बचेखुचेको आत्मनिर्भर अर्थतन्त्र स्वाहा पार्न लगानी सम्मेलन

कति असर पार्ला अमेरिका–चीन रस्साकस्सीले ?

प्रकाशित मिति : २०७५ चैत्र ९

काठमाडौं । चैत १५ गते नेपालमा लगानी सम्मेलन आयोजना गरिएको छ । यो सम्मेलनमा करीब ३८ मुलुकका ६ सय भन्दा बढी लगानीकर्ताहरुको उपस्थिति रहने अनुमान गरिएको छ । लगानी बोर्डले जनाएअनुसार ६३० जना लगानी कर्ताहरु उक्त कार्यक्रममा भाग लिन इच्छुक रहेका छन् ।

लगानी बोर्डका अुसार विश्वका ८ सयभन्दा बढी लगानीकर्तालाई लगानी सम्मेलनका लागि आमन्त्रण गरिएको थियो । चैत १५ गतेसम्म केहीथप भए पनि आमन्त्रण गरिएका सबै भने उपस्थित हुने देखिदैन ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराको मर्मअनुसार ‘बाउको नभए पनि साउ’को खाने भित्री योजना बुनेर ओली सरकारले निकै जोडबलका साथ लगानी सम्मेलन गरिन थालेको हो । विदेशीको स्वार्थ र शर्तअनुसार ‘समाजवाद’ निर्माणको दिशामा यो सम्मेलनले निकै ठूलो टेवा पुर्याउने ओलीको दुईतिहाईप्राप्त कम्युनिष्ट सरकारको आशा रहेको देखिन्छ ।

यो सम्मेलनको पूर्व सन्ध्यामा एक अमेरिकी उच्च अधिकारी नेपाल आएर चीनलाई चुनौतीको भाषामा ‘नेपाली गरीबहरु लुट्नका लागि चीनले नेपालमा लगानी गर्न पाउँदैन’ भनेलगत्तै ओली सरकारद्वारा आयोजित यो लगाानी सम्मेलनको छिमेकी देश चीनको सहभागिता केकस्तो रहने हो, यो आफैमा गहिरो प्रश्न बनेको छ । यसका साथै नेपाली गरीबहरुको ‘समृद्धि’का लागि सोच्ने र चिन्तित रहने अमेरिका र त्यसका लबीले कुन हद र कति मर्मका साथ लगानी गर्न इच्छुक हुने हुन् त्यो पनि हेर्न बाँकी छ ।

नेपालमा अहिले आर्थिक होइन, विश्व महाशक्तिहरुको राजनतिक र रणनीतिक गतिविधिहरु तीब्रतामा अघि बढिरहेका छन् । देशको असंलग्न परराष्ट्रनीति बेचेर खाएको ‘बहुमुखी दलाल’ ओली सरकारको आर्थिक होस् वा राजनीतिक गन्तव्य कहीं र कतै पनि पुग्ने देखिदैन ।
अर्थविदहरुका अनुसार नेपाल नेपालीहरुको स्वार्थमा केही भए पनि आत्मनिर्भर अर्थतन्त्रको विकास नगरेर नेपाल उँभो लाग्ने देखिदैन ।

बढ्दो आयात र परनिर्भर अर्थतन्त्रका कारण देशको शोधनान्तर घाटा अकल्पनीय रुपमा बढेर गएको छ । रेमिटेन्सको नाममा देशमा रहेका युवा जनशक्ति सरकार आफैले मानव तस्कर संस्थाका रुपमा बेचबिखन गरिरहेको छ । एकातिर समाजवाद निर्माण, समृद्ध नेपालको नारा दिने र अर्कोतिर बेरोकटोक खुल्ला र अराजक रुपमा विदेशी लगानीकर्ताहरु भित्र्याउने तथा परनिर्भरताको आर्थिक प्रणाली अवलम्बन गर्ने सरकारले आयोजना गरेको लगानी सम्मेलनको कुनै अर्थ र महत्व छैन ।

देशमा रहेका उत्पादनहरुको प्रोसेसिङ, तयारी मालका रुपमा निर्माण र तिनको विश्व बजारमा वितरण गर्नतिर लगाानी आकर्षणका लागि यो लगानी सम्मेलन भइरहेको छैन । यो त केवल केही मात्रामा भए पनि बचेखुचेको आत्मनिर्भर अर्थतन्त्रको आधार मेटाउन र बेरोकटोक विदेशी लगानी भित्र्याएर लूटतन्त्र निर्माणका लागि गरिएको पहल जस्तो हुन पुगेको छ ।

उनीहरुको लूट र मुनाफाका लागि विदेशी हात्ती लगानी हुँदा खरायोको रुपमा रहेको नेपालको आर्थिक स्रोत तथा आर्थिक अवस्थाको बचाउका लागि कुनै पनि बलियो घरेलु कानुन तथा अन्य बचाउका आधारहरु निर्माण त के सोचसम्म पनि बनाइएको छैन । यस्तो अवस्थामा अह्वान गरिएको लगानी सम्मेलन रमिता बाहेक केही पनि नहुने पक्कापक्की छ ।