सीपी गजुरेलद्वारा रचित “राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु” शुक्रवार विमोचित

पुस्तक पढ्दा राजनीति पढिरहेको र राजनीति गरिरहेको अनुभूत हुन्छ : किरण

प्रकाशित मिति : २०७६ जेष्ठ ४

काठमाडौं । राजनीतिक नेता लेखक सीपी गजुरेलद्वारा लिखित “राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु” शुक्रवार प्रज्ञा प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रमबीच विमोचन गरिएको छ । मूलतः राजनीतिक आलेखहरुको संग्रहका रुपमा रहेको यो पुस्तक अक्सफोर्ड एन्टरनेश्नल पब्लिकेशनद्वारा प्रकाशन गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव किरणले नेता तथा लेखक सीपी गजुरेलको विमोचित पुस्तक “राजनीतिक घटनाक्रम र प्रवृत्तिहरु” पढ्दा आफैमा राजनीति पढिरहेको र राजनीति गरिरहेको अनुभूत हुने गर्दछ भन्दै यो नेपाली राजनीतिक परिवर्तनका क्रममा भएका र हुने गरेका घटनाक्रम तथा प्रवृत्तिहरुको व्याख्या विश्लेषण र दिशा निर्देशको संकलन रहेको बताएका छन् । महासचिव किरणले पुस्तकलाई मूलतः विभिन्न दश खण्डहरुमा विभाजन गरी पाठकहरुले अध्ययन गर्न सके यसमा लेखिएका कुराहरुलाई बुझ्न सकिने कुरामा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक धाराहरु, दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय स्वाधीनता, भँडुवा पुँजीवाद, संसदीय निर्वाचन, राष्ट्रियतासहित जनतन्त्र र जनजीविका, जनगणतन्त्र एकमात्र विकल्प, जनयुद्ध र संसार बदल्ने कुरामा जोड आदि कोणहरुबाट अध्ययन गरेमा यो पुस्तक अध्ययनको सार्थकता रहने छ । महासचिव किरणले लेखक आफैमा राजनेता भएकाले लेखन बढि राजनीतिक रहेको बताउँदै लेखनमा दर्शन तथा साहित्यको पनि उत्तिकै प्रभाव रहेको कुरा बताएका छन् ।

लेखक गजुरेलले माक्र्सको भनाइ उद्धृत गर्दै संसारको व्याख्या र विश्लेषण गर्नु ठूलो कुरा नभएको र मूलतः संसारलाई बदल्नु नै ठूलो कुरा भएकाले नेपाली कम्युनिष्ट आन्दोलनमा घटेका घटना तथा प्रवृत्तिका बारेमा आफूले सिलसिलेवार रुपमा लेखेका लेखहरुको संकलनका रुपमा यो पुस्तक पाठकहरुका हातमा पुर्याएको कुरामा जोड दिएका छन् ।

उनले भनका छन् जनताले परिवर्तनका लागि गरिएका सबै काम, योगदान र बलिदानहरु खेर गए भनेका छन्, तर वास्तवमा जनताका योगदान र बलिदान खेर गएका होइनन् बरु क्रान्ति र परिवर्तनलाई पूर्णता दिन नसकिएको मात्र हो । लेखक गजुरेलका अनुसार नेपालमा भँडुवा पुँजीवादका पृष्ठपोषकहरुले भन्ने र दिने गरेको एक भ्रम अथवा नेपालमा राजनीतिक क्रान्ति भइसक्यो, अब गर्न बाँकी रहेको आर्थिक क्रान्ति र समृद्धि मात्र हो भन्ने विभ्रमले जनतालाई बलिदान दिएको खेर गयो भन्ने निराशाजनक अभिव्यक्ति दिन लगाएको हो ।

हामीले यो भ्रमका बारेमा स्पष्ट पार्नुपर्ने भन्दै लेखक गजुरेलले यदि त्यसो नै हो भने आखिर समृद्धि र विकास किन भइरहेको छैन त भनी प्रतिप्रश्न गर्छन् । लेखक गजुरेलका अनुसार नेपालमा दलाल संसदीय व्यवस्था घुमिफिरी ल्याइरहेका र पुनस्र्थापित गरिरहेकाले वास्तवमा जनताले चाहेको जस्तो राजनीतिक परिवर्तन भएकै छैन, यसका लागि अझैं धेरै संघर्षहरु गर्न बाँकी छ ।

विमोचित पुस्तकका टिप्पणीकर्ता तथा नेकपाका अध्यक्ष ऋषि कट्टेलले लेखक गजुरेलले नेपालमा क्रान्तिकारी धाराहरुको निरन्तर अग्रगामी प्रयास, घटनाक्रम र त्यही मौकामा भएका र हुने गरेका संशोधनवादी धाराहरुको उदय र भ्रमको खेती तथा जनताको सपना र संशोधनवादीहरुको भ्रम छराइमाथि यथेष्ट प्रकाश पारेका छन् ।
त्यसै गरी अर्का टिप्पणीकर्ता डा. जगदीशचन्द्र भण्डारीले लेखक सीपी गजुरेलको यो पुस्तक भ्रमको खेती गर्ने संशोधनवादी, आत्मसमर्पणकारी तथा दलालहरुका लागि एक दह्रो झापड भएको बताएका छन् । उनले लेखक गजुरेलले यस पुस्तकबाट दिन खोजेको सन्देश भनेको दलाल, साम्राज्यवाद तथा माफिया र बिचौलियाहरु अब शुद्ध भइसके, अब त शान्ति र प्रगतिका कुरा र कामना मात्र गर्ने हो भन्ने नवदलालहरुको यात्रामा एक ठूलो एम्बुस भएको कुरामा प्रकाश पारेका छन् । उनका अनुसार लेखक गजुरेल उक्त कृतिमा संयमित र परिस्कृत रुपमा प्स्तुत हुन सक्नु राजनीति, साहित्य, दर्शन, अर्थशास्त्र तथा राष्ट्र÷अन्तरराष्ट्र ससमेटेर एकै ठाउँमा ल्याउन सक्नु लेखक गजुरेलको आफ्नो वैशिष्ट्यता हो ।

पुस्तक प्रकाशक अक्सफोर्ड इन्टरनेश्नल पब्लिकेशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले आफूहरुले दर्शन, राजनीतिक अर्थशास्त्र, साहित्य तथा राजनीति पुस्तकहरु प्रकाशन गर्दै आउने क्रममा लेखक तथा नेता सीपी गजुरेलको यो पुस्तक प्रकाशन गर्र्ने मौका पाएको र पाठकहरुले यसको अध्ययन र टिप्पणी तथा सुझावहरु आफूहरुले नगरे लेखकप्रति अन्याय हुन जाने कुरामा प्रकाश पारेका छन् ।