काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मार्क्सवादको वैज्ञानिकता र क्रान्तिको ऐतिहासिक कार्यभार विषयक विचार गोष्ठी आइतवार इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा भव्य रुपमा सम्पन्न गरेको छ ।

हार्दिक शुभकामना !

विचार गोष्ठी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले पेस गरेको ४ पृष्ठ लामो १७ बुँदे कार्यपत्र पेस गरेपछि त्यसमाथि उपस्थित अतिथिहरुबाट टिप्पणी सुझाव दिइएको थियो ।

आफ्नो कार्यपत्र प्रस्तुत गर्नु अघि किरणले यो विचार गोष्ठी कार्ल मार्क्सको द्विशतवार्षिकीका अवसरमा गरिएको कुरामाथि प्रकाश पार्दै यो कार्यपत्र त केवल उपसंहारजस्तो मात्र भएको बताएका थिए । नेपालमा कम्युनिष्ट पार्टीहरु विभिन्न धाराहरुमा विभाजित भएका र ती धाराहरुमध्ये मध्यपन्थी विचारधार केवल छोटो समयमात्र देखिने र मूलतः दक्षिणपन्थी तथा क्रान्तिकारी धारा नै लामो समयसम्म रहने गरेको कुरामा जोड दिएका थिए ।

नेपालको हालको सन्दर्भमा दक्षिणपन्थी भनिएकाहरु त एकजुट भइसकेका छन् । तर हामी क्रान्तिकारीहरु भने अझै पनि विभिन्न धारामा विभाजित रही नै राख्यौं । कार्यगत तथा पार्टी एकताका लागि पनि खुलेर बहस चलाउनुपर्ने अवस्था आइसकेकोे कुरामा उनले जोड दिए । यसका लागि छलफलका एजेण्डाहरु कम्तिमा पनि जिम्मेवार नेताहरुका बीचमा खुलेर चलाउनु पर्ने र आआफ्ना पार्टीहरुमा पनि बहसका लागि कार्यक्रम बनाएर अघि बढ्नु पर्ने कुरामाथि प्रस्तोता किरणको जोड थियो ।

किरणले आजको विचार गोष्ठीको कार्यक्रमले घरेलु तथा अन्तर्राष्ट्रिय बहस रएकतामा बल पुगोस् भन्ने कुरामा पनि जोड दिएका थिए ।
कार्यक्रममा टिप्पणी गर्दै क. आहुतीले नेपाली कम्युनिष्ट आन्दोलनको विडम्बना नै खुलेर विचार बहस नहुनु र नेताहरुको व्यक्तिगत निर्णय प्रभावी रहनु र कार्यनीतिक विषयहरु अमुक हुनु रहेको बताएका थिए ।

उनले आजको युग लेनिनको युग हो वा होइन, यसबारेमा प्रष्ट हुनुपर्ने कुरामा जोड दिएका थिए । बहस आफूले पनि लिखित रुपमा उठाइसकेकाले त्यसको अध्ययन अन्य पार्टीहरुमा पनि जरुरी भएको बताएका थिए । उनका अनुसार विज्ञान र प्रविधिको विकास यति धेरै भइसकेको छ कि अब मानिसको भूमिका गौणजस्तै हुन पुगेकाले बदलिएको परिस्थिति अनुसार क्रान्तिको मोडलमा पनि परिवर्तन ल्याउनु पर्ने बताएका थिए ।

त्यसै गरी नेकपा (मसाल)का प्रवक्ता रामप्रसाद पुरीले पार्टी कार्यगत एकता उठेका मुद्दाअनुसार हुने बताएका थिए । उनले पार्टी एकताका लागि पार्टीले अंगीकार गरेका विचार कार्यदिशाका बारेमा खुलेर छलफल गरिनु पर्ने पनि बताएका थिए ।

नेकपाका ऋषि कट्टेलले कार्यपत्रमा आएका कुराहरुमा त्यति विमति नरहेको तर पार्टी एकताका लागि माओवाद मान्ने वा माओविचार मान्नेमा नै समस्या रहेको कुरामा जोड दिएका थिए । साथै, उनले पार्टी एकताका कुरा चलिरहेको पनि बताएका थिए ।

नेकपा (माओवादी केन्द्र) का गोपाल किरातीले पुष्पकमल दाहालहरुले विचार नै परित्याग गरी एमालेमा बिलय भएका र विचार रक्षा र प्रयोगका लागि आफूहरु उभिएकाले व्यापक छलफल गरी अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।

त्यसै गरी नेकपा मालेका सीपी मैनालीले नेपालमा जति गरे पनि मात्रात्मक परिवर्तन हुने गरेको र मनोगत रुपमा सोचे पनि ठूलो परिवर्तन नआउने कुरामा जोड दिएका थिए । चाहना र क्रान्तिका कुरा नेपालको विशिष्टतामा फरक हुँदै आएको कुरामा जोड दिएका थिए ।

प्रस्तुत कार्यपत्रमा उपस्थित नेताहरुको टिप्पणी र सुझावमाथि संश्लेषणात्मक विचार राख्दै कार्यपत्र प्रस्तोता महासचिव किरणले वर्तमान समाज लेनिनकै युगको विश्लेषणअनुसार चलिरहेको र रुपमा केही फरक देखिए पनि सारभूतरुपमा फरक नआएको कुरामा जोड दिएका थिए ।

उत्पादन शक्तिमा विज्ञान र प्रविधिका कारणले आधुनिक यन्त्रहरुको जडान, श्रमिकहरुको कटौती र श्रमशक्तिको ह्रासका कुरा मार्क्सवादी विज्ञान सम्मत नभएको कुरा उल्लेख गर्दै उत्पाद शक्तिका हिसाबले निर्णायक र चालक भनेको मानव नै भएको कुरालाई नबिर्सन सजग पनि गराए ।

नेपाल अझै पनि नयाँ जनवादी क्रान्ति पूरा गर्ने चरणमा रहेकाले यसको वस्तुगत अवस्थालाई नबिर्सन पनि सुझाए ।

कार्यक्रम नेकपा (क्रान्तिकार माओवादी) का नेता सीपी गजुरेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर