बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकारबाट विकास र समृद्धि सम्भव नभएको दाबी गरेका छन् । उक्त कुरा उनले शनिवार बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित एक साक्षात्कारमा कार्यक्रममा बताएका हुन् ।
महासचिव किरणले ‘भाषण र शब्दजालले मात्रै सम्बृद्धि आउँदैन, सरकारका गतिविधिले समृद्धिको लक्षण र संभावना देखाएनन्’ भने ।
कार्यक्रममा महासचिव किरणले प्रधानमन्त्री ओली—प्रचण्डको कडा आलोचना गरेका थिए । अहिलेको नाम मात्रको कम्युनिष्ट भनिएको सरकारले कम्युनिष्ट पार्टीकै बदनाम गरेको उनको आरोप थियो । सरकारले क्रान्तिकारीहरुलाई दमनको प्रक्रिया अगाडि बढाएको भन्दै उनले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीले शब्द शैय्यामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले अहिले लगानी सम्मेलनमा प्रधानमन्त्री नयाँ शब्द चयनमा मात्र लागेको बताए । प्रधानमन्त्रीले आफ्ना कुरा मात्रै गर्ने भन्दै किरणले कुरा नै गर्ने हो भने पनि उनले नेपालको विकास कहाँ पुर्याए ? पानीजहाज कहाँ घुमिरहेको छ ? रेलगाडी कहाँ कुदिरहेको छ ?
महासचिव किरणले व्यंग्य गर्दै भने– अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याइएको छ, भर्जिन ल्याण्ड (कुमारी भूमि) । त्यो भर्जिन ल्याण्डमा लगानी देशका मान्छेले गर्ने हो कि विदेशीहरुले ? नेपालको प्रगतिका लागि प्राथमिकता स्वदेशी लगानीलाई दिनुपर्ने भन्दै उनले विदेशीलाई मात्रै बोलाएर विकास ओइरिने र समृद्धि हुने होइन भनी प्रष्ट पारे ।
नेपालमा विकास र समृद्धिका लागि विरोधका स्वरहरुलाई सरकारले समाधान गर्नुपर्ने उनको सुझाब छ । सत्तारुढ नेकपालाई नाम फेर्न समेत उनले आग्रह गर्दै उनले भने– आफ्नो विचार, सिद्धान्त छोडेर हिंडेर सत्तास्वार्थमा अल्झिने, कांग्रेस लगायतका अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने, सोसयल डेमोक्रेटिक पार्टी राखे हुन्छ । सरकार दुईतिहाईको दम्भ बोकेर तानाशाही बाटोमा हिंडेको ठोकुवा गर्दै उनले सरकारले गरेका पछिल्ला तीनवटा घटनाले त्यसलाई पुष्टि गरेको बताए ।
महासचिव किरणले रेशम चौधरीहरुलाई आजीवन काराबासको सजाय, सिके राउतसँग गरिएको संझौता र जनमतसंग्रहको कुरा र विप्लव नेकपा मागि गरिएको प्रतिबन्ध प्रकरणका बारेमा सरकारसँग स्पष्ट जवाफको माग गरे । उनको थप भनाइ थियो– सिके राउतसँग अचानक सहमति गर्ने, रेशम चौधरीलाई जेल हाल्ने अनि विप्लव नेकपालाई प्रतिबन्ध लगाउने कामहरु गर्नु गलत हो ।
देशको राष्ट्रिय सार्वभौमसत्ता झन् संकटमा परेको भन्दै उनले सरकार कुनै कुरामा गम्भीर नभएको गुनासो पनि गरे । दुईतिहाईको दम्भ बोकेको यो सरकार फासीवादमा प्रवेश गरेको उनको दाबी छ । देशमा भ्रष्टाचार बढ्दो छ, जनतन्त्रको मुद्दा संकटमा छन्, राष्ट्रियता हराएको भन्दै सबै गम्भीर हुनुपर्ने बताए ।
उनको जोड थियो– एउटा उत्तम विकल्प भनेको क्रान्तिकारी परिवर्तन हो, आमूल परिवर्तन गरेर नयाँ ढंगले अघि बढ्ने हो । यदि यो दिशा कमजोर भए अर्काे पुनरुत्थान तर्फ देश अघि जान बेर छैन ।
उनले थपे– हो, हामीले त वैकल्पिक शक्ति तयार पारेर देश क्रान्तिकारी परिवर्तन गरेर अगाडि बढाउने हो । विप्लब लगायतका पार्टीसंग एकताको प्रसंगमा महासचिव किरणले विप्लव नेकपासँग पार्टी एकता सफल नभएको र अहिले ततकाल एकताका लागि कुनै पनि तयारी नभएको बताए ।