प्रविधि र विचारमा कुन ठूलो हो भन्ने कुरा उत्पादन शक्ति र उत्पादन सम्बन्धमा कुन ठूलो हो भन्ने लडाइँ जस्तै हो । साधन र साध्यको लडाइँमा जहिले पनि साध्य प्रमुख हुन्छ । साधनका त हजारौं विकल्पहरु छन् ।

हार्दिक शुभकामना !

प्रविधिको विकास नभएको बेलामा मानव श्रमका साधनद्वारा इजिप्टको झुल्ने बगैचा, चिनियाँ पर्खालदेखि संसारका सात आश्चर्य, क्रेन, जेसीवी, एक्स्क्याभ्याटर, लोडर, डोजर, बुल्डोजरको विकास नभइसकेको अवस्थामा बनेका हुन् । नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ प्रविधिभन्दा मानवका दश नंग्रा खियाएर, हातले खोतलेर, बनाइएको हो ।

अहिले नेपाली कम्युनिष्ट आन्दोलनको बजारमा विचार, सिद्धान्त, दर्शन र राजनीतिभन्दा प्रविधि र ‘एप’ नै मुख्य भएको प्रविधिवादी तर्कले फेरि टाउको उठाउन थालेको छ । समाजको चालक शक्ति वर्ग संघर्ष हो भन्ने मालेमावादको गुदी कुरालाई उल्ट्याउन धेरै कोशिस हुँदै आइरहेको छ ।

राजनीतिलाई केन्द्रमा राख्ने र दुईलाइन संघर्ष र वर्गसंघर्षको माध्यमबाट कम्युनिष्ट कार्यकर्ता र नेताहरुको उत्पादन र विकास हुने र गर्नुपर्ने ठाउँमा आचरण र बानीबेहोरालाई केन्द्रमा राखेर पहिला कम्युनिष्ट बन्ने र बल्ल कम्युनिष्ट पार्टी खोल्नुपर्ने कुरा बीचको बादविवाद पचासको दशकताका नेपाली कम्युनिष्ट आन्दोलनमा निकै बहस चलेको हो ।

जनयुद्धको सुरुआतपछि उक्त विवाद नेपाली कम्युनिष्ट आन्दोलनमा पछि परेको र केही सुषुप्त रहेको भए पनि जनयुद्धमा भएको नेतृत्वको गद्धारीका कारण क्रान्तिको निरन्तरतामा अबरुद्धतापछि आएको निराश, पलायन र पश्चगमनको वातावरणमा प्रविधि प्रमुख, माक्र्सवाद १०० वर्ष पुरानो, लेनिनवाद ६० वर्ष पुरानो र माओवादले समस्या समाधान नगर्ने भनेर विभिन्न तर्कहरु उठिरहेका छन् ।

मालेमावादलाई व्यवहारमा प्रयोग गर्दै विचारको विकास गर्ने हो । वस्तु परिस्थितिमा परिवर्तन भएपछि पहिलेका व्याख्या र सन्दर्भले मेल खाँदैनन् । वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष र त्यसको वैज्ञानिक प्रयोगले मात्र विचारमा विकास हुन्छ । माक्र्सवादी वैचारिक धरातलमा टेकेर नै लेनिन र माओले विचारको विकास गरेका हुन् ।

ल्युशाओचीले भने झैं विचारलाई शुन्यतामा पुर्याएर आत्मप्रशिक्षणवादको तरिकाबाट विचारको विकास हुँदैन । प्रविधिमा निरन्तर विकास भइरहेको हुन्छ । राजनीतिक अर्थशास्त्रको सिद्धान्तअनुसार प्रविधिमा विकास हुनु भनेको उत्पादक शक्तिको विकास हुनु हो र त्यसलाई उत्पादनसम्बन्धले भेटाउनु पर्दछ ।

