प्रधानमन्त्रीलाई तामझाम, जनतालाई छैन माम !

प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रकाशित मिति : २०७६ जेष्ठ २४

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको फेरि तामझामका साथ सुरु गरिएको छ । केन्द्र देखि प्रदेश र स्थानीय तहहरुमासमेत यो तामझामको तमासे कार्यक्रम लगिने भएको छ । प्रधानममन्त्री केपी ओलीले शुक्रबार भक्तपुर पुगेर ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को प्रचारप्रसार गरेका छन् । यो कार्यक्रमअन्तर्गत भक्तपुरमा रहेका ४ नगरपालिकाका ७ सय युवालाई ३० दिने रोजगारी दिएको घोषणा गर्दै प्रम ओलीले अब कोही पनि विदेशिन बाध्य हुनु नपर्ने सन्देश पनि प्रवाह गर्न भुलेका छैनन् ।

घरघरमा सिंहदरवार पुगेको वर्तमान अवस्थामा प्रम ओलीले बेरोजगार युवा खोज्दै प्रधानमन्त्री पनि घरघरमा पुगेको भन्नसम्म बाँकी राखेनन् । रोजगारीको कार्यक्रमको उद्घाटन भएपछि अब वैदेशिक रोजगारीमा जाने दिनको अन्त्य भएको ओलीको भनाइ रहेको छ ।

श्रम मन्त्रालयले प्रदेश र स्थानीय तहसँग प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न समन्वय गरेपछि यसको कार्यान्वयनका लागि सूचीकरण संकलन सुरु गरिएको बताइएको छ । बजेटमा व्यवस्था गएि बमोजिम चालु आर्थिक वर्षमा एक लाख ६ हजार नागरिकलाई ३० दिन बराबरको रोजगारी दिन दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानको रूपमा पठाएको श्रम मन्त्रालयले बताएको छ ।

३० दिनका लागि जागिर दिन नेताहरु आफ्ना निर्वाचन क्षेत्रका युवालाई रोजगारीका आश्वासन बाँड्न व्यस्त रहेका छन् ।

सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको आधारमा चालु आवमा ३ अर्ब रुपैयाँ छुट्याइएको यो कार्यक्रमका आगामी आर्थिक वर्षका लागि भने दुई अर्ब थपेर ५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । यससँगै सरकारले यदि रोजगार कार्यक्रम लागू गरी रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने प्रचार गर्न पनि पछि परेको छैन ।

रोजगार कार्यक्रमको प्राथमिकतामा विपन्न र सहिदका परिवार, कमजोर आर्थिक अवस्था तथा विपन्नहरुलाई प्रथामिकता प्रदान गर्ने प्रावधान राखिएको छ ।