‘फानी’ ले पारेको पानी

प्रकाशित मिति : २०७६ बैशाख २०

काठमाडौं । हिन्द महासागरसँग जोडिएको विशाल देश भारतमा फानी नामक चक्रवात वा टार्नाडोले निकै तबाह मच्चाएको छ । भारतका १७ वटा जिल्लाहरुमा वितण्डा मच्चाइरहेको यो फानी चक्रवात हावाहुरीको असर हिमालयसम्म फैलिइरहेको छ । वैज्ञानिक तथा मौसम विदका अनुसार ‘फानी’ नेपालमा सिधै त आउने छैन, तर यसको मैसमी प्रभाव भने पर्ने छ ।

शनिबारसम्म मौसममा बदली आइरहने र मौसम बदलीसँगै केही हावाहुरी र पानी पनि पर्ने जलवायु पूर्वानुमान महाशाखाले जनाउ दिएको छ । महाशाखाका अनुसार नेपालमा शुक्रवार र शनिवार दुई दिनसम्म यसको असर रहने छ ।

देशका सबै भागहरुमा यसको असर रहने भएकाले पूर्वी, मध्य र पश्चिमी नेपालमा यसको असर सामान्य देखिने छ । त्यो भनेको केही हल्का वर्षासहित हावाहुरी चल्ने छ । अपवादमा कतै बढी पानी पर्ने र हुरी आउने संभावनालाई पनि नकार्न सकिएको छैन ।

देशको हिमाली क्षेत्रमा भने यही निहुँमा केही पातलै भए पनि हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

फानी चक्रवातको असर केही थोरै दिन मात्र रहने हुनाले आइतबारदेखि भने मौसम सामान्य रहने बताइएको छ । भारतमा चलिरहेको फानी चक्रवात बंगालको खाडीबाट उठेर उडिसा राज्यमा प्रवेश गरिरहेको छ ।