मिन जियाङ्नु र ग्रेटवाल : एक आश्चर्यको समिश्रण

प्रकाशित मिति : २०७६ जेष्ठ ६

आफैमा आश्चर्यको रुपमा रहेको रहेको चीनको ग्रेटवालमा नेपाली रञ्जना लिपी भेटिनु नेपालीहरुका लागि अर्को आश्चर्य बनेको छ । यो लिपी नेवारी भाषाको सबैभन्दा पुरानो लिपी र यस अर्थमा नेपालको पुरानो लिपी हो । ग्रेटवाल जस्तो प्राचीन मानव निर्मित पर्खालमा यो लिपी भेटिनुले नेपालीका मनमा आश्चर्य मात्र होइन, खोज तथा अनुसन्धानको कौतुहलतालाई नजिक्याएको छ ।

नेपालबाट आफ्नो अपनत्व र पहिचान बोकेको रञ्जना लिपी लोप हुन लाग्यो भनेर यसको खोजी र जिज्ञासुहरुका लागि पढाइसिकाइको प्रक्रिया पनि सुरु गरिएको छ । तर धेरैलाई अंग्रेजीले मोहपासमा पारिसकेको छ । नेपाली खस भाषा पनि अब त क्रमशः किनारा लाग्दै जाने प्रक्रिया सुरु हुन थालेको छ । विश्व बजारमा नेपालको पहुँच नभए पनि विश्व बजारको उपभोक्ता भएकाले नेपालीहरुमा नेपाली भाषाको मोह कम हुन गएको हो । धेरै कुरामा त विश्व बजारले पनि निर्णय लिने र निर्णायक हुने गरेको छ ।

तर पनि मानिस अपनत्व, वैशिष्टय र पहिचानको खोजी गर्दै हिंड्दो रहेछ । यसै कुराले उसलाई अन्य समुदायका बीचमा उसको पहिचान र स्वत्वको स्वीकृति प्रदान गर्दो रहेछ । प्राचीन सममा निर्मित चीनको ग्रेटवालमा पाइएको नेपाली रञ्जना लिपीले नेपालीहरुलाई विश्वमा चिनाउने काम गरेको छ । तर यसको प्रचाररप्रसार र थप खोजी जरुरी छ । यसै प्रसंगलाई कोट्याउँदा नेपाली चेली भृकुटीको विवाह तिब्बतका स्रोङ चङ गम्पोसँग गरिदिएको ऐतिहासिक यथार्थता हामी नेपालीहरुका माझ रहेको छ ।

चीनमा फैलिएको पगोडा शैली र पगोडा शैलीमा निर्माण भएका त्यहाँको भौतिक संरचनाहरु हाल चीनका लागि पर्यटकीय आकर्षणका स्रोतहरु बन्न पुगेका छन् । यो शैली भृकुटीसँगै तिब्बतमा पठाइएका नेपाली कलाकार अरनिकोको देन हो । हाल पनि चिनियाँहरु यो पगोडा शैलीलाई नेपाली शैली भनेर बुझ्ने गर्दछन् । तर नेपालमा भने उक्त शैलीको न त संरक्षण गरिएको छ न त केही बिस्तार नै । बरु पश्चिमा भौतिक पूर्वाधार निर्माणका मोडलहरुले क्रमशः सिंगो देशलाई च्याप्दै लगेका छन् ।

कलासंस्कृतिसँग अभिन्न रुपमा जोडिएको भाषा तथा भाषाको लिपीको संरक्षण पनि छैन । यी पुराना निर्माण शैलीहरु लोप हुने क्रमसँगै नेपालबाट लोप भएको रञ्जना लिपी प्राचीन मानव निर्मित ग्रेटवालमा पाइनु निकै खुशी र आश्चर्यको विषय पनि हो । हाल चीनसँगको नेपालको चलिआएको शान्ति र मैत्री सम्बन्धमाथि केही प्रश्नहरु उठिरहँदा यो लिपी पाइनु र पहिचान गरिनुले नेपाल चीन सम्बन्ध थप प्रगाढ बनाउने देखिन्छ ।

चीनको ग्रेटवाल आफैमा विश्वका आश्चर्यमध्ये एक हो । मानव निर्मित आश्चर्यहरुमा यो निकै चर्चित र व्यापक रहेको छ । मानिसहरुले ग्रेटवाल भन्ने बित्तिकै चीनको त्यो भीमकाय पर्खाललाई संझन पुग्छन् । पृथ्वीमा देखिने अरु केही मानव निर्मित कुरा छ भने त्यो चीनको ग्रेटवाल नै हो । यसलाई विश्वको सम्पदामा सूचिकृत गरिएको छ । यो मानिसले बनाएको संसारको सबैभन्दा लामो पर्खाल पनि हो । यसको लम्बाई २११९६.१८ किलोमिटर रहेको छ ।

