
काठमाडौं । गिरफ्तारमा परेका विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरुमाथि रातारात संगठित अपराधको मुद्दा लगाएपछि ओली सरकार वार्ताका लागि तयार नभएको प्रष्ट छ । काभ्रे र ललितपुरको सिमानामा पर्ने खानीखोलाबाट शुक्रवार गिरफ्तार गरिएका नेता हेमन्तप्रकाश ओलीसहित ९ जनालाई गिरफ्तारीको एक दिन पछि नै संगठित अपराध विरुद्धको मुद्दा लगाइएको छ ।
आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएका ती नौजनाका विरुद्ध संगठित अपराध विरुद्धको मुद्दामा लगाइएसकिएको तर थप अनुसन्धानका लागि भनेर ८ दिन थुनामा राख्ने आदेश पनि दिइएको छ ।
नेता ओली विप्लव नेकपाका मध्य कमाण्ड इन्चार्ज हुन् । उनीसहितको टोलीलाई ललितपुरको नख्खुमा रहेको एनसेल प्रा.लि.को मुख्यालयमा बम बिष्फोट गराएको प्रहरीको आरोप छ । फागुन १० गते भएको बम बिष्फोटको लगत्तै आफ्नो कमाण्ड अन्तर्गत भएको कारवाहीका हिसावले ओलीले जिम्मा लिएर एक वक्तव्य समेत जारी गरेका थिए ।
नेता ओलीसँगै गिरफ्तार गरिएका नेकपाका कार्यकर्ताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायतलाई पनि एकै प्रकृतिको राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा चलाइएको छ ।
एकातिर वार्ताका लागि आह्वान गर्ने र अर्कोतिर भीषण दमन तथा एकतर्फी युद्धको घोषणा गरेर ओली सरकारले वार्ताको कुरा नाटक हो भन्ने कुरा पुष्टि गरिरहेको छ ।





























