जुर्मुराउँदै अखिल (क्रान्तिकारी) : जारी छ अनिश्चितकालीन अनसन, कैलालीमा विरोध प्रदर्शन

जुर्मुराउँदै अखिल (क्रान्तिकारी) : जारी छ अनिश्चितकालीन अनसन, कैलालीमा विरोध प्रदर्शन

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको अखिल (क्रान्तिकारी) केही दिनदेखि निरन्तर सडक आन्दोलनमा छ । शिक्षा क्षेत्रमा विद्यमान निजीकरण, व्यापारीकरण, माफियाकरण तथा शैक्षिक संस्थाहरुमा मौलाउँदो भ्रष्टाचार, अनियमिता तथा अपारदर्शिताका विरुद्ध उसले आवाज उठाउँदै आएको छ । कहिले संयुक्त त कहिले एकल रुपमा पछिल्ला केही हप्तादेखि अखिल (क्रान्तिकारी)ले सडक तताइरहेको छ । र, जनयुद्धकालीन गौरवशाली विरासतलाई पुनर्जीवित गराउँदै जुर्मुराउँदै उठ्ने जमर्को गर्दैछ अखिल (क्रान्तिकारी) ।

सत्ता र शक्तिको वरिपरि गोलचक्कर मारिरहेका र मन्त्री सांसदहरुका ढोका चहारिरहेका विद्यार्थी नेता कार्यकर्ताहरुको अवसरवादी चरित्रले शिथिल र मृत प्रायः अवस्थामा पुगेको विद्यार्थी आन्दोलनलाई श्वास हाल्ने काम क्रान्तिकारी विद्यार्थीहरुले गरिरहेका छन् । तमाम प्रतिकूलता र अप्ठेराहरुलाई चिर्दै अखिल (क्रान्तिकारी)ले जारी राखेको यो आन्दोलनलाई आमूल परिवर्तनका पक्षधर आम विद्यार्थीहरुले आशाको नजरले हेरिरहेका छन् ।

अखिल (क्रान्तिकारी)ले सोमबारदेखि भ्रष्ट त्रिवि सेवा आयोगको खारेजीको माग राख्दै अनिश्चितकालीन रिलेअनसन जारी राखेको छ । यो रिले अनसनलाई क्रान्तिकारी माओवादी सम्बद्ध देजमो, नेपाल लगायत सबै जसब मोर्चाले ऐक्यबद्धता जाहेर गरिसकेको छ भने अन्य सत्ताबाहिरका विद्यार्थी संगठनहरुले पनि ऐक्यबद्धता जाहेर गरेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी नेताहरुले बताएका छन् ।

कैलालीमा गरियो विरोध प्रदर्शन

कैलालीको अत्तरीयामा अखिल क्रान्तिकारीले पछिल्लो समयमा राज्य निकायकै उच्च पदस्थ व्यक्ति र सत्तारूढ दलका नेताहरूको मनपरीतन्त्रका कारण शैक्षिक विकृति, विसंगति तथा अराजकता मौलाउदै गएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेको छ ।
संगठनको केन्द्रीय समितिले जारी राखेको अनिश्चितकालीन रिलेअनशनको समर्थनमा सुदुरपश्चिम प्रदेशको आयोजनामा अत्तरियामा आज बिरोध प्रदर्शन गरेको हो ।

अत्तरीयामा विरोध प्रदर्शनपछि भएको कोणसभालाई अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा प्रदेश संयोजक रामबहादुर महराले सम्बोधन गरेका थिए । कोणसभाको सञ्चालन केशव बहादुर साउदले गरेका थिए ।