एजेन्टका साथै सीआईडीका ठुल्ठुला भुँडीहरु सुरूसुरुमा जनकारवाहीका निशानामा पर्दछन् ।
नेपाल अर्धसामती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्था बीच गुज्रिरहेको कुरा जगजाहेर नै छ । देशलाई यो अवस्था बाट मुक्त गर्नका निम्ति नयाँ जनवादी क्रान्ति आजको आवस्यकता हो । नयाँ जनवादी क्रान्ति एक प्रकारको पुँजीवादी क्रान्ति नै हो । चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न हुनुअगावै संसारका हरेक पुँजीवादी क्रान्तिको नेतृत्व पुँजीपति वर्गले गर्दथ्यो र त्यो क्रान्तिको लाभ पनि पुँजीपति वर्गले नै लिने गर्दथ्यो । तर चिनियाँ नयाँ ढंगको पुँजीवादी क्रान्तिको नेतृत्व सर्वहारा वर्गले गर्यो र त्यसको लाभ पनि सर्वहारावर्गले नै लियो । चल्दै आएको पुरानो र परम्परागत प्रकारको पुँजीवादी क्रान्तिमा क्रमभंग भयो । अतः त्यस प्रकारको नया ढंगको पुँजीवादी क्रान्तिको नाम नयाँ जनवादी (पुँजीवादी) क्रान्ति नामाकरण गरियो !
‘नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह’ नै नेपालको नयाँ जनवादी क्रान्तिको निम्ति आजको सही कार्यदिशा हो । यसमा दुईमत छैन । नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहमा गाउँ र सहरका कामलाई उचित र न्यायिक ढंगले समायोजन गरिन्छ ! त्यसमा सहरलाई अग्र भाग र गाउँलाई आधार भाग मानिन्छ । आधार भागलाई अत्यन्तै महत्वपूर्ण मान्दामान्दै पनि अग्रभागलाई विशेष महत्व दिइन्छ । सबै हिसावले पुरानो सत्ताको मुख्य शक्ति र अन्तिम सास सहरमा नै केन्द्रित रहेको र त्यहीनेर जबर्जस्त धावा बोलेर सर्वहारा वर्गले आफ्नो राज्यसत्ता स्थापना गर्नुपर्ने भएको कारण त्यो स्वभाविक,जायज र आवश्यक पनि हो । तसर्थ, सशस्त्र जनविद्रोहको कार्यदिशा भनेको मेरो शब्दमा सहरमुखी (शहर केन्द्रित) कार्यदिशा नै हो ।
सहरमुखी कार्यदिशामा सहर विशेष ढंगले परिचालित र तरंगित हुनैपर्दछ । पेरिस सहर नतातेको भए पेरिस कम्युन स्थापनाको सम्भव थिएन । मस्को सहर नजागेको भए अक्टोबर सशस्त्र बिद्रोह सम्भव थिएन । पेरिस विद्रोह (पेरिस कम्युन) को पक्षमा पेरिस सहर उभिए झैँ, अक्टोबर क्रान्तिको पक्षमा मस्को सहर उभिए झैँ नेपालको सशस्त्र जनविद्रोहको पक्षमा काठमाडौं सहर ठिङ्ग उभिनु पर्दछ । सहरका हरेक नेता, कार्यकर्ता जनविद्रोहका प्रत्येक रातमा जागाराम बस्नुपर्दछ ।
क्रान्तिको आवशयकतामा उच्च प्रकारको त्याग र बलिदानको निम्ति सहरका सबै नेता, कार्यकर्ता तम्तयार हुनै पर्दछ । लावालस्कर लाग्नैपर्दछ । क्रान्तिकारीको निम्ति त्याग र बलिदान एउटा अवसर हो । क्रान्तिको आवस्यकतामा क्रान्तिकारीमध्ये थोरैले मात्र त्यस प्रकारका अवसर प्राप्त गर्दछन । उच्च प्रकारका साहस, सौर्य, क्षमता, क्रियाशीलता र इमान्दारिताको आधारमा क्रान्तिकारीलाई त्यो खालको अवसर प्राप्त हुन्छन् ।
हिजो तत्कालिन विशिष्टतामा दीर्घकालिन जनयुद्धको कार्यदिशामा गाउँ अग्रभाग र सहर आधारभाग थियो । त्यो अवस्थामा रोल्पा, रुकुम, गोर्खा, सिन्धुली जाजरकोट, सल्यान लगायतका जिल्ला जनयुद्धका अग्रभागमा थिए र सोहीनुसार त्यहाँका नेता, कार्यकर्ता क्रियाशील थिए । त्याग, बलिदानका साथै क्रियाशीलता र क्षमताको आधारमा विविध अवसरहरु पनि त्यहीका नेता, कार्यकर्ता, जनताले बढता पाए ।
वासु, सुनिल, परिवर्तन, जित, बहुबीर जस्ता नेता कार्यकर्ताको एउटा ठूलो टिमले उच्च सहादत प्राप्त गर्ने अवसर गाउँमै पायो । हाल विभिन्न उतारचढाव, भड्काव, बिचलन र बिसर्जनको सिकार भएता पनि विप्लव, प्रकाण्ड, पासाङ, प्रभाकर, अनन्त, बलदेव जस्ता थुप्रै नेता गाउँमै उत्पादन भए ।
