ओलीको अरण्य रोदन

प्रकाशित मिति : २०७६ जेष्ठ ५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उनकै पार्टी कार्यालय बल्खुमा निकै पीडा पोखे । आफूहरु देश बनाउने अभियानमा लागेको भए पनि उक्त अभियानमा निकै बाधाव्यवधान खडा गर्न केही पार्टीहरु लागिपरेको बताए । उनले त यति सम्म पनि भने कि यस्ता अवरोधहरु सिर्जना गर्ने सबै प्रतिक्रियावादी शक्ति हुन् । यसका साथै समृद्ध नेपाल बनाउने अभियानविरुद्धमा केही गणतन्त्रविरोधी शक्ति पनि उनको आरोप छ ।

तर उनले देश बनाउने अभियानमन आम जनता र अरु पार्टीहरुले किन साथ दिएनन्, सो कुरा भने खुलाएनन् । अमूर्त रुपमा देशको हित, राष्ट्रियता र लोकतन्त्रको शब्दावलीसम्म उच्चारण गरे । र, सरकार त्यसका लागि लागिपरेको बताए । केपी ओलीले आकाश झारिदिने गरी फलाको हालेका चिनियाँ र भारतीय रेलहरुका सपना अब विपना भइसके । जनताले देखिसके ।

प्रम ओली आफैले उद्घाटन गरेको पानी जहाजको टिकट घरमा उनी फर्किए लगत्तै ठूलो भोटे ताल्चा मारी तालाबन्दीमा छ । पोहर विद्यार्थीको अभिभावकत्व लिने गरी फैलाइएको स्याल हौवा यस साल चूपचाप छ । देश दौडाह र फाइँफुट्टीमा पनि निकै कमी आएको छ ।
‘जति कमाउन सक्छौं, सबै तिम्रै देशमा लिएर जाऊ’ भनी कार्यक्रम आयोजना गरी हात जोड्दा पनि कोही पनि लगानी गर्न तयार छैनन् ।

विदेशमा युवाहरु बेच्न सरकारी तहमा श्रम सम्झौता गर्दा पनि मलेसिया लगायतका देशहरुले उक्त सम्भौता नेपालकै कारण लागू नभएको दोहर्याइरहेका छन् । तर ओली सरकार यसबारेमा चूपचाप छ ।

सामाजिक न्याय र समानताको कुरा गरेर नथाक्ने ओली सरकार इण्डो प्यासिफिक अमेरिकी रणनीति अनुसार नेपालका देशभक्त तथा प्रगतिशील शक्तिहरुको मुखमा ताला लगाउन पत्रकारलाई देखाएको जस्तो गरी विधेयक पारित गर्न थालेको छ । पत्रकार महासंघमा पनि सरकारी शक्ति नै हाबी भएपछि पत्रकारकै बोली बन्द गराउने प्रेस काउन्सिल विधेयक संसदबाट पारित गर्दैछ ।