सहीद मित्रमणि आचार्य : एक अविस्मरणीय व्यक्तित्व

प्रकाशित मिति : २०७६ बैशाख २०

- चन्द्रहरि सुवेदी

चितवन जिल्ला पार्टीले शहीद स्मृति ग्रन्थ निकाल्ने निर्णय गरेर मलाई मित्रमणि आचार्य बारे लेख्ने जिम्मा दिएको छ, खुसी लाग्यो । मित्रमणि शहीद भएको ३५ वर्ष हुनै लाग्दा पनि उहाँ चितवनको मात्र नभएर देशकै अजर अमर शहीदको कोटीमा पर्नेमा एक हुनुहुन्छ । राणा शासनदेखि ०४२ सम्मको अवधिमा देशमा शहीद हुनेहरू एक सतकभित्रै पर्ने हुँदा मित्रमणि उच्चकोटीका विद्यार्थी शहीद नेतामा पर्नुहुन्छ । महान् माओले भन्नु भएझैँ “कसैको मृत्यु चराको प्वाँख जस्तै हलुका र कसैको मृत्युलाई पहाड जस्तै गह्रुङ्गो हुन्छ” भने जस्तै मित्रमणिको मृत्यु हिमाल जस्तै गह्रुङ्गो मृत्यु हुन पुगेको छ ।

२०१९ असार ११ गते प्यूठान जिल्लाको रम्दी गा.वि.स. वडा नं. २ तीघ्रामा बुवा रेशमराज आचार्य र आमा पिताम्वरदेवी आचार्यको कोखबाट उहाँको जन्म भएको थियो । उहाँमा सानैदेखि नेतृत्वमा हुने गुण भएकै कारण विषयवस्तुलाई पकड्ने, बुझ्ने, गर्ने भएकैले पक्लिहवा कृषि क्याम्पस र रामपुर कृषि क्याम्पसमा स्व.वि.यू. सभापति जस्तो विद्यार्थीहरूको साझा संगठनको नेता छानिन सक्नुभयो । मित्रमणिबारे धेरैले धेरै कुरा लेखे, कसैले जवर्जस्ती आफ्नो पंक्तिमा पार्ने असफल प्रयास पनि गरे । शहीद सबैको साझा सम्पत्ति हुन्‚ लक्ष्य र उद्देश्य मिल्नेहरूले शहीदले देखाएको बाटोमा जीवनपर्यन्त हिँड्नु शहीदप्रति साँचो अर्थको सम्मान गर्नु हो ।

मैले मित्रमणिलाई सबैभन्दा बढी चिनेको छु भनेर घमण्ड त गर्दिन, तर तात्कालीन चितवन जिल्लामा सवा वर्षको अवधिमा जति घुलमिल भएर काम गरियो‚ एकदमै निकटमध्येको एक म पनि हुँ । २०४० साल कार्तिकमा माउ पार्टी चौथो महाधिवेशनमा फूट भएको थयो । विद्यार्थी संगठनमा त्यसको असर पर्ने नै भयो । हामीले छोटो अवधिको लागि एउटा आयोजक समिति बनाएर ०४० माघमा आठौं अ.ने.रा.स्व.वि.यू. चितवन जिल्ला अधिवेशन गर्यौँ । म वीरेन्द्र क्याम्पसमा डिप्लोमामा पढ्थेँ । मित्रमणि आचार्य रामपुर क्यामपसमा बिएससी.एजी.मा पढ्नुहुन्थ्यो । म अध्यक्ष र मित्रमणि उपाध्यक्ष भएर अखिलको १ वर्षे जिल्ला समितिको कार्यकाल अत्यन्तै सफलताका साथ बितायौँ । त्यही साल ०४० चैत्रमा भारतको गोरखपुरमा अखिलको आठौँ राष्ट्रिय सम्मेलन भयो र मित्रमणि केन्द्रीय सदस्य पनि चुनिनु भयो ।

०४१ माघमा नै चितवनको अ.ने.रा.स्व.वि.यू. को नवौँ जिल्ला सम्मेलन भयो र टीका पोखरेल अध्यक्षमा चुनिनु भयो । हामी १३ जनाको जिल्ला समितिले त्यतिखेर टिमबद्ध भएर चितवनका सबै क्याम्पस र मा.वि. मा बनाएका संगठनमा बस्ने साथीहरू आआफ्नो क्षेत्रमा अहिले पनि नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । ०४० माघदेखि ०४१ माघसम्म एउटै जिल्लाको समितिमा बसेर बिताएका मित्रमणिसँगको निकै अविस्मरणीय छन् ।

