फुजीमोरीको बाटोमा केपी ओली

सन् असीको दशकमा दक्षिण अमेरिकी देश पेरु निकै चर्चामा थियो । त्यहाँ शाइनिङ पाथ कम्युनिष्ट पार्टीका संस्थापक तथा नेता अबिमायल गुजमन ‘गोञ्जालो’ को नेततृत्वमा सशस्त्र छापामार संघर्ष चलिरहेको थियो । त्यसलाई दबाउन तात्कालीन अमेरिकी पिट्ठु तथा पेरुको राष्ट्रपति अल्बर्टो फुजीमोरी थियो । उसले अमेरिकाको नांगो र ठाडो निर्देशनमा पेरुभियन क्रान्तिकारी नागरिकहरुको कत्लेआम गरिरहेको थियो । बाहिर ल्याइएको आँकडा अनुसार करीब ७० हजार नागरिकको फुजीमोरीले कत्ल गरेको थियो ।

तर उसले जति धेरै मानिसहरु माथ्र्यो, उति अमेरिकीहरुले स्यावासी दिने गरिरहेका थिए । ऊ निकै मक्ख थियो र रक्त पिपासु पनि । उसले जनताको हत्याका साथै शाइनिङ पाथका नेता गेञ्जालोलाई पनि गिरप्तार गर्न अमेरिकी सेनालाई सहयोग पुर्यायो । गोञ्जालो गिरफ्तार गरिए र जेलमा हालिए । फुजीमोरी यति गरिसकेपछि अमेरिकी प्रशंसा र विश्व शान्ति पुरस्कारको आशाका केही दिन कुर्न थाल्यो ।

समयक्रम अमेरिकी शासकहरुको हातको खेलमा नाच्दै थियो । फुजीमोरीको अमेरिकी तावेदारीमा अझैं बढोत्तरी आइरहेको थियो । ऊ जनहत्याका कामहरु सजिलै पचाउने र सर्वसाधरणलाई झाडी फाँडे झैं फडानी गर्ने अभियानमा निरन्तर लागिरहेको थियो । तर पुरस्कारको याचनासहित फिँजाइएका उसका हातहरुमा उल्टै हतकडी लागे र लगाइए । फुजीमोरी गोञ्जालोलाई पठाएको कठघरामा पुग्यो । उसलाई नरसंहारको आरोप लाग्यो । अमेरिकी मिसन पनि सकियो । अमेरिकालाई अर्को नयाँ दलाल चाहियो ।

नेपालमा हाल फुजीमोरीको पदचिन्हमा ओली निकै घुुमिरहेका छन् । उनी आफूभन्दा अरु कोहीलाई पनि देखेका छैनन् । उनले सोचेका छन् सारा देश उनको ओठे जवाफ र उखान टुक्काले चलेको छ । देश, जनता र राष्ट्रिय स्वाभिमानका लागि केही पनि गर्नु पर्दैन । मात्र उनले गर्नुपर्ने काम एउटै छ, त्यो हो, अमेरिकी निर्देशनको अक्षरशः पालना । उनी यसैमा मस्त छन्, यसैमा व्यस्त छन् । देश रेलले उडाइरहेको छ, पानी जहाजले डुलाइरहेको छ र सुरुङले भुलाइरहेको छ । बस् यत्ति हो, उडायो रेलैले …।

विदेशीहरुको गोटी बन्नु बलीको बोका बन्नु हो । आज विदेशीले गरेको माया, खुवाएको घाँस र पोसाएको दाना मुनाफाका लागि हो । ओली सकारको शारीरिक तौल बढाउनका लागि हो, ताकि उसलाई बेच्दा केही बढी मूल्य गरी अलि मोटो रकम हात लागोस् । ओली यसै प्रक्रियामा छन् । केपी ओलीको सरकार अहिले दुईतिहाइको मातले निकै एकोहोरिएको छ । उसका लागि अरु कसैको सहयोग र सल्लाह जरुरी छैन अहिले । बरु उसका अविवेकी निर्णय र आदेशहरु शीरोधार्य गरिदिए पुग्छ । ओलीको पार्टी वा तात्कालीन वाम नामको गठबन्धनलाई जनताले पाँच वर्षका लागि शासक बनेर शासन गर्न पठाएका हुन् ।

त्यसैले दुईतिहाइका बलमा यसले जे गरे पनि हुन्छ । उसले देश र जनताका विरुद्धमा संहिता ऐनहरु निर्माण गरेको छ । तिनी डरलाग्दा संहिताऐनहरुको समीक्षा उसलाई जरुरी छैन । हाल प्रतिपक्षमा रहेको कांग्रेसले समेत विरोध गर्ने गरेका ती संहिताहरु देश र जनताका लागि त कति अहितकारी होलान् ? यसबारेमा ओलीको सरकार यही भन्छ– कांग्रेसले विरोध गर्नु भनेको राम्रो भएर त हो किनकि उसले ओली सरकारले नराम्रो गरोस् भन्ने चाहन्छ । यसअतिरिक्त कम्युनिष्टहरुलाई दमन गर्न उनले प्रतिबन्ध लगाएर फौज परिचालन गरिरहेका छन् ।

उनी अमेरिकी आशीर्वाद थाप्दै यसो गरिरहेका छन् । अमेरिकाको आँखामा ओली पनि उनै आतंकवादी हुन्, जो पेरुको अमेरिकी पिट्ठू फुजीमोरी भन्दा नामधारी कम्युनिष्ट हुनुको नाताले निकै डरलाग्दो समेत् छ ।