आजको विशिष्टतामा सशस्त्र जनविद्रोह गर्दा अवश्य पनि सहर अग्रभाग र गाउँ आधारभागमा हुन जानु स्वभाविक हो । यो अवस्थामा काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, बिराटनगर, वीरगंज लगायतका सहरहरु क्रान्तिका केन्द्र बन्नेछन् । त्यसमध्ये पनि प्रतिक्रियावादी पुरानो सत्ताको सबै शक्ति केन्द्रित भएको हुँदा निर्णायक लडाइँ लड्नुपर्ने ठाउँ हुनुको कारण काठमाडौँ सहर क्रान्तिको विशेष केन्द्र बन्नेकुरा सुनिस्चित छ । यो अवस्थामा त्याग, बलिदानका साथै पार्टी र क्रान्तिका विविध अवसरहरु सहरको नेता, कार्यकर्ता र जनतालाई बढी प्राप्त हुनेछन् ।
अवस्य त्यसमध्ये पनि काठमाडौँलाई अझ बढी प्राप्त हुनेछन् । क्रान्तिको आवश्यकतामा सहरका नेता, कार्यकर्तालाई बासु, सुनिल, परिवर्तन जीत, बहुवीर बन्ने मात्र होइन, तत्कालिन विप्लव, प्रकाण्ड, पासाङ, प्रभाकर, अनन्त, बलदेव बन्ने अवसर पनि प्राप्त हुनेछन । त्यो अवसरलाई सही ढंगले सदुपयोग गर्न सहरका नेता, कार्यकर्ता चतुर हुनै पर्दछ ।
अर्कोतिर, हिजो गाउँ अग्रभागमा हुँदा पार्टीले गाउँको भूमिकाको उच्च महत्वबोध गर्दै त्यही ढंगले गाउँको मूल्यांकन गर्दथ्यो । गाउँका नेता, कार्यकर्तालाई सोहीअनुरूप उत्प्रेरित गर्दथ्यो । ठीक त्यसरी नै आज सहर अग्रभागमा हुँदा सहरको भूमिकालाई पार्टीले नजर अन्दाज गर्दैन, गर्नु हुँदैन । सहरका क्रियाशील र क्षमतावान नेता, कार्यकर्ताको उचित मूल्यांकन तथा उनीहरुलाई थप उत्प्रेरित गर्ने, विचारमा विकसित गर्ने र उर्जाशील बनाउने कार्यमा पार्टी चुक्दैन, चुक्नु हुँदैन ।
यसमा सहर ढुक्क छ । माथि उल्लेख गरिएका नामहरु स्वतः स्थापित भएका होइनन्, त्यसको पछाडी पार्टीको महत्वपूर्ण भूमिका छ । त्यसरी नै आजको आन्दोलनमा, क्रान्तिमा नयाँ नाम जो क्षमता, क्रियाशीलता र कार्यकुशलताको तराजुमा लाल र दक्ष प्रमाणित छन्, लाई स्थापित गराउनका निम्ति पार्टी प्रतिबद्ध छ र हुनुपर्दछ ।
हिजो पेरिसका जनताको जायज विद्रोहको पक्षमा पेरिस उभियो, रुसी जनताको जायज विद्रोहको पक्षमा मस्को उभियो, त्यो महान् कार्यको मूल्यांकन उच्च ढंगले भयो । त्यस्तै आज नेपाली जनताले गर्ने जायज जनविद्रोहको पक्षमा काठमाडौँ लगायत अन्य सहरहरु उभिँदा ती सहरहरुको मूल्यांकन उच्च हुने कुरामा काठमाडौँ ढुक्क छ ।
यसको मतलव हिजो दीर्घकालिन जनयुद्धको कार्यदिशामा सहरको भूमिका नै थिएन र त्यतिबेला त्यही ढंगको मूल्यांकन भएको थियो भन्ने होइन । त्यस्तै आज जनविद्रोहको कार्यदिशामा गाउँको कुनै भूमिका नै छैन र त्यसको त्यही ढगले मूल्यांकन गरिनुपर्दछ भन्ने पनि होइन । कुनै पनि चिजको जग (आधार) अत्यन्तै महत्वपूर्ण हुन्छ । भर्भराउँदो जगबिना हरेक चिजको विकास असम्भव हुन्छ ।
हिजो दीर्घकालीन जनयुद्धको कार्यदिशामा सहर आधारभाग हुँदा सहरमा पनि ठुल्ठुला त्याग, बलिदान, वीरता, साहस र सौर्यहरु प्रदर्शन भएका थिए । त्यसले दीर्घकालिन जनयुद्धको कार्यदिशामा अत्यन्तै ठूलो महत्व राखेको थियो र पार्टीले त्यही ढंगको मूल्यांकन गरेको थियो । आज सशस्त्र जनविद्रोहको कार्यदिशामा गाउँ आधार भाग हो । गाउँमा जनविद्रोहको जग (आधार) बलियो बनेन भने सहरमा जनविद्रोहको धमाका फितलो हुन्छ । तसर्थ, पार्टीले सशस्त्र जनविद्रोहको निम्ति सहरलाई विशेष महत्व दिंदै गाउँलाई विशेष प्राथमिकतामा राख्नुपर्ने हुन्छ, त्यही ढंगको मूल्यांकन गरिनुपर्दछ ।
सारतः हिजो गाउँमुखी कार्यदिशामा क्रियाशीलता, त्याग, बलिदान लगायत अन्य विविध कोटाहरु गाउँलाई बढी पर्दथ्यो र क्रान्तिका निम्ति गाउँले नै त्यो कोटा चुक्ता गर्दथ्यो र सोहीनुसार गाउँको मूल्यांकन हुन्थ्यो । त्यसैगरी आजको सहरमुखी कार्यदिशामा क्रियाशीलता, त्याग, बलिदानलगायत अन्य विविधकोटाहरु सहरको भागमा नै बढी पर्नु र उक्तकोटा चुक्ता गर्न शहर तत्पर हुनु अत्यन्तै स्वभाविक हो । ठीक त्यसरी नै सहरको भूमिकाको महत्ववोध गर्नु र मूल्यांकन हुनु आजको खास आवश्यकता हो ।































