‘चारतारे’ र ‘लालतारे’ को मिलेमतो

‘चारतारे’ र ‘लालतारे’ को मिलेमतो

काठमाडौंं । काङग्रेसलाई चारतारे र आफ्नै पार्टीकालाई लालतारे नामाकारण गरेर बालुवाटार जग्गा प्रकरणका मुछिएकाहरु कसैलाई पनि नछाड्ने भन्ने सञ्चार मन्त्री गोकुल बाँस्कोटा अहिले आफै नै माफियाको फन्दामा परेका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बोलेका बाँस्कोटालाई बालुवाटारबाटै ‘आइन्दा यसो बोलेमा …’ भन्ने तार खबर आएपछि उनी चूपचाप लागेका हुन् ।

दोषी सबैलाई कारबाहीको दायरामा ल्याउने भने पनि त्यसको चालक र ल्याकत अन्यत्रै भएकाले बाँस्कोटालाई बोलिपासो भएको छ । उनले उक्त घटना सरकार आफैंले छानबिन समिति बनाएर तथ्य बाहिर ल्याउने भन्दै बालुवाटारतिरै औलो सोझ्याएका थिए ।

बालुवाटारका स्रोत अनुसार लडाइँका बेला ‘रामले घाइते लक्ष्मण बचाउन जञ्जीवनी बुटी लिन जाऊ भनेका भरमा हनुमानले सिंगै पहाड नै बोकेर ल्याएको’ जस्तो गरी बाँस्कोटाले कुरा सार्वजनिक गरे पनि सरकारी पार्टीका महासचिव विष्णु पौडेललगायतकालाई बचाउने गरी छानबिन समितिले काम गरिरहेको खुलासा हुन आएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा अरु मन्त्रालयका निर्णयहरु भन्दा आफ्नै कुराले मिडियामा स्थान पाओस् भनेर चतुर्याइँ गरेका बाँस्कोटा ‘बाठो स्यालको कथा’ को पात्र बन्न पुगेका छन् ।

उनले सावर्वजनिक गरेका सरकारी निर्णयहरुमा हातहतियार खरखजाना नियमावली, २०२८ को अनुसूचि ११(क) संशोधन गर्ने, पन्ध्रौ योजनाको आधारपत्र स्वीकृत गरिएको, साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निर्माण लागि उपलब्ध ऋण सहायता स्वीकार गरिएको, स्थानीय तहमा सफ्टवेयर लागू गर्ने निर्णय गरिएको, दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना, फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति, महाकाली सिँचाइ आयोजनाको नहर निर्माण आदिका लागि राष्ट्रिय वन क्षेत्र फडानी गर्ने निर्णय गरिएको बताएका थिए ।

यसका साथै कर्मचारी मोटिभेसनका लागि प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने निर्णय गरिएको बताएका थिए । सैनिक प्राविधिक सेवा नियमावली, २०७५ स्वीकृत गरिनु का साथै सुशासन ऐन, २०६४, संघीय संसद्समक्ष आर्थिक वर्षमा पेस गर्ने, सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गर्ने निर्णय भएको बताएका थिए ।