त्रिवि सेवा आयोगमा भएको अनियमिताका विरुद्ध अखिल क्रान्तिकारीको चरणबद्ध आन्दोलन, सोमबारबाट अनिश्चितकालीन रिले अनसन सुरु

प्रकाशित मिति : २०७६ जेष्ठ ६


काठमार्डौ । ‘त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर, अवैधानिक रुपमा प्रकाशन गरिएको नतिजा खारेज गर’ जस्ता तीन बुँदे माग राखेर चरणबद्ध संघर्षमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबारदेखि अनिश्चितकालीन रिले अनसन सुरु गरेको छ । आफ्ना माग पूरा नभएसम्म अनसन जारी राखिने क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मूलबाटोलाई बताए ।


अखिल (क्रान्तिकारी)ले गत सोमबार त्रिवि सेवा आयोगमा तालाबन्दी गरेर सुुरु गरेको संघर्षको हप्ता दिनमा पुत्लादन, भित्तामा कालो पोत्ने, कफन मार्चपास गर्ने, कोणसभा, घेराउ हुँदै रिलेअनसनसम्मका कार्यक्रम गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि शिक्षा आयोगमा क्रान्तकारी विद्यार्थीहरुले सोमबारबाट अनिश्चितकालिन रिले अनसन सुरु गरेपछि त्रिवि सेवा आयोगका पदाधिकारी तनावमा देखिएका छन् । रिले अनशन अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेको नेतृत्वमा सुरु भएको छ । अनशनमा विद्यार्थी नेताहरु सूर्य कार्की, महेश श्रेष्ठ, संर्घष दाहाल, जितेन्द्र लम्साल, कुमार वतौला, नेत्र शाही, साकार आचार्य, शोभा सेन्चुरी र सुलभ वैद्य बसेका छन् ।


त्रिवि सेवा आयोगले ४० प्रतिशत पूर्व एमाले, ४० प्रतिशत कांग्रेस र २० प्रतिशत पूर्व माओवादी केन्द्र समर्थित कर्मचारीहरुलाई भागवण्डाको आधारमा अपारदर्शी रुपमा नियुक्त गर्ने गरी नामावली प्रकाशित गरेपछि क्रान्तिकारी विद्यार्थीहरु आन्दोलित बनेका छन् । आयोगले प्राध्यापक र सहप्राध्यापकलगायतको समेत ‘अपग्रेड’ गर्द दलीय भागवण्डा गर्ने गरेको विद्यार्थीहरुको आरोप छ ।