काठमाडौँ । सरकारले हालै ल्याएको मिडिया काउन्सील विधेयकका विरुद्ध संघर्षरत पाँच पत्रकार संगठनहरुले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ, नेकपा (विप्लव) निकट जनपत्रकार संगठन, नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघ, समाजवादी पार्टी निकट नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार समाजको संयुक्त आयोजनामा भएको अन्तक्र्रियाममा वक्ताहरुले मिडिया काउन्सील विधेयकको चर्को विरोध गरे ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतको अध्यक्षता र प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माको सञ्चालनमा सम्पन्न अन्तक्र्रिया कार्यक्रमका विशेष अतिथि तथा अतिथिहरुले अविलम्ब मिडिया काउन्सील विधेयक फिर्ता लिन सरकारसँग जोडदार माग समेत गरे । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य‘किरण’ले सरकारले मिडिया काउन्सील विधेयक फिर्ता लिएन भने फासिवादको यात्रातर्फ उन्मुख रहेको बुझ्नुपर्ने विचार व्यक्त गरे । महासचिव किरणले भने, “सरकारले नबुझेर मिडिया नियन्त्रित गर्ने विधेयक ल्याएको रहेछ भने चौतर्फी विरोध भएपछि यो विधेयक फिर्ता लिन्छ, फिर्ता लिएन भने सरकार फासिवादतर्फ अगाडि बढ्न खोजेको कुरा बुझ्नुपर्ने हुन्छ । फासिवाद सिंङ जुरा पलाएर आउँदैन, मान्छे तिनै हुन् ।”
महासचिव किरणले भने, “हिटलर र मुसोलिनीले राष्ट्रिय समाजवादको नारा दिंदै फासिवाद लादेका थिए । समाजवादको नारा दिएर फासिवाद कसरी आउँछ भन्ने कुरा पनि बुझ्नु पर्ने हुन्छ ।” पत्रकारहरुको आन्दोलनप्रति दृढ समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै महासचिव किरणले आन्दोलनलाई अझ सशक्त बनाउन आग्रह समेत गरे ।
महासचिव किरणले मिडिया काउन्सिल विधेयकबारे बोल्दै यो विषय प्रेस स्वतन्त्रताको कुरा मात्रै नभएर नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पनि विषय भएको बताएका छन् । उनले सरकारले यसलाई अविलम्ब फिर्ता लिनुपर्ने धारणा राखे ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फ्रान्सेली शासकको ‘मलाई ४ हजार सिपाहीभन्दा दुईवटा प्रेससँग डर लाग्छ’ भन्ने भनाइ स्मरण गराउँदै यो सरकार पनि त्यसैगरी प्रेससँग डराएको बताए ।
उनले गाउँघरमा चलनमा रहेको उखान ‘मर्न लागेपछि भैँसीले भीर खोज्छ’ भनेजस्तै यो सरकारले आफैँलाई घात हुने गरी प्रेसविरोधी कानुन ल्याउन लागेको बताए । उनले नेपाली प्रेसले २०४६ सालको आन्दोलन र २०६२÷०६३ सालको आन्दोलनमा पनि महत्वपूर्ण सहयोग गरेको स्मरण गराउँदै सरकारले ल्याएको विधेयक लोकतन् विरोधी रहेको बताएका छन् ।
उनले यो अभियानमा जनमोर्चा नेपालले सधैँ पत्रकारहरूको साथ दिने बताउँदै सरकारले घुँडा नटेकेसम्म दृढतापूर्वक उभिन पत्रकार संस्थाहरूलाई आग्रह पनि गरेका छन् ।
वरिष्ठ अधिवक्ता एकाज भण्डारीले संसदका सदस्यहरु स्वतन्त्र नरहेको उदहारण मिडिया काउन्सिल विधेयक भएको बताएका छन् । कार्यक्रममा बोल्दै स्वतन्त्र मिडियालाई सिध्याउने गरी ल्याइएको मिडिया काउन्सिल विधेयकले मिडिया हेर्ने निकायका सबै मान्छे सरकारले नियुक्ति गर्ने प्रावधान राखेर सरकार आफूले गल्ती नै गरेको बखतपनि गुनगान गाउनुपर्ने र भ्रष्टाचारलाई थप प्रश्रय दिने काम बाहेक केही नगर्ने भण्डारीले बताएका छन् । विधेयक तत्काल फिर्ता लिएर सरकार जनताको पक्षमा उभिन सरकारसँग आग्रह गरेका छन् । ‘पत्रकारिता क्षेत्रबाट गएका विभागीय मन्त्रीबाटै मिडियाविरोधी विधेयक ल्याउनुलाई प्रतिशोध साँध्न त ल्याएका त हैनन् ?’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, अधिवक्ता सुनीलरञ्जन सिहं, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र समाजवादी पार्टीकी केन्द्रीय सदस्य भगवती सुवेदीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरे ।
जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले अन्तक्र्रिया कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारेका थिए भने कार्यक्रमलाई स्वागत नेपाल प्रेस सोसाइटीका का.बा. अध्यक्ष केशव अर्यालले गरेका थिए ।
कार्यक्रममा राज्यद्रोह मुद्दा लगाएर २२ दिन प्रहरी हिरासत बिताएर रिहा भएका जनपत्रकार सङ्गठन काठमाडौँ जिल्ला संयोजक जितेन्द्र महर्जनलाई महासचिव मोहन वैद्य किरणलगायत अतिथिले खादा र अवीर लगाएर सम्मान गरेका थिए । कार्यक्रममा आयोजक संगठनका नेताहरुले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् ।