काठमाडौं । युरोपियन युनियनले बेलायतलाई ईयुबाट बाहिरिन दुई महिनाको समयसीमा थप गरेको केही दिनभित्रै बेलायती सहरहरुमा ब्रेकजिटका विरुद्ध जनस्तरबाटै प्रदर्शनहरु हुन थालेका छन् । बेलायतको प्रसिद्ध स्थल हाइड पार्कमा जम्मा भएका प्रदर्शनकारीहरुले ब्रेकजिटका लागि अर्को जनमतसंग्रहको माग गर्दै विभिन्न सहरहरुमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा ब्रेकजिटले अन्यौलताले देशको आर्थिक जीवन तहसनहस पारेको भन्दै यसका लागि नयाँ जनअभिमत आवश्यक भएको कुरामा जोड दिएका थिए । सुरुमा ब्रेकजिटका पक्षमा देखिएको जनमत यसको प्रक्रियामा ढिलाइ हुँदै जाँदा विपक्षमा देखिन थालेको छ । यस्तो अवस्थामा बेलायतले उचित निर्णय लिन सकेन भने ब्रेकजिटले बेलायतलाई अपठेरो पार्ने छ ।
दुई वर्षअघि ईयुबाट बे्रकजिटका लागि निकै उत्साहका साथ निर्णय लिएको बेलायत अहिल न त गरिपुर्याउने न त छोडिसक्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री टेरिजा मेको आफ्नै पार्टी विभाजित भएपछि यो समस्या अझै बढी लम्बिन पुगेको हो ।
पछिल्लो पटक ब्रसेल्समा बसेको ईयुको वैठकले बेलायतको घरेलु मामलालाई मध्यनजर गरेर २ महिनाको समयसीमा थप गरेको छ । यसले बेलायती प्रधामन्त्री मेलाई केही सास फेर्ने बाटो मिले पनि दुईदुईपटकसम्म उनको प्रस्ताव बेलायती संसदबाट अस्वीकृत भएको अवस्थामा ईयुले दिएको थप दुई महिनामा केही निकास आउला भन्ने कुरा आशंकाकै गर्भमा रहेको छ ।
ब्रेकजिट संकट गलाको पासो बनेर बेलायती संसदमा अल्झिन पुगेको छ । यसले प्रधानमन्त्री टेरिजा मेलाई राजीनामाको अप्ठेरो विकल्प छनौट गर्न बाध्य बनाउने पनि देखिन थालेको छ ।