सत्तासिन दलहरुले आफ्नो इतिहास भुले : किरण

सत्तासिन दलहरुले आफ्नो इतिहास भुले : किरण

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले सरकार दुईतिहाईको दम्भ बोकेर तानाशाही बाटोमा अघि बढिरहेको बताएका छन् । उक्त कुरा ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित एक वैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बताएका हुन् ।

उनले रेशम चौधरी, सिके राउत र विप्लव सम्बन्धी घटनाहरुले सरकार तानाशाही बाटोमा हिंडेको पुष्टि भएको दाबी समेत् गरेका छन् । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को आयोजनामा बुटवलमा आयोजित वैचारिक सांस्कृतिक कार्यक्रमलाई महासचिव किरणले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै महासचिव वैद्यले सिके राउतसँग अचानक सहमति गर्नु, रेशम चौधरीलाई आजीवन जेल हाल्नु अनि विप्लव नेकपालाई प्रतिबन्ध लगाउनु गलत भएको बताए ।

सत्तासिन दलहरुले आफ्नो इतिहास भुलेको भन्दै उनले भने– ‘२०२८ मा झापाको बन्दुकले माले, एमाले हुँदै केपी ओलीलाई प्रधानमन्त्री बनायो । १० वर्षे जनयुद्धको बन्दुकले प्रचण्ड माथि पुगे, अहिले तिनीहरुकै सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगायो, यो सरकारको दमनकारी नीति हो । राजनीतिक कुरा राजनीतिक ढंगले टुंग्याउनु पर्छ, प्रतिबन्धलगाएर होइन ।

‘सिके राउतसँगको सहमतिमा सरकार जनमत संग्रह गर्न तयार भएको हो कि होइन भनी महासचिव वैद्यले प्रश्न समेत गरेका छन् । द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्ग संघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसात् नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुनै नसक्ने नेता वैद्यले बताए ।

‘कम्युनिष्ट भन्ने सत्तामा बसेको छ, म त यो सरकारलाई कम्युनिस्ट भन्दिन, हुँदा पनि होइन,’ उनले भने ।

कार्यक्रमलाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिव परि थापा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता डा.ओम गुरुङ, नेकपा क्रान्तिकारी माओवादीका पीवीएम केबी गुरुङ, बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बु लगायतले बोलेका थिए । कार्यक्रममा जनवादी गायक जीवन शर्मा, दलबहादुर विक, राष्ट्रिय कलाकार मनु नेम्वाङ, दीपक लिम्बु, मिना बुढाथोकी, रुपा पुनसहित स्थानीय कलाकारको पनि प्रस्तुति रहेको थियो ।