काठमाडौं । ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)ले आज काठमाडौंको भृकुटीमण्डपमा विशाल जनप्रदर्शन तथा जनसभाको आयोजना गरेको छ । विशाल जनसभाकै बीचमा आज पार्टीको क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ऐतिहासिक प्रथम सम्मेलनको उद्घाटन गरिदैछ । सम्मेलनको उद्घाटन तथा जनसभालाई सम्बोधन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले गर्ने कार्यक्रम रहेको छ ।
जनप्रदर्शन तथा जनसभा सुरु हुनुअघि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट आएको जनमासलाई केन्द्रित गरी छ वटा आर्कबाट जुलुस निकाल्ने तयारी गरिएको छ । मोर्चाका केन्द्रीय सचिवालय सदस्य कुमार शाहले दिएको जानकारी अनुसार माइतीघर मण्डला आर्कबाट निकालिने जुलुसको नेतृत्व मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, कान्छाराम तामाङ लगायतका नेताहरुले गर्नेछन् । यो जुलुस माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धरा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । कालिमाटीबाट निस्कने जुलुसको नेतृत्व मोर्चाका सचिव परि थापा लगायतका नेताहरुले गर्नेछन् । यो जुलुस कालिमाटी, टेकु, त्रिपुरेश्वर, सुन्धरा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुग्नेछ । त्यसैगरी कुपण्डोलबाट निस्कने जुलुसको नेतृत्व मोर्चाका सचिवालय सदस्य तथा ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठले गर्नेछन् । यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धरा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर विशाल जनसभामा परिणत हुनेछ । त्यसैगरी सुन्धराबाट निस्कने जुलुसको नेतृत्व मोर्चाका सचिवालय सदस्य तथा ५ नं. प्रदेशका अध्यक्ष केवी गुरुङले गर्नेछन् । यो जुलुसमा नेता चक्रपाणी शर्मालगायत सहभागी हुनेछन् ।
यता लैनचौरबाट निस्कने जुलुसको नेतृत्व मोर्चाका सचिवालय सदस्य तथा ७ नं. प्रदेशका अध्यक्ष रामबहादुर केसीले गर्नेछन् । यो जुलुस दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ । त्यसैगरी सोह«खुट्टेबाट निस्कने जुलुसको नेतृत्व मोर्चाका सचिवालय सदस्य तथा ४ नं. प्रदेशका अध्यक्ष केशबहादुर परियारले गर्नेछन् । यो जुलुस ठमेल, लैनचौर, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा सहभागी हुनेछ । मोर्चाका सचिवालय सदस्यहरु मनोज श्रेष्ठ र हरिकृष्ण गजुरेलको नेतृत्वमा गौशलाबाट निस्कने जुलुस कालोपुल, ज्ञानेश्वर, कमलपोखरी, दरबारमार्ग, रत्नपार्क, पुरानो बानेश्वर हुँदै भृकुटीमण्डप पुग्नेछ ।
सभा १ बजेबाट सुरु हुने जनाइएको छ ।