नेपालमा बढ्दो चीनविरोधी अमेरिकी गतिविधि

नेपालमा बढ्दो चीनविरोधी अमेरिकी गतिविधि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब सुरुङ मार्गको युगमा प्रवेश गर्न लागेको खुलासा गरेका छन् । बुटवल–नारायणगढ सडक चार–लेन सडकमा विस्तार गर्ने कार्यक्रमको शुक्रवार बुटवलमा शिलान्यास गर्दै उक्त कुरा बताएका हुन् । प्रम ओलीले २०८० सालबाट सुरूङमार्गको युग सुरु भइछाड्ने ठोकुवा पनि गरे ।

विदेशी शक्तिहरुको योजनालाई नेपालीको आफ्नै जस्तो योजना बनाएर प्रस्तुत गर्ने ओलीले यस पटक सुरुङ मार्गको युग सुरु भएको घोषणा नै गर्न पुगेका छन् । भारतीय तथा चिनियाँहरुको आफ्नो स्वार्थ र व्यापार विस्तारको चासोअनुसार उनीहरुले काठमाडौंमा ल्याउने रेलका कुरा गर्दा ओलीले आफूले नै चिनियाँ तथा भारतीय रेल ल्याउन लागेका फुस्रा गफ निकै चुटेका थिए ।

भारतीय सामान र व्यापारका लागि मालबाहक तथा यात्रुबाहक पानीजहाज नेपालका नदीनालामार्फत् महाभारतको तल्लो तथा मध्य भागसम्म भित्र्याउने भारतीय योजनालाई प्रम ओलीले आफ्नै पानी जहाज चलाउने योजना भनेर निकै ढाँटिरहेका थिए । आखिरमा केही पनि नलागेपछि टिकट काउण्टर उद्घाटन गरेको नाटक पनि देखाएका थिए । तर उक्त टिकट काउन्टर उद्घाटनको भोलिपल्टदेखि नै बन्द रहेको छ ।

अहिले नेपाली भूमिमा संयुक्त राज्य अमेरिकी शक्ति निकै बलशाली बन्दै गएको छ । यसले चीनविरोधी आक्रामक गतिविधिहरु नेपालमा सञ्चालन गर्ने योजना बनाएको देखिन्छ । विदेश मन्त्री प्रदीप ज्ञवाली अमेरिका पुगेर राष्ट्र, राष्ट्रियता र नेपाली जनताका विरुद्धमा हुने गरी केही डरलाग्दा सन्धिसम्झौताहरु गरेर फर्किएका छन् ।

मन्त्री ज्ञवालीले अमेरिकीसँग गरेको सम्झौताअनुसार अब नेपाल असंलग्न देश नै रहेन । नेपालको परराष्ट्रनीति असंलग्न नै रहेन । अब पूर्ण रुपमा अमेरिकी तथा पश्चिमासँग संलग्न रहने अवस्था आएको छ । यो भनेको अमरिकाले नेपाली भूमि चीन, रसिया तथा उस्तै परेमा आउँदा दिनमा कुनै बखत भारतविरुद्ध प्रयोग गर्न पाउने छ ।

अमेरिकी लगानी निर्वाध र निशर्त गर्न पाउने, ओली सरकारले नेपाल सरकारको हैसियत होइन केवल एक सहजकर्ताको भूमिका मात्र निर्वाह गर्न पाउने, लगानी लगाउने, विस्तार गर्ने, मुनाफा उठाउने, लगानीका स्रोतहरुमाथि अमेरिकी लगानी कर्ताको स्वामित्व रहने, वर्कपर्मिटको कुनै पनि व्यवस्था नरहने जस्ता कुराहरु परराष्ट्रमन्त्री ज्ञवालीले गरेको सम्झौतामा छन् ।

त्यसै गरी फ्रि तिब्बतको मामलामा नेपाल सरकारले कुनै पनि हस्तक्षेप गर्न नपाउने, नेपाली दुर्गम इलाकाहरुमा अमेरिकी थ्रेट रहने भएकाले त्यहाँ अमेरिकी सुरक्षा पहुँचको व्यवस्थामा नेपाल सरकारले व्यवस्था गरिदिने गरी सर्वाधिक राष्ट्रघाती र जनविरोधी र नेपाली जनजीविका अमैत्री सन्धिसम्झौता गरेर आएका छन् ।

प्रम ओलीले भने झैं यो बि.सं. २०८० सालबाट नेपाल बाटोको सुरुङ त होइन, अमरिकी सुरुङ युद्धमा परिणत हुने छ । नेपाली जनतालाई ठग्दा र ढाँट्दा ‘बाटोको सुरुङ निर्माण’ भनिदिने तर भित्रभित्र चीनविरोधी अमेरिकी सुरुङ युद्धमा देशलाई फसाउने नियतलाई बेलैमा बुझ्न जरुरी छ ।

देशको विकासका लागि सरकारले विकास निर्माणका कामहरु गर्नु गराउनु ठीकै कुरा हो । तर यसको पछाडि विदेशी रणनीतिक स्वार्थका डरलाग्दा काला कर्तुतहरु अघि सारिएका छन् । ओली सरकार पूर्णरुपमा अमेरिकी पोल्टामा गएको छ र सत्ताधारी नेकपाका ओली–दाहालसहितका अधिकांश नेताहरु क्रिश्चियन बन्दै अमेरिकी खेमामा बसाइसराइ गरिरहेका छन् ।

अमेरिकी स्वार्थमा नेपालमा गरिएका विविध गतिविधिहरुमा सबैभन्दा सम्बेदनशील विषय सिंहदरवार नै तीन दिनसम्म होटल सोल्टीमा सारेर देशको शासन मुकाम बाहिर चलाइएको थियो । यो भनेको नेपाल र नेपालीहरुको मनोविज्ञानमा यसो त भइ नै रहन्छ भनेर पार्नका लागि गरिएको ट्रायल थियो । यो पनि ओलीको कार्यकालबाट सुरु भएको छ ।

नेपालमा अमेरिकी प्रभाव र गतिविधि एकलौटी जस्तो हुनथाल्दा परमाणु भट्टी निर्माण गर्न अतिआवश्यक युरेनियमको उत्खनन् तथा त्यसको निजी प्रयोगको बाटो खुल्ला गर्न ओली सरकारले कानूनी प्रक्रिया अघि बढाइकेको छ । नेपालमा गरिएका समृद्धिका कुरा नेपाल र नेपालीका हितमा ओली सरकारको बुद्धिविवेकले सहज रुपमा आएका वा ल्याइएका होइनन्, बरु यी त विदेशी शक्तिहरुका स्वार्थ र रणनीतिक योजनाअनुसार बोल्न र भन्न लगाइएका कुराहरु मात्र हुन् ।

अमेरिका लगायतका विदेशी शक्तिहरु चाहन्छन् उनीहरुको दलाल ओली सरकारले ती सबै कामका लागि राजनीतिक, कानूनी, सामाजिक तथा व्यवहारिक वातावरण तयार गरिदिओस् ।