जेरी झैं जेलिएको डबल नेकपाको एकता समस्या

प्रकाशित मिति : २०७६ जेष्ठ ४

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता गरेको एक वर्ष पुगिसकेको छ । तर पनि एकता भनेको जस्तो गरी भएको छैन । विचार, राजनीति, उद्देश्य तथा कार्यक्रमहरु थाति राखेर गरिएको एकता केवल सत्ता स्वार्थमा मात्र केन्द्रित रहेको छ । एकताको एक वर्ष पुगेको उपलक्ष्यमा पार्टी मातहत रहेका मात्र २२वटा जनवर्गीय संगठनको नेतृत्वमा रहेका संयोजक र सहसंयोजकको नामावली शुक्रबार मात्र घोषणा गरिएको छ ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुई पार्टीको भागबण्डाका आधारमा जनवर्गीय संगठनहरुको टुंगो लगाए पनि पार्टीभित्र पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको कार्यविभाजन, विभाग गठनका साथै घोषित जनवर्गीय संगठनहरुको निर्माण र कार्य विभाजन पनि सिंगै बाँकी रहेको छ । यसको टुंगो लगाउनु भनेको डबल नेकपाका लागि हनुमानले महाभारत पर्वतमा सञ्जीवनी बुटी खोज्नु सरह हुन गएको छ ।

महासचिव विष्णु पौडेलको भनाइमा पार्टमा रहेको बाँकी काम छिटै टुंगो लगाई देशभर जागरण अभियान सञ्चालन गर्ने तयारी रहेको भनिए पनि पार्टीका बाँकी रहेका काम पूरा गर्न संकलित नामावलीमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा मारामार परिरहेको छ ।

हाल ४४१ सदस्यीय केन्द्रीय कमिटीमा पोलिट ब्युरो निर्माणका लागि निकै हानथाप चलेको छ । यतिबेलै गुट र उपगुट फेर्न सक्ने भएकाले ती गुट र उपगुटहरुले आफ्नै गुनगान गाउँदै आएकाहरुलाई पनि त्यति विश्वास गरिरहेका छैनन् ।

हालको ४४१ जनाको केन्द्रीय समितिमा कुनै थपघट नगरे पनि यसैबाट पोलिटब्युरो निर्माण गर्दा यसको एक तिहाई अर्थात् १४७ जनाको पोलिटब्युरोमा लैजानु पर्ने हुन्छ । स्रोतका अनुसार अहिलेसम्म पूर्व एमालेलाई ८१ र पूर्व माओवादी केन्द्रलाई ६६ जना भागबन्डा गरिएको खुल्न आएको छ ।

सञ्चार माध्यमहरुमा बोल्दा र कुराकानी गर्दा डबल नेकपाका अध्यक्ष द्वयले सबै काम ठीक्क हुँदै गएको बताए तापनि ती पार्टीभित्र रहेका गुट र उपगुटका नेताहरुसित पार्टीका बाँकी रहेका कामहरुको बारेमा सोधपूछ र सुझावसम्म पनि मागिएको छैन । उनीहरु अहिले आगो बनेर बसिरहेका छन् ।