आस्था र विश्वासका सतीसाल क. कुमार

आस्था र विश्वासका सतीसाल क. कुमार

क्रान्तिको सपना बाँडेर त्याग र बलिदानको भीषण आँधीमय यात्राबाट आदर्शीकरण गरिएका क्रान्तिकानायक नै आज खलनायकको भूमिका निर्वाह गर्दैछन् । खलनायक आफू उभिएको बलिदानको जगको समेत धज्जी उडाउदै आफ्ना सहकर्मीको हत्या गर्ने र बेपत्ता पार्ने अपराधीलाई छाँद हाल्नपुगेका छन्, आज । राजु बस्नेतको बढुवा गरेर क्रान्तिको सपनाको हत्या गरिरहेका छन् । आफ्नै आँखा अगाडिका यी कुरूप दृश्यहरू पत्याउन गाह्रोगाह्रो भएको छ । तर ती कुरूपको लाजहरू स्वीकार्नु हाम्रो बाध्यता भएको छ ।

आफ्नै नेतृत्वमा गरेका कयौं योजनामा सहिद र बेपत्ता बनेका योद्धाहरूमाथि योभन्दा ठूलो अपमान के हुन सक्छ ? बेपत्ताका परिवारमाथि लाठी बर्साउन आदेश दिने बाबुरामकाहर्कतले आफ्ना प्रयजन फर्केर आउने आशामा बाँचेका परिवारको सपनाको हत्या भएको छ । कवि अवतारसिंह पासले कतै भनेझैं लाग्छ, “सबैभन्दा खतरनाक हुन्छ, सपनाको मृत्यु ।” हो, सपना मार्नु हुँदैन ।

सपना देख्नु भनेको क्रान्ति र मुक्तिको आदर्शप्रति प्रतिबद्ध भैरहनु हो । ‘सपना मर्यो भने फेरि उमार्नुपर्छ’ भन्नुहुन्छ वरिष्ठ सौन्दर्यचिन्तक चैतन्य । सपनाका हत्याराविरुद्ध जुधेर नयाँ सपना उमार्न फेरि हामी नयाँ मोर्चामा उभिने आँट गर्दै गर्दा पुराना दिनहरूतर्फ फर्कन मन लाग्छ ।
क्रान्तिकारी उत्साह, त्याग, बलिदानका ती कालजेयी क्षणहरू सम्झँदा मुटु भक्कानिएर आउँछ । चारैतर्फ अन्धकार भएझैं लाग्छ । सहिदका बालसन्तती सन्देश र जुना ढकालको छोरीले ‘किन मरेका दिदी हाम्रा बाबा–ममी’ भनेर सोध्दा कुनै जबाफ छैन मसँग । कुमार थापाकी आमाले ‘मेरो कुमार यही दिन ल्याउन लडेको हो त नानी ?’ भनेको सुन्दा पनि मुटु नै फुट्लाजस्तो हुन्छ ।

ती कलिला नानीका उदीयमान सपनाभित्र आफन्त खोजेका आँखा र बेपत्ताहरू फर्कने आशामा सधै बाटो कुरिरहेका आमा–दिदीसँग आँखा जुधाउने आँट नै आउँदैन । भाग्न खोजेको पनि त हैन, तर आज क्रान्ति हारे पनि जनताले आफ्ना क्रान्ति बिम्ब वा आदर्शलाई हजारौं वर्षपछि पनि खोतलेर पुनः ब्युँझाउने छन् । महान् सहिद, हजारौं बेपत्ताको वीरता, त्याग र बलिदानलाई आदर्शीकरण गर्दै स्थापित गर्न सहकर्मीले कलम चलाउनै पर्छ भन्दै अनिल दाइले झक्झक्याएपछि केही कोर्ने प्रयास गर्दैछु ।

महासमरका हजारौं नक्षत्रले आज पनि हामीलाई प्रश्न गरिरहेछन् जस्तो लाग्छ– के तिमीहरू हाम्रा सपनामाथि न्याय गर्न सक्छौ ?बाँकी रहेको अधुरो यात्रा पूरा गर्न सक्छौ ? विगतका यिनै स्मृतिले मुटु गहु्रङ्गो बनाउँदै क्रान्ति नायकमध्ये बेपत्ता योद्धा एत बहादुरा थापा ‘क. कुमार’ लाई सम्झन पुग्छु ।

