
काठमाडौं । शैक्षिक माफियाकरण र दलालीकरणका विरुद्ध ११ विद्यार्थी संगठनले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । केही महिनाअघिदेखि निरन्तर संयुक्त संघर्षमा रहेका ११ विद्यार्थी संगठनहरुको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय, बागबजारमा बसेको संयुक्त वैठकमार्फत् उक्त निर्णयहरुको सार्वजनिकीकरण गरिएको हो ।
संयुक्त विज्ञप्तिमा भनिएको छ– “शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणलाई अन्त्य गरी पूर्णरुपमा राष्ट्रियकरण, निःशुल्क एवं सर्वसुलभ बनाउनका लागि नेपाल सरकारको शिक्षामन्त्रीलाई मागपत्र बुझाउने निर्णय गरियो ।”
मागपत्र बुझाएलगत्तै ११ विद्यार्थी संगठनले “राष्ट्रिय आविष्कार केन्द्रलगायत अनुसन्धानका क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिलगायत सबैलाई समेटी उच्चस्तरीय सबै क्षेत्रका राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा स्थापित व्यक्तित्वहरुसँग बृहत अन्तरक्रिया कार्यक्रम जेठ ११ गते प्रज्ञा–प्रतिष्ठानको डबलीमा दिनको ११ बजे गर्ने निर्णय” गरेको विज्ञप्तिमा जनाएको छ ।
त्यसै गरी, “राज्यसत्ताको दुरुपयोग गरी विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरु वाइडबडी, एनसेल, फोरजी, बालुवाटार जग्गा, सुनकाण्ड, ठेकेदारकाण्डलगायतका विषयहरुमा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारवाहीको निम्ति नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय” गरिएको पनि संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
हस्ताक्षरकर्ता ११ विद्यार्थी संगठनहरुको संयुक्त उपस्थिति ः
हरिकृष्ण गजुरेल, अध्यक्ष, अखिल (क्रान्तिकारी)
ऋषिकेश जंग शाह, पूर्वउपाध्यक्ष, ने.वि.संघ
चिरञ्जीवी ढकाल, अध्यक्ष, अखिल (क्रान्तिकारी)
आलोक रायमाझी, अध्यक्ष, अखिल (क्रान्तिकारी)
घनश्याम मिश्र, अध्यक्ष, अनेरास्ववियू (पाँचौं)
श्यामबाबु गौतम, अध्यक्ष, नयाँ शक्ति विद्यार्थी यूनियन
प्रविण मिश्र, प्रमुख, अखिल नेपाल विद्यार्थी यूनियन
रञ्जीत निष्पक्ष, महासचिव, राष्ट्रिय विद्यार्थी संघ
विवेक राई, अध्यक्ष, समाजवादी विद्यार्थी फोरम, नेपाल
ताराप्रसाद अर्याल, अध्यक्ष, राष्ट्रवादी वि. संघ
दुजाङ शेर्पा, अध्यक्ष, ने.आ.ज.वि. महासंघ






























