काठमाडौं । ओली सरकारले स्वदेशमा लगानी सम्मेलनको कुरा गरिरहँदा देशका उत्पादनहरुको प्रशोधन तथा तयारी माल निर्माण गरी विदेशी बजारमा निर्यात गर्ने कुनै पनि प्रस्ताव गरेको छैन । यस कुरालाई लिएर पूर्वी नेपालका अलैची किसानहरु क्रुद्ध भएका छन् ।
उनीहरुका मागअनुसार कालो सुन भनेर चिनिने अलैचीको प्रशोधन, तयारी सामान र बजारको व्यवस्थापनका लागि नेपालमा गरिन लागेको लगानी सम्मेलनबाटै छिनोफानो गरिनु पर्दछ ।
कफी, चिया, यार्सा तथा अन्य जडीबुटीको प्रशोधन र तयारी माल निर्यातको कुरा नै गरिएको छैन । सरकारले लगानी सम्मेलन केवल नेपालको पानी वा नदीनाला बेच्नका लागि मात्र सम्मेलनको आयोजना गर्न थालेको आभाष जनतालाई भएको छ ।
गुणस्तरीय अलैची नेपालमा खेती गरिने भए पनि केवल कच्चा पदार्थका रुपमा मात्र यसको निर्यात गरिने भएकाले किसानले अलैचीको भाउ पाउन सकेका छैनन् । एक क्विन्टलका लागि बढीमा एक लाख बीस हजार र कम्तीमा मात्र २५ हजारमा किसानहरु अलैची बेच्न बाध्य छन् ।
तर ओली सरकार समृद्धिका कुरा गरिरहँदा किसानका यी समस्याहरु उठाएको पनि छैन र उठाउने पक्षमा पनि देखिदैन । नेपालमा सरदर वार्षिक ६ हजार ५०० मेट्रिक टनदेखि केही बढीसम्म पनि अलैची उत्पादन हुँदै आएको छ ।