डेभिड जे रेन्जद्वारा ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’मा ओली सरकारको सहभागिताको खुलासा

डेभिड जे रेन्जद्वारा ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’मा ओली सरकारको सहभागिताको खुलासा

काठमाडौं । अमेरिकी उपसहायक मन्त्री डेभिड जे रेन्जले नेपाललाई ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’ सहभागी हुँदै गरेको खुलासा गरेका छन् । अमेरिकी दक्षिण एसिया तथा मध्य एसिया मामिलाका उपसहायक मन्त्री डेभिड जे रेन्जले नेपाललाई उक्त स्ट्रयाटेजीमा महत्वपूर्ण साझेदार हुने कुरा पनि बताएका हुन् ।

एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसहायक मन्त्री रेन्जले ‘इन्डो प्यासिफिक स्ट्रयाटेजी’ अमेरिकाको प्रमुख प्राथमिकतामा रहेको कुरामा जोड दिएका थिए ।

उनले नेपालको ओली सरकार अमेरिकाको उक्त रणनीतिमा सामेल भइसकेपछि तीब्र आर्थिक उन्नति हुने आश्वासन समेत दिएका थिए । उनले दक्षिण एसियाली देश तथा सरकारहरु खुला तथा स्वतन्त्र रुपमा आर्थिक विकासका लागि साझेदार बनिरहेको पनि बताएका थिए ।

मन्त्री रेन्जका अनुसार ‘यो रणनीति कुनै सन्धि–सम्झौता वा गठबन्धन नभएर अमेरिकाले प्रत्यक्षरुपमा सहभागिता जनाउने र दक्षिण एशियाली देशहरु सहभागी हुन पाउने उपयुक्त संरचना मात्र हो ।’

मन्त्री रेन्जले यो रणनीतिमा समर्थन जनाउन अमेरिकाले नेपाललाई आग्रह गरी सकारात्मक जवाफ पाएको खुलासा गर्दै इन्डोप्यासिफिक क्षेत्रको शान्ति, सुरक्षा, सुशासन, पारदर्शिता, विकास निर्माण एवम् भौतिक पूर्वाधारका महत्वपूर्ण क्षेत्रहरुमा सहभागी भएर अमेरिकाले
प्रत्यक्ष भूमिका निभाउने बताएका थिए ।

अमेरिकाले विधिको शासनलाई विश्वास गर्ने भएकाले इण्डो प्यासिफिक रणनीतिमा सहभागी भएका एशियाली देशहरुमाथि स्वतन्त्रपूर्ण आफ्नो निर्णय लिने अधिकार प्रत्याभूति गर्ने पनि बताए । उनले त नेपाल र ओली सरकारका बारेमा यतिसम्म पनि स्पष्टिकरण दिए कि यसमा सहभागी भएका कारण नेपालले आफूअनुकूलको स्वतन्त्र निर्णय लिन कुनै पनि बाह्य हस्तक्षेपको सामना गर्न नपर्ने बताए ।

नेपालमा हाल ओली सरकारको इण्डोप्यासिफिक अमेरिकी रणनीतिमा सहभागिता र यही रणनीतिक उद्देश्य प्राप्तिका लागि सहयोगीका रुपमा हाल संसदमा पारित गरिनका लागि छलफलका नाममा लगिएको विवादित प्रेस काउन्सिल विधेयकतिर लक्षित गर्दै रेन्जले प्रजातान्त्रिक मुलुकमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने कुरा गर्दै आफ्नो कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर पत्रकारले कार्यसम्पादन गर्दै आएकोप्रति आफू गौरवान्वित रहेको बताए ।

रेन्जले हालैमात्र इण्डोप्यासिफिक क्षेत्रको विकासका लागि अमेरिकाले ३ सय मिलियन अमेरिकी डलर सहयोग प्रदान गरेको बताए । त्यसबाट १७ मिलियन डलर मानवीय सहायता तथा प्राकृतिक प्रकोप व्यवस्थापनका निमित्त छुट्याएको सविस्तार सुनाए ।

इन्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएस्एस्आर) र पेभिलियन मिडिया ग्रुप र खबरहब डटकमले आयोजना गरेको उक्त कार्यक्रममा राजनीतिज्ञ, विभिन्न क्षेत्रका वौद्धिक वर्ग तथा कुटनीतिज्ञहरुको सहभागिता रहेको थियो ।

स्मरण रहोस् नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली यसअघि अमेरिका भ्रमणमा गएका बेला इन्डो प्यासिफिक रणनीतिमा नेपालको सहभागिता अमेरिकाको पक्ष लिनु तथा अन्य मुलुकको विपक्षमा लाग्नु भन्ने नभएको कुरा राखेका थिए । मन्त्री ज्ञवाली त्यसैलाई मन्जुर गरी अमेरिकी इण्डो प्यासिफिक रणनीतिमा सहभागी हुने वाचाका साथ नेपाल फर्किएका थिए ।