प्रविधि भनेको पदार्थ हो । त्यसबाट नयाँ चेतना पैदा हुन्छ । विकसित उत्पादक शक्ति र पछि परेको उत्पादन सम्बन्धबीच तालमेल पैदा हुन्छ र नयाँ क्रान्ति हुन्छ । यसरी ढिलो वा छिटो उत्पादन शक्ति र उत्पादन सम्बन्धका बीचमा तालमेल भइरहन्छ । युगको कुरा, समयको कुरा, क्युवाली क्रान्ति भएको साठी वर्ष बितिसकेको कुरा, क्रान्तिको भविष्यवाणीका कुरा आदिका जवाफ माक्र्सले उहिल्यै दिइसक्नु भएको छ ।

सामाजिक परिवर्तन दश वर्षमा, ५० वर्षमा वा १०० वर्षमा पनि हुन सक्छ । लेनिन र माओको पालामा दुईवटा विश्वयुद्ध २५ वर्षकै अन्तरालमा भए । साम्राज्यवाद कमजोर भएको बेलामा लगातार संसारको छ भागको एक भागहुँदै संसारको तीन भागमध्ये एक भागमा १९५९ सम्म आइपुग्दा क्रान्ति सम्पन्न भयो ।

१०० वर्षसम्म लाग्ने सामाजिक परिवर्तन आफ्नो सरदर उमेरको ६० वर्षे जीवनमा क्रान्ति नभएपछि छिटो छरितो क्रान्तिको बाटो खाोज्ने अधिकार त सबैलाई छ । निम्नपुँजीदी अधैर्यता देखाउँदै पहरोमा कुइनो ठोक्याउन पाइन्छ । तर त्यो न त वैज्ञानिक हुन्छ, न त सार्थक नै । तर माओले आगामी ५० देखि १०० वर्षहरु निकै उथलपुथलकारी वर्षहरु हुने छन् भन्नु भएको छ ।

तेस्रो विश्वयुद्ध पनि अवश्यंभावी छ । कि त क्रान्तिले विश्व युद्ध रोक्ने हो, कि त विश्वयुद्धले क्रान्ति निम्त्याउने हो । एशिया अफ्रिका र ल्याटिन अमेरिकी देशहरुमा नयाँ जनवादी क्रान्ति गरेर समाजवादी क्रान्तिमा फड्को मार्ने र पहिलो तथा दोस्रो विश्वमा समाजवादी क्रान्तिहुँदै संसार नै साम्यवादमा पुग्ने हो ।

हरेकलाई क्षमताअनुसारको काम र कामअनुसारको माम अनि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको माममा प्रविधिको विकास सहायक मात्र सिद्ध हुन्छ, आफैमा साध्य त हुँदैन ।

हामीले अहिले प्रयोग गरेको प्रविधि विकसित देशहरुले १०० वर्ष पहिले नै गरिरहेका थिए । त्यसले त क्रान्तिलाई रोकेन, बरु १९४५ देखि १९५९सम्म संसारको एकतिहाई भूभागमा क्रान्ति भएको थियो । अहिले सूचना र सञ्चारमा आएको अभूतपूर्व परिवर्तनले क्रान्तिलाई झनै नजिक्याएको छ ।

एउटा सानो गाउँको सूचाना संसारभर र संसारभरका सूचना एउटा सानो गाउँमा पुर्याएर स्थानीयलाई अन्तर्राष्ट्रिय र अन्र्ताष्ट्रियलाई स्थानीयकरण गर्न र एकताको सूत्रमा बाँध्न मद्दत पुर्याएको छ ।

चमेली क्रान्तिहुँदा सञ्चारमाध्यमहरु र त्यो पनि फोन तथा सामाजिक सञ्जालको भरमा अरबजस्ता देशका निरंकुश शासकहरु फ्याँकिएका थिए । अहिले सञ्चार तथा अन्य प्रविधिमा भएको विकास र विस्तारले विश्वव्यापी लडाइँ संभव गराएको छ । विश्वका मजदुरहरु एक हुने पनि यही अर्थमा होला । प्रविधि साधन हो र विचार, दर्शन तथा सिद्धान्त साध्य हो । साधन र साध्यको केही समय बेमेल देखिए पनि एकस्तरमा पुगेर यी बीचमा तालमेल र सन्तुलन रहन पुग्छ । त्यो अभूतपूर्व क्रान्तिकारी परिवर्तन हुनेछ ।