पूर्वपश्चिम राजमार्गको ज्यामिरे चोक नजिकै उत्तर तर्फको सानो झपडी, जहाँ पुग्दा हामीमध्ये धेरैलाई आफ्नै घर पुगेजस्तो हुन्थ्यो । उज्यालो अनुहार, आफू नहाँसी सधैं अरुलाई हँसाउने, सहयोद्धाप्रति निकै सद्भाव राख्ने मझौला कदको नौजवान कुमारको हाँसो आज पनि कानमा गुन्जिरहे झैं लाग्छ । कुमार मात्र हैन, त्यो घरमा आमा, बुवा, भाइ, बैनी सबैको क्रान्तिप्रतिको अगाध विश्वास हाम्रा निम्ति ठूलो प्रेरणा थियो ।

कुमारका विषयमा लेख्दा एकपटक आमाबुबालाई त भेट्नै पर्यो भन्दै ज्यामिरे पुगेँ । बाबा कता जानु भएको रहेछ, भेट भएन । आमासँग भेट भयो । मलाई देख्ने बित्तिकै आमाले आँखाभरी आँसु टिलपिल पार्दै ‘नानी, तिमीहरूलाई देख्दा मेरो कुमार पनि यतै घुमिरहेको झैं लाग्छ’ भन्दा मुटु टक्क रोकिए झैं भयो । कति पीडादायी हुन्छ अथाह प्रतीक्षामा तड्पिनु । सेतै पूmलेकी आमा, चिनी रोगका कारण दृष्टिविहीन बुवा छोरो फर्कने आशमा मृत्यु कुरिरहे झै लाग्छ । मैले आमाको यो अवस्था देखेपछि कुरा कोट्याएर झनै पीडा थप्ने आँट गर्न सकिन । खाटा बस्न थालेको घाउमा मलमल गाउन नसके पनि घाउ बढाउने आँट आएन ।

आमा एक्लै बर्बराउनु हुन्छ, ‘तेरो कुमार आउँदैन बाटो नहेर भन्छन् नानी मलाई ।’ आमाको मन त्यो कुमार मान्न तयार छैन । कि सास कि लास नभै म कसरी पत्याउनु ? ‘आज यस्तो हुनुरहेछ, त्यसले सानैबाट मलाई धेरै माया गथ्र्यो’ भनी रुन थाल्नुभयो आमा । पीडामय सामना गर्न नसकी केहीबेर सम्झाएर बाटो लागें । त्यो दिनमा मलाई दिन भर घाम नलागेझैं भयो । भारतीय दलाल भैसकेका बाबुराम–प्रचण्डलाई यस्ता आमाको आँसुको के अर्थ ? यस्तो सोचाइमा दिनभर तड्पिरहें ।

सधै ठट्टा गर्दै अरुलाई हँसाउने कुमारका आफन्तका आँखा अझै ओभाउन सकेका छैनन् । ‘आमा र दिदीबहिनीलाई सानो हुँदादेखि नै बढी सम्मान गर्थे कुमार,’ भनी सम्झनु हुन्छ छिमेकी दिदीहरू । चितवन जिल्ला पार्टीमा सेना निर्माणको प्रश्नमा चलेका बहससँगै निर्माण भएको स्क्वायड सदस्य कुमार सबै उमेर समूहका प्रिय थिए भने गल्ती गर्नेहरूका निम्ति डरलाग्दो मान्छे ।

बाल्यकालदेखि नै विद्रोही स्वभाव र विवृmतिसँग जुध्ने कुमारको बालसखाहुँदै सहकर्मी महिला नेत्री सावित्री आचार्य ‘अस्मिता’ त्यसरी सम्झनुहुन्छ –‘गाउँका दिदीबहिनी स्वूmल गएनगएको र फिल्म हेर्न गएकोमा चियो गर्दै हिँड्नुहुन्थ्यो ।

उहाँको आँखा छलेर कोही हलसम्म पुग्यो भने पनि हलबाटै थुतेर टाँडीबाट गाडी चढाएर घर फर्काइदिने हुँदा फिल्म हेर्न हलमा जान हामी खुब डराउँथ्यौं । सामाजिक विवृmतिविरुद्ध जुध्दै उत्पीडितहरूका पक्षमा बोल्ने हुँदा सबैले केही परेमा सानोमै कुमारलाई खोज्ने गरेको सम्झनुहुन्छ अस्मिता ।