०४० सालमा चौथो महाधिवेशन फुटेपछि पार्टीले राष्ट्रिय सम्मेलन गर्यो । र, पार्टीको नाम मशाल राख्यो । एक वर्षको तयारी गरेर आयोजक समिति बनाएर ०४१ मंसिरमा भारतको अयोध्यामा पाँचौँ महाधिवेशन सम्पन्न गर्यो । मोहनविक्रम सिंहलाई महाधिवेशनले कार्वाही गर्यो । र, मोहन बैद्यलाई महासचिव छान्यो । विश्व विद्यालयलाई किल्ला बनाऔँ भन्ने महान लेनिनको भनाइबाट प्रभावित भएर देशभरका ठूला क्याम्पसहरू अखिलका किल्लामा परिणत भएका थिए । भूमिगत पार्टीका नेताहरू क्यामपसका विद्यार्थीका कोठामा गुप्त रूपमा सेल्टर लिन्थे ।

क्याम्पसमा पार्टीका शाखाहरू खोलिएका थिए । मित्रमणि आचार्य रामपुर क्याम्पस पार्टी शाखाको सदस्य हुनुहुन्थ्यो । त्यतिखेर पूर्णकालीन कार्यकर्तालाई आर्थिक अभाव निकै हुन्थ्यो । सरल जीवन र उच्च विचारका सम्वाहक मानिन्थे नेताहरू । कृषि र पशु विज्ञान अध्ययन क्याम्पस देशभरिकै एउटा मात्र थियो रामपुरमा । देशभरिका विद्यार्थीहरू पढ्न आउँथे । घर छोडेर होस्टलमा बसेर प्रबेश परीक्षामा पास गरेर नाम निकालेर पढ्न चानचुने विषय थिएन । प्रायः मध्यम वर्गीय परिवारबाट पढ्न आएका हुन्थे ।

२०४० सालसम्म चौथो महाधिवेशन नफुट्दासम्म देशमा ने.क.पा.(मशाल) समर्थित विद्यार्थी अखिलको पहिलो शक्ति थियो । त्यसमा पनि रामपुर क्याम्पस गढ नै थियो । चितवनमा पुरानो पुस्तामा कांग्रेसको प्रभाव बढी थियो । रामपुर क्याम्पसमा कम्युनिष्ट विद्यार्थी बढी हुनु र कांग्रेसहरूलाई असैह्य हुन्थ्यो । स्व.वि.यू. निर्वाचन भएदेखि नै अखिलले जित्दै आएको थियो । त्यसमा पनि सबैले प्यारो माइला दाइ भनेर बोलाउने मित्रमणिको कुशल नेतृत्वले गर्दा कम्युनिष्ट विद्यार्थीहरूको गोलबन्दता लोभलाग्दो थियो ।

हरेक साल क्याम्पस छोडेर फिल्डमा जाने विद्यार्थीहरूलाई आन्तरिक विदाई कार्यक्रम हुन्थ्यो । ३ वर्षसम्म होस्टलमा बस्दा जोडिएका निजी सामान लगाउने कपडा, सिरक डस्ना‚ रहरले चलाउने साइकल विदा भएर जाने विद्यार्थी कमरेडहरूले पार्टीलाई चन्दा दिएर जान्थे । पूर्णकालीन कार्यकर्ताको महत्व र उनीहरूको आवश्यकताबारे जाने साथीहरूलाई संयोजन गरेर क्याम्पसको पर्खालबाहिर खुशीराम पाख्रिनको टोलमा पार्टी केन्द्रबाट आएका प्रतिनिधिको साथमा मित्रमणिले महत्व बुझाउने गर्नुहुन्थ्यो ।

त्यसबाट पार्टीको महत्वपूर्ण गर्जो टर्ने गथ्र्यो । “राम्रो मानिसलाई भगवानले पनि छिट्टै लान्छन्” भन्ने नेपाली उखान क. मित्रमणिमा लागू भयो । २२ वर्षको कलकलाउँदो ठिटो, अग्लो कदको, झ्याप्प दाह्री आएको बाहिरबाट हेर्दा प्रोढ र अभिभावक जस्तो देखिनुहुन्थ्यो । बाँचिरहनु भएको राम्रो नेतृत्वमा विकास गर्ने सम्भावना थियो । उहाँको कमिलाको फूलजस्तो साह्रै मिलेका राम्रा अक्षर देखेर त्यस्तै लेख्न पाए हुन्थ्यो भन्ने इच्छा लाग्थ्यो । त्यतिखेर रामपुर क्याम्पसबाट उत्पादित थुप्रै विद्यार्थीहरू पूर्णकालीन नेता तथा कार्यकर्ता बनेका थिए ।

