केपी ओली हिटलर बन्न खोजे : सिपी गजुरेल

केपी ओली हिटलर बन्न खोजे : सिपी गजुरेल

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ४ नंं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले भव्य सभाबीच मैनबत्ति बालेर सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनको प्रमुख अतिथि समेत रहेका अध्यक्ष गजुरेलले देजमो अब वैकल्पिक शक्तिको रुपमा अगाडि आइरहेको दावी गरे ।

अध्यक्ष सीपी गजुरेलले ओली सरकारले जनताबीच समाजवाद ल्याउने भ्रम दिदै मुलुकमा फासिवादी व्यवस्थाको अभ्यास गर्न खोजेको टिप्पणी गरेका छन् ।

पोखराको कान्तिपुर पार्टी प्यालेसमा आयोजित मोर्चाको सम्मेलनमा नेता गजुरेलले ओली सरकारका पालामा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि गम्भिर संकट उत्पन्न भएको भन्दै त्यसको आम नागरिकद्वारा विरोध भएपनि सरकारले जनविरोधी हर्कत नरोकेको बताए ।

विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले अहिलेकै संविधानले पनि धारा २७० को उलंघन गरेको समेत नेता गजुरेलले दावी गरे । उनले भने, “संविधानको उक्त धारामा राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेको छ । तर यो सरकार फासिवाद उन्मुख रहेको देखिन्छ, निरंकुशता लादिरहेको छ ।”

उनले प्रधानमन्त्री ओलीलाई हिटलरसँग दाज्दै भने, “हिटलरले पनि कुनैबेला समाजवादी पार्टीको नारा दिएका थिए तर पछि फासिवाद निम्त्याए । ओली सरकारको कार्यशैलीले पनि त्यस्तै संकेत गरेको छ ।”

वर्तमान व्यवस्थाको विकल्प सडक आन्दोलन रहेको भन्दै उनले चैत्र २४ गते काठमाण्डौमा हुने वृहत जनप्रदर्शनमा सहभागी हुन आम नागरिकमा आह्वान समेत गरे ।

मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा चार नम्बर प्रदेशका संयोजक केशबहादुर परियारको सभापतित्वमा भएको सम्मेलन उद्घाटन कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का नेताहरू अनुकूल, रामजी, निलबहादुर पुन, निश्चललगायतका नेताहरुको उपस्थिति रहेको थियो । सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्य, जबस मोर्चाका केस तथा प्रदेशका प्रमुखहरुको समेत आतिथ्यता रहेको थियो ।

त्यस्तै सम्मेलनमा विभिन्न राजनितिक दलका नेताहरू, पत्रकार, समाजसेवी, सामाजिक अगुवा लगायतको समेत आतिथ्यता रहेको बताइएको छ ।

सम्मेलनको बन्द सत्रबाट नीति र नेतृत्वको विषयमा सघन छलफल गरी मोर्चाको जुझारु प्रदेश कमिटि निर्वाचित गर्नेछ ।