गाउँका युवाहरूका प्रिय कुमार, जो सबै साथीलाई ‘लामा’ भनी बोलाउने गर्थे । मिल्नेमध्येका बालसखा ज्ञानु विसुराल आफ्नो सबैभन्दा मिल्ने साथी नै कुमार हो भनी विगतलाई यसरी सम्झनु हुन्छ, ‘पढाइमा थोरै अगाडि भएपनि सँगै पार्टी सङ्गठनमा सङ्गठित हुँदै काम गरियो । निडर, जुझारु र बहुमुखी प्रतिभा भएको छुट्टै खालको मान्छे ।

सङ्गठनको काम भनेपछि जहाँसुकै जसरी पनि पुग्नु पर्ने ।’ क. कुमारको लक्ष्यप्रति गर्व गर्नुहुन्छ ज्ञानु दाइ । सबैलाई सम्मान गर्ने, मिलनसार र निडर कुमारजस्तो साथीभएकै कारण पनि पार्टीको धेरै कामभएका सम्झनुहुन्छ उहाँ । 

आमाले कुमार र मलाई मेरा छोराहरू भन्नुहुन्थ्यो । त्यो आजसम्म पनि कायम छ भनी बाल्यकालतिर फर्कनुहुन्छ उहाँ । त्यसताका पार्टीका सबै तहका नेताकार्यकर्ताको प्रिय ज्ञानु दाइ नै कुमारको गिरफ्तारीको खबर पाउने पहिलो व्यक्ति हुनुहुन्थ्यो । प्राविधिक विभागका कमान्डर क. कान्छाले उक्तखबर दिएपछि तत्कालीनशाही नेपाली सेनामा जागिरे दाजुलाई जानकारी दिएर खोज्न भने पनि सङ्कटकालको मध्यअवस्था, ‘माओवादीको आफन्त’ भनी थाहापाएमा आफूलाई समेत खतरा हुने स्थितिका कारण सेनाको उच्चतहका व्यक्तिसँग रहे पनि भाइको खोजी गर्न नसकेको स्वीकार्नु हुन्छ कुमारका दाजु ।

राजनीतिक कारण मात्र नभै समाजमा आफ्नो छुट्टै पहिचान बनाएको कुमारजस्तो योद्धाको बलिदान र वर्तमान स्थिति हेर्दा धेरै पीडा हुने बताउनुहुन्छ ज्ञानु । कुमारको सपना, दृढता, बलिदानयतिको निम्ति हैन । आज ठूलो धोका भएको मान्नुहुन्छ उहाँ । आज पनि कुमारको घर जाँदा आमाले कुमार झैं गरेको र आमाको आँसुको जबाफ दिन नसकेकोमा त्यो घरमा जाने आँटै आउँदैन भन्दै भावुक बन्नुहुन्छ ।

कुमार दाइ, आज पनि तपाईलाई सझँदा धेरै सहयोद्धाहरू, प्रियजनहरू भावविवल हुन्छन् । ताजा बनेर आउँछन् हरेक स्मृतिहरू । तोरी खेत बन्दुक कब्जा गर्न जाँदा पन्चर भएको साइकल काँधमै बोकेर भएपनि समयमा फिल्ड पुग्ने तपाईको अठोट, कुमरोज सानाकिसान बैङ्क कब्जा गरेर फर्कदा गाउँको केटी भगाएको आशङ्कामा थारू दाइहरूको आक्रोश साम्य पार्ने तपाईको कला, कारबाहीको निसाना छनोटपछि जसरी पनि फत्ते गरिछाड्ने तपाईको प्रतिबद्धता, सैन्य तालिममा थकित मान्छेहरूलाई उत्साहित बनाउँदै दौडाउने तपाईको स्पिरिट, जनवादी दसैं मनाउन गमबहादुर दाइको घरमा रमाइलो गरेर नयाँ सांस्वृmतिक चेतना भर्ने तपाईको वर्गीय दृष्टिकोण … … । यस्ता प्रेरणाका स्रोत तपाई हाम्राबीच नहुँदा पछाडि धेरै कुरा छुटेजस्तो लाग्छ ।

