नयाँ राजनीतिक समीकरण बन्न सक्ने सिटौलाको त्रास

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सिटौलाको त्रास

काठमाडौँ । ‘ज्ञानेन्द्र–विप्लवलाई थान्कामा राख्नुपर्छ’ भन्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको अभिव्यक्ति हेर्दा दुईतिहाई ओली सरकारका विरुद्ध जनमत बन्दै गरेको देखिन आएको छ । यो पनि सिटौलाकै मुखारविन्दबाट आउन थालेपछि अब सत्तापक्ष र प्रतिपक्ष, जसले गणतन्त्र जगेर्नाको ठेक्का नै लिएको कुरा गरिरहेका छन्, का विरुद्ध नयाँ राजनीतिक समीकरणको संकेत देखा परिरहेको छ ।

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको र त्यसको कार्यान्वयन भएको पनि १२ वर्ष पूरा भइसकेको छ । तथापि यो बीचमा जनताका इच्छा र आकांक्षा संबोधन गर्ने गरी कामहरु भने हुन सकिरहेका छैनन् । यसले जनतामा ठूलो असन्तुष्टि पैदा गरेको छ र जनमत दुईतिहाई भनिएको सरकार र लोकतन्त्रको पाठ सिकाउने प्रतिपक्षका विरुद्धमा ध्रुवीकृत हुँदै गइरहेको छ ।

भारतमा लोकसभाको निर्वाचन र मोदीको पुनर्उदयपछि भएको अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले पनि नेपाली सत्ता समीकरणमा केही फेरबदल हुनसक्ने वातावरण बनिरहेको छ । आन्तरिक रुपमा ओली सरकार विफल र निकम्मा साबित हुँदै गइरहनु, अर्कोतिर त्यसको विकल्पमा क्रमशः जनमत बन्दै जानु र अन्तर्राष्ट्रिय शक्तिहरुका बीचमा नयाँ शक्ति सन्तुलनको अवस्था पनि देखा पर्नु आफैमा संयोग पनि बन्न गएको छ ।

यसै सदर्भमा सिटौलाको ‘ज्ञानेन्द्र–विप्लव लाई थान्को लगाउने’ अभिव्यक्तिभित्र कतै दिल्लीको एजेण्डा त आएको छैन भन्ने आशंका पनि व्यक्त भएको छ । भारतका निकट मानिने सिटौलाको यो अभिव्यक्ति नेपालीहरुका बीचमा मत र मन सर्वेक्षणका रुपमा फ्याँकिएको एजेण्डा पो हो कि भन्ने धेरैमा आशंका पैदा हुन गएको छ ।

उनका अनुसार ओली सरकारले काम गर्न नसकेर सिर्जना भएको निराशामा जनमत खनिने सम्भावना रहेको छ । उनको भनाइमा ‘गणतन्त्र नरुचाउने, परिवर्तन नरुचाउने र अहिलेको संवैधानिक व्यवस्था नरुचाउने’ शक्तिहरुले गठजोड गरेमा ओली सरकार भत्कने संकेत पनि देखिएको छ । विप्लव नेकपाप्रति इंगित गर्दै सिटौलाले ‘उग्रवामपन्थी धार’को खतरालाई जोखिमपूर्ण हुने आँकलन पनि गरेका छन् ।

उनले नयाँ समिकरणका लागि नयाँ धारहरु कसरी बनिरहेका छन् भन्ने कुराको पृष्ठभूमिमाथि पनि प्रकाश पारेका छन्् । उनका अनुसार ‘दक्षिणपन्थी धारको पूर्वराजा ज्ञनेन्द्रले नेतृत्व’ गरेको, र जनताको विश्वास उच्च हुन नसक्दा नेकपा विप्लवले नेतृत्व गरेको ‘उग्र बामपन्थी धार’ विकसित भएका छन् । सिटौलाले एकातिर ओली सरकारले क्रशः गरिरहेको फासीवादीकरणको अभ्यासका विरुद्ध प्रतिध्रुवीय धार निर्माण भइरहेको कुरा स्वीकार गरेका छन् ।