“तपाई पनि पूर्णकालीन बन्नुपर्छ यति राम्रो लेख्ने मानिस सर्कुलर लेखेर केन्द्रीय कार्यालयमा बस्नुपर्छ” भन्दा हेरौँ के हुन्छʼ भन्नुहुन्थ्यो । जे होस् नयाँ जनवाद, समाजवाद र साम्यवाद सहीद मित्रमणि हिंडेर देखाएको बाटो हो जसले निरन्तर उक्त बाटोमा हिँड्छ उसले मात्र मित्रमणिलाई सच्चा अर्थमा श्रद्धा गरेको ठहर्छ । साम्राज्यवाद, प्रभुत्ववाद, विस्तारवाद, संशोधनवाद र संसदवादप्रति उहाँको तीब्र घृणा थियो । क्रान्तिको बाटो विराएकाले मित्रमणिको बखान नगाए हुन्छ ।

महान् मार्क्सले भने झैँ “कसैको गुणको तारिफ गर्न समय खेर नफाल, बरु उसको गुणलाई अपनाउने गर” भन्ने भनाइलाई आत्मसात् गर्नु जरुरी छ । कांग्रेसी विद्यार्थी संगठन ने.वि.संघले क. मित्रमणिको हत्या गरे पनि उनीहरूले हारेका छन् । पुरातनपंथी र प्रगतिशील पक्षको लडाइमा प्रगतिशील पक्ष हावी छ । संशोधनवादी र संसदवादीहरूको बोलवाला भए पनि जनताले कम्युनिष्ट भन्नेहरूलाई मन पराएका छन् । जनता सबैले सिद्धान्त बुझ्ने कुरा भएन ।

गलत तत्वको भण्डाफोर गर्नै सही सिद्धान्तनिष्ट कम्युनिष्टहरूलाई अगाडि बढाउनु आजको आवश्यकता हो । मित्रमणिबाट प्रेरणा लिने कुरा यही हो । मित्रमणिलाई मारेर ने.वि.संघलाई बलियो बनाउँछु भन्नेहरूको सपना चक्नाचुर भएको छ । मित्रमणिलाई मार्ने ५० जना जति हत्याराहरूको मिसिल अहिले पनि अदालतमा सुरक्षित छ ।

४० को दशकमा क्रियाशील हरेक चितवनवासीको आँखामा उनीहरूको अपराध टलपलाइरहेको छ । मार्नेले कहिले पनि जित्दैन मर्नेले जित्छ । प्यूठानको विजुवार र रामपुर क्याम्पसको प्राङ्गणमा अहिले पनि भर्खरै बोल्लाजस्ता मित्रमणिको शालिक हत्याराहरूलाई चुनौति दिँदै खडा छ । बाचुञ्जेल पनि मित्रमणिका कोही व्यक्तिगत शत्रु थिएनन् । मार्नेहरू पनि हत्या गरिसकेपछि पश्चाताप गर्न बाध्य छन् ।

बाचुञ्जेल हत्याराको कालो टीका निधारमा लाएर हिँड्न बाध्य छन् । मित्रमणि ध्रुबतारा झैँ अरू चम्किलो बन्दै जानेछन् । क्रान्ति सम्पन्न भएको छैन । मित्रमणिसँगै कुटाई खाएर मर्यो भनी फालिएका टीका पोखरेल, विजय भुजेल, गितामणि पाण्डे र विष्णु थापा अझै हुनुहुन्छ ।

मानिसले बोलेर मात्र हुँदैन, अन्त्यसम्म शहीदले देखाएको बाटोमा हिँड्नु ठूलो कुरा हो । मित्रमणि घाइते हुँदादेखि हस्पिटल ल्याउने, १९ गते विहान (राती) २ बजेर ५ मिनेट जाँदा भरतपुर हस्पिटलमा मृत्यु हुँदादेखि पञ्चायती कालरात्रीमा जुलुशमाथि प्रतिबन्ध लागेको बेला १०० जनाको जुलुश पनि ठूलो हुने बेलामा मजदुरहरूको महान चाड मई दिवसको दिन २०४२ बैशाख १९ गते चितवनमा ३० हजारको विशाल शवयात्रा निकालेर राती ९ बजे मध्य तराई उपकेन्द्रको तर्फबाट महान् लेनिनको भनाई सापट लिँदै “मानिस जव राजनीतिक रूपमा टाट पल्टिन्छ, तब ऊ गुण्डागर्दीमा उत्रिन्छ” भन्ने भनाई राखेर श्रद्धाञ्जली दिएको घटना ऐले जस्तो लाग्छ ।