यो पर्खाल बनाउँदा सैयौं वर्ष लागेको र यो ६ वटा विभिन्न वंशका राजाहरुले राज्य गर्दा निरन्तर रुपमा थप्दै र बनाउँदै लगेका थिए । यो २,३०० वर्ष पुरानो रहेको छ । बेलाबेलामा विभिन्न ठाउँहरुमा बनाइएका पर्खालहरुलाई ‘क्विन वंश’ को राजाहरुका पालामा जोडेर एउटै लामो भीमकाय पर्खालको स्वरुप दिइएको थियो । क्विन वंशको समयलाई चिनियाँ इतिहासमा सबैभन्दा महत्वपूर्ण समयका रुपमा लिइन्छ ।

नेपाली रञ्जना लिपी समेत अंकित यो ऐतिहासिक पर्खालका बारेमा विभिन्न खालका किम्बदन्तीहरु पनि रहेका छन् । यो पर्खाल कसरी निर्माण भएको थियो त भन्नेवारे सबैभन्दा आश्चर्यलाग्दो कुरा भनेको एक भयानक ठूलो ड्रयागनले त्यो विसाल पर्खालको जग खन्दै गएपछि त्यसैमा मानिसहरुले पर्खाल उठाएका थिए रे भन्ने रहेको छ । कथामा त यति सम्म पनि भनिएको पाइन्छ कि त्यो ड्रयागनलाई ती मानिसहरुलाई सहयोग गर्न स्वर्गबाट पठाइएको थियो । त्यो ड्रयागन निकै सहयोगी र मानव मैत्री थियो ।

यो भन्दा पनि अझ महत्वपूर्ण र आश्चर्यलाग्दो कुरा त चन्द्रमामा पुगेका मानिसहरुले लेन्स जोडेर दुर्विनले निकै मजाका साथ ग्रेटवाल हेरिरहन्छन् रे । उनीहरुले त्यतिबेला को चिनियाँ, को युरोपीय र को अमेरिकन वा अफ्रिकन भन्ने कुरा बिर्सिएर मानव जातिले देखाएको एकमात्र खगोलीय पौरखका रुपमा लिन्छन् रे । सिधा नभएर तलमाथि उठेका र बाङ्गाटिङ्गा पहाडका आकार अनुसार यो ग्रेटवाल बनेको छ । त्यसैले पनि यो आफैमा रहस्यमय र आश्चर्यलाग्दो बनेको छ ।

माओ त्सेतुङले चलाएको महान सर्वहारा सांस्कृतिक क्रान्ति (१९६६–१९७६) का बेला महान् सांस्कृतिक योद्धाहरु यिनै लामा पर्खालका मुनी बसेर यसलाई सेल्टर र बंकरका रुपमा प्रयोगमा ल्याएका थिए । निकै लामो लम्बे अभियान चलाएर चीनलाई मुक्त पारेका माओका लागि ग्रेटवालको सेल्टर रोजाई कम बुद्धिमत्तापूर्ण काम थिएन । यसमा योद्धाहरुका कारखान तथा घाइते र अशक्तहरु बस्ने घरहरु पनि बनाइएको थियो ।

यो चीनको सबैभन्दा ठूलो पर्यटकीय स्रोत हो । संसारका सबैभन्दा धेरै मानिसहरु यही ग्रेटवाल घुम्न र जान लोभिने गर्दछन् । चीनको राजधानी वेइजिङको रुट र बडलिङको अर्को रुट यो ग्रेटवालमा पुग्नका लागि सबैभन्दा प्रयोगमा आएका छन् । एक वर्षमा करीब ६,३०,००,००० पर्यटकहरुले यो भीमकाय मानव निर्मित पर्खालको अध्ययन तथा अबलोेकन गर्ने गर्दछन् । हालसम्मको सरदर आँकडाअनुसार एक दिनमा ७०,००० पर्यटकहरुले यसको अवलोकन भ्रमण गर्ने गरेका छन् ।

तर आधुनिक कालमा आएर चीनले यो ग्रेटवालमा केही पनि थप पर्खाल लगाएको छैन । अब त विश्व सम्पदामा दर्ज भइसकेपछि त्यसमा थपघट गर्न वा कटाउन पनि मिल्दैन । अन्त्यमा, यो आश्चर्यजनक भीमकाय पर्खालसँग निकै आश्चर्यका रुपमा जोडिएको एउटा कथा पनि राखौं । त्यो हो ‘मेन जियाङ्नुको असीम रोदन’ । मिन जियाङ्नु उनको श्रीमान पर्खाल बनाउँदा त्यही मरेपछि उनी यति धेरै रोइछन् कि उनको आँशुले पर्खालको केही भाग बगाएर उनको श्रीमानको अस्थीपञ्जरसँगै उनलाई पनि त्यही ठाउँमा पुरेर स्वर्गधाम पठाएछ ।