
बुटवल २४ जेष्ठ । क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश ५ को प्रथम सम्मेलन शुक्रबारदेखि बुटवलमा सुरु भएको भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले युवा शक्तिलाई विदेश पलायनबाट रोक्नुपर्नेमा जोड दिएका छन् । उनले क्रान्ति र परिवर्तनका लागि युवा शक्तिको अहम भूमिका रहेको बताए । असमान सन्धि–सम्झौता खारेज गरेर नेपाली युवाको स्वाभिमान र राष्ट्रिय स्वाधिनता जोगाउनु पर्ने धारणा राख्दै नेता सुवेदीले मुलुकमा भ्रष्टाचारी र तस्करलाई युवाहरुले जनकारवाही गर्नुपर्ने खाँचो रहेको औल्याए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय उपाध्यक्ष केबी गुरुङले सरकारले युवालाई विदेश पठाएर मेनपावरको काम गरिरहेको टिप्पणी गरे । पहिले मेनपावरले युवालाई विदेश पठाउंने काम गर्दथे, अहिले सरकार आफैले युवालाई विदेश पठाएर मेनपावरको काम गरिरहेको उनले बताए । युवालाई विदेश पठाएर मुलुक समृद्धि र समुन्नत नहुने उनको तर्क थियो ।
क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश ५ का संयोजक दिलबहादुर कठायतको अध्यक्षता, सदस्य प्रगति रानाको संचालन, सदस्य चन्द्रप्रसाद पोख्रेलको स्वागतमा भएको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपाने, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का महासचिव धनेश्वर पोख्रे्रल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष टेकबहादुर मास्कीराना, अखिल नेपाल महिला संघ(क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष तेजकुमारी थापा लगायतले मन्तव्य राखेका थिए । सम्मेलन पूर्व लिगले रातो मार्चपाससहित र्याली निकालेको र उक्त र्यालीले बुटवल बजार परिक्रममा गरी नयाँ बसपार्कस्थित तिनाउ पार्टी प्यालेसमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । सम्मेलनमा प्रदेश ५ का १२ वटा जिल्लाबाट १ सय २५ जना प्रतिनीधि–पर्यवेक्षकको रहभागिता रहेको संयोजक कठायतले बताए । सम्मेलन नयाँ नेतृत्व चयन गरी शनिबार सम्पन्न हुनेछ । बाँके, बर्दिया, गुल्मी, कपिलवस्तु, प्युठानलगायतका जिल्लाहरुका युवाको भेला सम्पन्न भइसकेको थियो ।





