हो पनि, अहिले विकसित भएको प्रविधि सिमित र मुट्ठीभरका मानिसको हातमा पुगेको छ । बहुसंख्यक जनताका हातमा त्यो प्रविधि पनि पुगेको छैन र उनीहरुको जीवन कहालीलाग्दो अवस्थामा छ, यसैले पनि क्रान्तिप्रति अविश्वास र निराशा जाग्न गएको छ ।

संसारको आधा सम्पत्ति झण्डै विश्वका ५० जना खर्बपतिको हातमा केन्द्रित हुन गएको छ । यसले विश्व समाज अब बिष्फोटको संघारमा पुगेको स्वयम् पुँजीवादी अर्थशास्त्रीहरुले स्वीकार गरिरेका छन् ।

प्रविधिको विकास देखेर हामी क्रान्तिकारीहरु आत्तिने र कहालिने होइन, वर्गसंघर्षसँगै त्यो प्रविधिलाई जनताको हातमा पुर्याउनु पर्छ । जहाँसम्म पुरानो सोच र तरिकाले क्रान्ति संभव छैन, नयाँ तरिका खोज्नुपर्छ भन्ने कुरा हो, त्यसमा कसैको दुई मत नै छैन ।

तर बुझ्नुपर्ने कुरा के हो भने आजसम्म विकसित विचार, दर्शन, सिद्धान्त, राजनीति र संगठनमा टेकेर त्यसैको सैद्धान्तिक आधारमा नयाँ विकास र प्रयोग गर्ने हो, ती सबै चटक्कै छाडेर होइन । नयाँ संश्लेषणका नाममा नयाँ सिद्धान्त बनाउने कुराको वादविवाद संसारभर चलिरहेकै छ ।

देवकोटाले भने झैं “म शुन्यमा शुन्यसरी बिलाए” भनेर शुन्यबाट सुरु गर्ने कि विकास भएको ठाउँबाट अझ विकसितहुँदै र गर्दै अघि बढ्ने यो प्रश्न हाम्रो अगाडी छ । मालेमावादीहरुले माक्र्सवादका आधारभूत सिद्धान्तहरु नछोडेर त्यसैमा विकास गरेर अघि बढ्नु पर्छ ।

विकास भएको प्रविधिको प्रयोग गर्न नपाउँदा, श्रमजीवी वर्गले आफूले उत्पादन गरेको साधन प्रयोग गर्न नपाउँदा रोग, भोक, शोकमा डुब्न पर्ने, साधन नहुँदा नांगैभुतुंगै, निरीह र कष्टकर जीवन विताउनु पर्ने अवस्थाले पछि परेको जस्तो लागेको हो ।

त्यसैले, विकसित साधन आफ्नो हातमा नआउन्जेल सरल जीवन उच्च विचारको आधारमा दीर्घकालीन लडाइँ लड्ने हो । मजदुर वर्गले ती विकसित साधन र प्रविधिहरु दीर्घकालीन लडाइँसँगै वर्गसंघर्ष र निरन्तर क्रान्ति मार्फत् आफ्नो हातमा ल्याउँछन् । सर्वहारा अधिनायकत्व त्यतिबेला लागु हुने छ र पुँजीपतिहरुको चुरीफुरी हराउँदै जाने छ ।

मजदुरको विश्वव्यापी एकता दह्रिलो भएर जाने छ । त्यतिखेर महान् गुरुहरुले भनेको संसारका मजदुर र उत्पीडितहरु एक होऔं भन्ने नारा सार्थक हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर