जापानबाट सिक्न सकिने पाठ

जापानबाट सिक्न सकिने पाठ

कूल ३ लाख ७७ हजार ९३० वर्ग किलोमिटर भूभागमा फैलिएको जापान क्षेत्रफलका हिसाबले विश्वको ६१ औं ठूलो देश हो । क्षेत्रफलका हिसाबले जर्मन, नर्बे, मलेसिया, फिनल्यान्ड वा पोल्यान्ड समतुल्य मुलुक मानिन्छ । चारैतिरबाट समुद्रले घेरको जापान सानाठूला गरी ६ हजार ८५२वटा द्विपहरुको समुह पनि हो ।

जसमा, होकाइडु, होन्सु, सेकेकु, क्योन्सु, ओकिनवा जस्ता चारवटा ठूला द्विपहरुको एकल हिस्सा ९७ प्रतिशत छ । जापान विश्वको धनी मुलुक कहलियता पनि प्राकृतिक संशाधनमा ठगिएको मुलुक हो । कोइला, तेल, प्राकृतिक ग्याँस, फलाम, खनिज जापानमा दुर्लभ छ । समुद्र वा जल जापानको एक मात्र प्राकृतिक साधन मानिन्छ ।

जापानमा वर्षभरमा औषत १५ सय पटक र दैनिक औषत ४ पटक भूकम्प जाने गर्छ । ६ र ७ म्याग्निच्यूडको भूकम्प जापानको खातिर सामान्य मानिन्छ । नेपालमा जस्तो भूकम्पले तहसनहस गर्न सक्दैन । भौतिक संरचना भूकम्प प्रतिरोधीरुपमा निर्माण गरिएको हुँदा क्षति नभएको हो । यसबाट भूकम्पको कारणले मात्र नभई हामीले निर्माण गरेको संरचनाको कारण जनधनको क्षति हुनजान्छ भन्ने कुरा केही हदसम्म जापानले पुष्टि गरेको छ ।

तथापि, प्रकृतिले चायो भने मानिसले कुनै दैया चल्दैन भन्ने तथ्य सन् २०११ मार्च ११ मा टप्किएको ९ म्याग्निच्युडको भूकम्पले देखाएको छ । पूरापूर ६ मिनटसम्म आएको भूकम्प तत् पश्चात आएको सुनामीका कारण कूल १५,८९४ मानिसको ज्यान गएको थियो भने ६,१५० घाइते हुनुका साथै २५४६ बेपत्ता भएका थिए । जहाँ ३६० अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो ।

जापानमा २०० अधिक सक्रिय ज्वालामुखी रहेको देश हो । जुनसुकै बेला बिष्पोट हुन सक्छन् । माउन्ट आसो त्यस्तैमध्ये एक हो । जुन सक्रियमध्येकै सबैभन्दा ठूलो ज्वालामुखी हो । वैज्ञानिकले जुनसुकै बखत बिष्पोट हुन सक्ने औल्याएका छन् । सन् २०१४ सेप्टेम्बर २७ मा क्युसु द्विपको माउन्ट ओन्टाकेमा ज्वालामुखी बिस्कोट हुँदा ६३ जनाको ज्यान गुमेको थियो ।

जापानको पहिचान दिने अरु थुप्रै चिजबिज, घटना तथा परिघटना छन् । चीन, ताईवान र कोरिया प्रायद्विपमाथि पकड जमाएको नजिर छ । रुस जस्तो भीमकाय देशलाई युद्धमा परास्त गरेको शान छ । सबैभन्दा धेरै नोबेल पुरुस्कार प्राप्त गर्ने इतिहास रचेको छ । हालसम्म जापानले विभिन्न विधामा जापानका वैज्ञानिक तथा विद्वानले २६ पटक नोभेल पुरुस्कार प्राप्त गरिसकेको छन् । दोस्रो विश्वयुद्धमा अमेरिका संग पराजय बेहोरे तापनि कुनै बैरभाव वा रिसराग नसाखी उसैसंग हातेमालो गरी पछिल्लो ७३ वर्षमा लोभलाग्दो तरक्कि गरेको छ ।

मानव संशाधन नै कुनै पनि मुलुकको तरक्कीको मूल आधार मानिन्छ । जापानको तरक्कीका मूल चुरो मेहनती, लगनशील र सिर्जनशील मानव संशाधन नै हो । जापानी कार्य स्थललाई मन्दिर र कार्यलाई पुजा ठान्दछन् । हदभन्दा बढि काम गर्न जापानीहरु पछि पर्दैनन् । मेहनत र तिक्ष्णताको कारण प्राकृतिक सम्पदाका अभावकाका बाबजुद पनि जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सकेको हो । काममा अधिक खट्ने हुँदा छोटो यात्राको मेट्रोमा समेत अक्सर सुत्दछन् ।

नेपाल भारतमा कार्यस्थलमा सुत्नुलाई अन्यथा लिइन्छ । ठगको सज्ञा दिइन्छ । तर जापानमा कार्यस्थल २०÷३० मिनट सुत्नु आम कुरा मानिन्छ । कार्य स्थलमा थोरबहुत सुतेर फ्रेस हुन छुट छ । स्मरण रहोस् जापानको कूल १२ करोड ७० लाख जनसंख्यामध्ये सक्रिय श्रमशक्ति ६.५० करोड रहेको छ ।

कुनै मुलुक जनता के कति सम्पन्न छन् । जीवनस्तर कस्तो छ भन्ने कुरा मानव विकास सूचकांकले उजागर गर्दछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएन्डीपी) द्वारा प्रकाशित प्रतिवेदन, २०१७ मा कूल १८८ देशमध्ये जापान १७ औं स्थानमा रहेको छ । जहाँ कूल १ अंकमध्ये ०.९३ अंक प्राप्त गरेको छ । जहाँ ०.८८७ भन्दा अधिक ‘स्कोर’ प्राप्त गर्ने मुलुकलाई उच्च मानव विकास भएको समुहमा राखिएको छ । प्रस्तुत तथ्यांकबाट जापनको मानव विकास अवस्था अब्बल रहेको पुष्टि हुन्छ । मानव विकासको अवस्था राम्रो हुनु भनेको, शिक्षा, स्वास्थ्य, आभाष, रोजगारीको अवस्था राम्रो हुनु हो ।

त्यसो त हरेक एक महिनाले औषत २.१ भन्दा कम सन्तान पैदा गर्दा जनसंख्याको आकारमा नकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको छ । तर जापानिज स्त्रीहरु काममा व्यस्त हुँदा बच्चा पैदा गर्ने लगाव राख्दैनन् । जापानमा एक महिला औषत १.४ प्रतिशत मात्र बच्चा पैदा गर्दछन् । यो प्रजनन् दर आफैमा कम हो । यहाँ सम्मकि जापानमा बच्चा भन्दा पाल्तु जनावरको संख्या अधिक रहेको छ । यसैले जापानको जनसंख्या सन २०१२ मा १२ करोड ८० लाख रहेको २०१३ मा १२ करोड ७० करोडमा झरेकोमा हालसम्म जहाँको त्यहिं छ । यसैले प्रजनन दर १.८ प्रतिशत पुरार्याउन जापानले विशेष प्रोत्साहनको व्यवस्था अगाडि सारेको छ ।

गुणस्तरीय शिक्षा, प्रगति, तरक्की र उन्नतिको कसी हो । उक्त कुरा जापानीहरुले राम्रोसंग बुझेका छन् । गुणस्तरीय शैक्षिक प्रणालीलाई जापानी तरक्किको चाबी ठान्दछन् । शैक्षिक प्रणालीलाई निकै गम्भिरता पूर्वक लिन्छन् । साना बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्छ, नैतिकवान, चरित्रवान, मेहनती र सिर्जनशील बनाउनु पर्छ भन्ने कुरा जापानीले राम्रो बुझेका छन् । त्यसैले जापानमा ९ वर्ष सम्मको उमेर समुहलाई विद्यालय जानु अनिवार्य हुन्छ ।

भलै हाइस्कुलस्तरको शिक्षा भने बाध्यात्मक छैन । स्कुल तथा विश्वविद्यालयमा के कति वर्ष पढ्ने समायाबधी निर्धारण गरिएको हुन्छ । जहाँ इलिमेन्टरीस्तरको पढाई ६ वर्ष, जुनियर हाइस्कुलस्तको पढाई ३ वर्ष, हाइस्कुलस्तरको पढाई ३ वर्ष र युनिभर्सिटीस्तरको पढाई ४ वर्षको अवधि निर्धाण गरिएको छ । पठनपाठनका लागि पब्लिक र प्राइभेट दुबै खाले शैक्षिक संस्थालाई अनुमति प्राप्त छ ।