कुमारलाई नजिकबाट चिन्ने पूर्वी चितवनको एक कुशल नेतृत्व रहनुभएका हरिकृष्ण खनाल यसरी सम्झनुहुन्छ विगतलाई–“उमेरसमूहअनुसार समाजका सबैलाई आदरसम्मान गर्ने र कहिल्यै नथाक्ने विशिष्ट मान्छे हो ।” हरेक जटिलतालाई सहजतामा बुझ्ने, सधैं अरुलाई हँसाइरहने, हाँसिरहने र कहिल्यै निराशनहुने अद्भूत क्षमता थियो, भन्नुहुन्छ उहाँ ।

घरको काम सकेर रातभर पार्टी काममा सँगै कुदेको, सँगै बासीभात बाँडी खाएका दिनदेखिका सबै घटना स्मरण गर्दै समर र कुमारजस्ता मान्छे पार्टीमा बचाउन सकेको भए कस्तो हुन्थ्यो भनेर भावुक बन्नुहुन्छ, उहाँ ।

अहो कति उत्साहजनक थिए ती दिनहरू  कमान्डरको एकै आदेशमा जे गर्न पनि तत्पर हुने कुमारलगायतको युवा टोलीलाई ‘ज्यान छाडा टोली’ को उपमा दिनुभएको थियो समर दाइले । कति धेरै भावनात्मक एकता थियो हामीमा । हिजो हरेक राजनीतिक कार्यमा गुरू बन्ने समर दाइ र फौजी काममा सहयोग गर्ने, साइकल कुदाएर भनेको ठाउमा सङ्गठन बनाउन कुदाउने कुमार दाइहरूको कमरेडली भावना आज उदाहरणीय बनेको छ ।

समर दाइको त्यही ज्यान छाडा टोली मध्येका एक प्रकाश खनाल ‘शैलेश’ यसरी सम्झनुहुन्छ कुमारलाई, ‘चितवनको सेना निर्माणको सबालमा पार्टीभित्रका आत्मसुरक्षावादीहरूलाई दह्रो झापड दिँदै क्रान्तिप्रति दृढतापूर्वक लडेको दृढ, साहसी, इमान्दार र एक कुशल सेना हो उहाँ ।’

यसैगरी कुमारसँगसँगै यात्रा गर्ने कञ्चन खनाल ‘आफ्नो वर्गप्रति इमान्दार, लक्ष्यमा ढृढ, श्रमलाई सम्मान गर्ने र शरीरको अङ्ग गुमाउदा समेत हाँसिरहने, कहिल्यै नरिसाउने एक विशिष्ट पात्र हो’ भन्नुहुन्छ । जनता र सहकर्मीहरूको मात्र हैन, नेतृत्वको समेत प्रिय क. कुमारलाई अग्रज श्याम दाइ, ‘जनजातिभित्र त्यति धेरै ढृढसंकल्पित, लगनशील र निपूर्ण कार्यकर्ता पार्टीमा मैले कमै मात्र देखेको छु’ भन्नुहुन्छ ।

हामी सबैका प्रिय क.कुमार प्राबिधिक विभागको टिममा जानुभयो भने हामी जेल परेपछि उहाँसँगको निकट सहकार्य टुट्यो र अलगअलग मोर्चा सम्हाल्न थाल्यौं । १० वर्षे भीषण वर्गसङ्घर्षमा फेरि भेट नहुदै उहाँ दुश्मनको कब्जामा पर्नुभयो । गद्दार हीरा प्याकुरेल ‘सन्दिप’ले कब्जा गर्ने दिनसम्म सबभन्दा निकट काम गर्नु भएका गोर्खा नाम्जुङका क. नवीन नेपाली कुमार आफ्नो आदर्श भएको बताउदै विगतका ती गर्बिला दिनहरूको स्मरण गर्नुहुन्छ ।

२०५१ सालबाट पूर्णकालीन बनेका नवीन चितवनको पहाडी गा.वि.स. कोराकका स्थापित क्रान्तिकारी नेता गमबहादुर दाइको घरमा पिपुल्स वारका भाइचाराद्वारा २०५४ सालमा प्रदान गरिएको तालिममा भेटेको दिनदेखि दुश्मनको कब्जामा पर्ने बेलासम्मका थुप्रै सुखद र पीडादायी क्षणहरूको स्मरण गर्नुहुन्छ ।