जबकि २०७६ साल बैशाख १८ गते ३५ वर्ष पूरा भइसक्नेछ । मित्रमणि समकालीन सहयोद्धा, समर्थक, शुभचिन्तकहरूले त मित्रमणिबारे चितवनमा मुखाग्र थाहा छ । नयाँ पिँढीले पनि मित्रमणिबारे थाहा पाउन जरुरी छ । यो ३५ वर्षमा नारायणीमा धेरै पानी बगिसकेको छ ।

चितवनमा पुरानो सत्ताको विरुद्ध आगो ओकल्ने क्रममा जनयुद्धमा ११० जनाले शहीदको पङ्तीमा आफ्नो नाम लेखाइसक्नु भएको छ । क्रान्तिको यात्रा जारी छ । राज्यद्वारा बेपत्ता पारिएका पार्टीका केही सदस्य दण्डपाणी न्यौपाने, ज्ञानेन्द्र त्रिपाठी लगायत देशभरका झण्डै एक हजार बेपत्ता नागरिकको साथमा मित्रमणिको हत्याको विरोधमा महेन्द्र पुलिस क्लब अगाडिबाट २०४२ बैशाखा २२ गते बेपत्ता पारिनु भएका अखिलका कार्यकर्ता दिलिप चौधरीलगायतको सार्वजनिक हुन जरुरी छ ।

पुरानो प्रतिक्रियावादी राज्यसत्ताका चाकरहरूबाट त्यो सम्भव छैन भन्ने कुरा प्रमाणित भइसक्यो यो १२ वर्षको अवधिबाट । कथित सहयोद्धा भन्नेहरू नै त हुन् प्रतिक्रियावादी राज्यसत्ताको कुर्सीमा । त्यो कुरा क्रान्तिले मात्र गर्न सक्छ ।

प्यूठानबाट आएर चितवनको माटोमा आफ्नो रक्तसिञ्चित गरेररक्तबिज जस्तै नौ जवान क्रान्तिकारी उत्पादन गर्न मित्रमणिले आफ्नो जीवनको न्यौछावर गर्नु भएको छ । यसको मूल्य चितवनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेर पूरा गर्न सक्छ र गर्नु पर्दछ ।

श्रमप्रति सम्मान व्यक्त गर्ने मित्रमणि आचार्यले श्रमद्वारा जनताको मन जित्ने, जनताको घरमा गएको बेला आफूले खाएको थाल आफैले माझ्ने, चितवनको फाँटमा पार्टी कार्यकर्ता र पेशेवर राजनैतिककर्मीहरूको धान काटेर थन्क्याईदिने तोरी उखेल्ने, देउसी भैलो खेलेर संगठनको कोष खडा गर्ने काममा आफू मात्र नभएर क्याम्पसको एक(डेढ शय विद्यार्थीको नेतृत्त्व गरेर विघाका विघा काम एकै दिनमा सकिने गरेको कुरा सँगै काम गरेका सहयोद्धाको मानसपटलमा अझै पनि ताजै छ । मित्रमणिका यिनै गुणबाट सिक्दै नयाँ पिँढीका नेता तथा कार्यकर्ताहरूले बदलिएको सन्दर्भमा जनतासँग जोडिने र एकाकार भएर क्रान्तिको महायात्रामा लामबद्ध भएर अगाडि बढ्न जरूरी छ ।

समाज परिवर्तनको लागि १९९७ देखिका शहीदका गाथाको माला उन्दै, नयाँ जनवाद, समाजवाद, साम्यवादको महासमरको यात्री बनेर मानव जीवनको उत्कृष्ट लक्ष्य प्राप्तिको दिशामा निरन्तर आआफ्नो क्षेत्रबाट अगाडि बढ्नु नै सच्चा क्रान्तिकारीहरूको काँधमा आएको जिम्मेवारी हो । महान् माओले भनेझैँ –“अध्ययन गर्नु नराम्रो कुरा होइन, त्यो अध्ययन, जागिर खान, ठूलो पद पाउन, पैसा कमाउन र प्रमोशन हुन होइन, जनताको सेवा गर्न हुनुपर्छ ।” भन्ने कुरा कक्षामा सधैँ प्रथम हुने र क्याम्पसमा डिस्टीङ्सन ल्याउन सफल तर आफ्नो पढाई र जीवन समेत देश जनता, पार्टी र क्रान्तिको पक्षमा लगाउने मित्रमणि जस्तै आँट र साहस हामीले गर्न सक्यौँ भने मित्रमणिले देखाएको बाटोमा हिँडेको ठहर्छ ।

शहीद मित्रमणिप्रति श्रद्धासुमन !