बालबालिकाको पढाइको सन्दर्भमा केही चाखलाग्दा कुरा छन् । जापानमा १० वर्षको उमेर सम्मको बालबालिकाले नेपाल वा भारतमा जस्तो कुनै परीक्षामा सामेल हुनु पर्दैन । १० वर्ष सम्मको उमेर ब्रेन टे«निङ, ब्रेन टिजर र ब्रेन पजलिङ जस्ता सिकाईमा लगाई मस्तिस्को विकास गराइन्छ । नेपाल वा भारतमा विद्यालय सफा गर्ने कार्यलय सहायक, पिएन वा कुचीकारको प्रबन्ध गरिएको हुन्छ ।

तर जापानमा त्यसो गरिदैन, कक्षाकोठा, सौचालय, परिसरको सफाई शिक्षक र विद्यार्थी मिलेर गर्दछन् । बरु, कुनै विद्यार्थी ५ दिनसम्म लगातार बिलम्ब गरी विद्यालयमा आएमा सजायस्वरुप कक्षाकोठा सफा गर्न लगाइन्छ । विद्यार्थीमा मेहनत गर्ने आदत विकास हुन्छ भन्ने जापानी मान्यता अनुरुप सरसफाइमा सामेल गरेको बताइन्छ ।

नेपाल वा भारतमा विद्यार्थी लगभग छाडा जस्तै हुन्छन् । मोबाइल फोन बोक्ने, कपाल कस्तो बनाउने, केटाकेटी बीचको सम्बन्ध कस्तो रहने भन्ने कुरा नगरअन्दाज गरिएको पाइन्छ । तर जापानी विद्यार्थीहरुलाई यी कुराहरुमा कडा परहेज रहेको छ । कि, जापानी विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई मोबाइल फोन बोक्न, कपाललाई स्टाइलिस बनाउन, छात्रलाई दाह्री पाल्न, महिलाई नङपालिस लगाउन, विपरीत लिंगीय रोमान्टिक सम्बन्ध कायम गर्न विलकूलै छुट रहँदैन ।

विद्यार्थी अनुशासित हुन्छन, पढाइमा ध्यान केन्द्रित गर्दछन् र समय खेर फाल्दैनन् भन्ने मान्यता अनुसार यस्तो वारबन्देज गरेको बताइन्छ । त्यस्तै शिक्षकले पनि निश्चित नीति नियम पालन गर्नुपर्छ । खासमा शिक्षक समय मै विद्यालय आइपुग्नुपर्छ । प्रत्येक विद्यार्थी तोकिएको सफा पोशाकमा विद्यालय आउनुपर्छ । युनिफर्ममा नआउने विद्यार्थीले कक्षमा प्रवेश गर्न दिइँदैन ।

विद्यालयमा जस्तै विश्वविद्यालयमा पनि गुणस्तरीय शिक्षालाई निकै महत्व दिइन्छ । यसै पनि जापान गुणस्तरीय शिक्षा उपलब्ध रहेको मुलुक कहलाउँछन् । गरीब २५ वर्षको उमेरमा विश्व बिद्यालयको शिक्षा पूरा गरी कामकाजको सुरुआत गर्दछन् । यस हिसाबले जापानका औषत २५ देखि ३५ बर्षको उमेर समुहमा म्यानेजर हुन्छन् । म्यानेहजर बिहान ९ बजे कार्यालय आइपुग्दछन् र साझ ७ बजे सम्म कार्यालय मै रहन्छन् । वर्षमा २ पटकसम्म बोनस प्राप्त गर्दछन् ।

१५ देखि १८ प्रतिशतले मात्र स्थाई खान्छन् । ५५ वर्ष पश्चात् प्योकजसहित बाहिरिन पर्छ भन्ने मान्यता राख्दछन् । प्रतिकूल भौगोलिक बनावट र प्राकृतिक सोतसाधनको अभाबमा जापानले गरेको तरक्कि र अबलम्बन गरेको शैक्षिक प्रणाली, कार्य संस्कृति, मूल्यमान्यता नेपाल जस्तो विकासमा खातिर छटपटाइरहेको देशका लागि अनुकरणीय हुनुपर्छ ।