२०५५ सालमा क. कान्छाको नेतृत्वमा तीन सदस्य हतियार निर्माण टिम बनेपछि पहिलोपटक ३६ मोडेलको ग्रिनेट बनाएको सम्झनुहुन्छ उहाँ । हतियार निर्माणमा विशेष रुचि राख्ने र निरन्तर काममा खटिरहने कुमारको लगनी गर्व गर्न लायक छ भन्नुहुन्छ नवीन । थुप्रै हतियारहरूको अध्ययन गर्दै प्रयोगमा जाँदा २०५७ सालमा हामी आफैले Ïयाक्ट्री मेड ग्रिनेट बनयौं ।

ग्रिनेट सफलभएको दिन कुमार खुशीले रातभर नसुतेको सम्झनुहुन्छ नवीन । उक्त ग्रिनेट परीक्षण गर्दा सेती नदीको बगरमा हातमै पड्केर उहाँको दाहिने हातको हत्केला पूरै गयो । त्यही ग्रिनेट प्रयोग गर्दा चितवन खैरहनी, मगनीचोकको घटनामा क. उत्तर कुमार गुरुङको सहादत, क. सुभाषको दाहिने हातको हत्केला र सुमनले एउटा आँखा गुमाउनु परेको थियो ।

बेहोस् अवस्थाबाट पोखराको सिटी अस्पतालमा उपचारका क्रममा अत्यधिक रक्तश्रावका कारण धेरैपटक कुमारको आश मारेको बताउनुहुन्छ नवीन । होसमा आइसकेपछि उहाँको उपचार गर्ने श्रेष्ठ थरका डाक्टर उहाँको साहस देखेर आश्चर्यमा परेका थिए । ‘मेरो एउटा हातको हत्केला मात्रै त गएको हो, अर्कोहात सिङ्गै छ । मेरा आँखा सग्ला छन् । यसले अझ धेरै बम बनाउन बाँकी नै छ ।’ भनेर सहकर्मीहरूलाई हँसाउनुहुन्थ्यो ।

घाइते अवस्थामा पनि उहामा निराशा कहिल्यै छाएन । उहा आफ्नो भन्दा पनि चितवनमा भएको घटनाप्रति बढी चिन्तित हुनुहुन्थ्यो । पछि उपचारका क्रममा छिमेकी देश भारत लगेर नक्कली हात राख्नखोज्दा ‘यो खर्चले कति धेरै बम बन्छ । हस्पिटलमा हुने खर्चले मलाई डिटोनेटर किनिदिनोस् ।’ भन्नुभएपछि उपचारै नगरी फर्कियौं । क्रान्तिप्रतिको समर्पणभाव कति धेरै उच्च थियो कुमारमा ।

त्यत्रो समर्पण भाव भएका क. कुमारलगायतका घाइतेहरूमा उदात्त सपनाहरू र पर्दा र पैसाका लागि विचार बेच्ने पाखण्डी र दलाल नेताहरू अहो कहाँ आइपुगियो आज  कुर्सीका निम्ति हतियार छाडे, सेना बुझाए, आफ्नो आदर्शहरू छाडे । अनायासै चिच्याउन मन लाग्छ, ‘खै कहाँ छन् घाइतेका सपनाहरू ?’

Motion to motion and rest to Motion हरेक फायरमा लागू हुन्छ भनेर कुमार बारम्बार भन्ने गर्नुहुन्थ्यो’, क. नवीन सम्झनुहुन्छ, ‘यस्तो सुनेर कान्छा र म दङ्ग परेका थियौं तर अध्ययनगर्दै जाँदा यो त क्षेप्यास्त्र प्रक्षेपण विधि पो रहेछ ।’

कुमारको यस्तो ज्ञान देखेर सहकर्मीहरू चकित हुन्थे । यही सिद्धान्तअनुसार तीफदि निर्माण भयो । थ्रि नट थ्रिको बुलेट लाग्ने यो हतियार बनेर सफल हुँदा अनौठो खुसी छायो । नवीन अझै सझँदै भन्नुहुन्छ, ‘हामी तीनमध्ये सबभन्दा राम्रो फिनिसिङ्ग कुमारको हुन्थ्यो । हाम्रो घरेलुजस्तो, कुमारको Ïयाक्ट्री मेडजस्तो ।

