पहिला यार्सा अनि मात्र शिक्षा

प्रकाशित मिति : २०७६ बैशाख २७

काठमाडौं । हिउँ पग्लन सुरु गरेपछि कर्णाली प्रदेशमा यार्साको सिजन सुरु हुँदा हिमाली जिल्लाका विद्यालयहरु सबै बन्द गरिएका छन् । यार्सा टिप्न जाँदा, टिप्दा र फर्कंदाको समय सिंगो तीन महिनाको हुने हुँदा विद्यालयहरु तीन महनाका लागि बिदा गरी बन्द गरिएका हुन् ।

हरेक वर्ष यार्सा सङ्कलनका लागि हिमाली जल्लाका गाउँले परिवारहरुको लेकतिर निस्कने ताँती नै लाग्दछ । लावालश्करमा हिमालमा निस्कने ती गाउँलेहरुको यार्सा टिप्ने समय भनेको केही आर्थिक जोहो गर्ने समय पनि हो । हाल सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिका समेतका जनताहरु यार्सागुम्बा सङ्कलनका लागि हिमालतिर निस्किएका छन् ।

हिमाली जिल्लामा करीब ३ महिना लगाएर संकलन गरिएको यार्सा बेचेर आएको आर्थिक कमाइले यार्सा पाइँदाका वर्ष लगभग एक वर्षजसो नै खाना खान पुग्छ । हिउँदमा परेको हिउँ क्रमशः हिमाली तल्लोभागबाट उपल्लो भागतिर पग्लँदै जाने र स्थानीय यार्सा संकलकहरु पनि यसै क्रमसँगै माथिल्लो भागतिर सर्दै र यार्सा टिप्दै जाने गर्दछन् ।

बैशाखमा लेकतिर लागेका स्थानीय असार महिनामा मात्र गाउँतिर फर्कन्छन् ।

पहिले पहिले त सिंगो गाउँमा सबै घरहरु ताला लगाएर यार्सा सङ्कलन गर्न जाने चलन रहेको थियो । सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र बच्चाबच्चीहरु मात्र कुनै कुनै गाउँमा छिटपुट रुपमा पाइने गर्दथे । विगतका वर्षहरुभन्दा जस्तो गरी यार्सा पाइन छाडेको छ ।

यार्सा आफैमा अर्धवनस्पति र अर्धजीव हो । यसको उत्पादन घट्दै गइरहेको छ । कारण पत्ता लगाएर संरक्षण नगरे यो लोप हुने आशंका पनि बढिरहेको छ ।