२०५५ देखि २०५८ सालसम्म सबैभन्दा तीब्रतामा हाम्रा काम भए । थुप्रै नयाँ प्रविधिको चामत्कारिक ढङ्गबाट विकास भयो । पछिल्लो चरण उहाँले गरेका थुप्रै विकास प्रयोगमा आउन पाएनन् ।’ कुमार भन्नुहुन्थ्यो, ‘झोलाको चेन, कलम, फुलदानी हरेक पाइला पाइलामा बम बनाएर पड्काउन सकिन्छ ।’

हाम्रो पार्टीको बम विशेषज्ञ नै हुनुहुन्थ्यो क. कुमार । सायद पछिल्लो चरण कुमार दाइलाई बचाउन सकेको भए लडाइँ अर्कैतर्फ जान्थ्यो होलाभन्दै सहकर्मी नवीन भक्कानिँदा मन चिसो र तरङ्गीत भयो । कुमारलाई गद्दारहरूको हातबाट बचाउन नसकेकोमा नवीनले दुःखानुभूति गरिरहनुभयो ।

२०५८ पुसको महिना, कठ्याङ्ग्रिने जाडो । नवीन तरकारी किनेर फर्कदै हुनुहुन्थ्यो । कुमारको पेजरमा सन्देश आयो । कुमारले फोनगर्दा सन्दीपले आपूmदुश्मनको घेरा तोडेर आएको र गम्भीर घाइते भएको भन्दै बचाउनका लागि अनुनयगर्दै पोखराको कार्की मेडिकलमा बोलायो । सन्दीपको खबरले कुमार गम्भीर बन्नुभयो र जाने तरखर गर्न थाल्नुभयो । ‘दुश्मनको षड्यन्त्र हुनसक्छ, नबुझी नजाऔ भनेर नवीनले भन्नुभयो तर कोमल हृदयका धनी कुमार सन्दीपको विश्वासमा आउनुभयो ।

नवीनले जान रोक्दा ‘घेरा तोडेर आएको सहयोद्धालाई जोखिम मोलेर पनि बचाउनुपर्छ’ भन्दै उहाँ गद्दारीको शिकार बन्नुभयो । दुश्मनको पञ्जाभित्र पर्नुभयो । एक कुशल कमाण्डरको उदार भावनामा गम्भीर घात भयो । गद्दारीको सिकारसँगै आफ्नो बसेको कोठा सन्दीपले समेत देखेका कारण हतियार ड्रम गरेको स्थान छलेर कोठामा रहेका सीमित सामानमात्र उहाँले देखाउन बाध्य भएको कुरा उहाँका सहकर्मी सहयोद्धा नवीन बताउनु हुन्छ । राजनीतिक जीवनका प्रिय सहयोद्धा क. कान्छा आफ्नो र क. कुमार दुवै नहुँदा भीडमा पनि एक्लो भएको दुःखेसो छ नवीनको ।

हामी एउटा महान् सूर्य उमार्नका लागि होमिएका थियौं । हाम्रा दायाँबायाँका थुप्रैथुप्रै योद्धाहरू सहिद भए, बेपत्ता भए । मन र तनका घाइतेहरूको धर्तीमा निरन्तर गुन्जिरहेको छ । चिसोपानी छर्केर त्यो थामिने पनि छैन । लाग्छ हामी भयङ्कर तारेभीरको खोंचतिर वmुनै डुन्डुरोको बीचमा पुगेका छौं । त्यो डरलाग्दो हो ।

झनै डरलाग्दो श्रवण हुँदैछ । दृष्टि क्षितिजमा भयङ्कर कालो मुस्लो दृश्यावलोकन हुँदैछ । यस्तो बेला गद्दारहरूले विश्वासघात गर्न सक्छन्, कायरहरू भाग्न सक्छन् । हामीआफैं शरीरको धुलोमैलो टक्टक्याएर उठ्नेछौ“ र सहिद र बेपत्ताका सपनाहरूको रक्षाको झण्डा फहराउने छौँ ।

(साभारः समर प्रतीक, वर्ष ३, अङ्क २, पूर्णाङ्क १०, मंसिर २०६९)