काठमाडौं । युरोपियन युनियनले बेलायतलाई ईयुबाट बाहिरिन दुई महिनाको समयसीमा थप गरेको छ । थपिएको यो समय सीमाभित्र बेलायतले आवश्यक निर्णय लिन सकेन भने बेलायती ब्रेकजिटमा निकै समस्या आइपर्ने देखिन्छ ।
दुई वर्षअघि ईयुबाट बे्रकजिटका लागि निकै उत्साहका साथ निर्णय लिएको बेलायत अहिल न त गरिपुर्याउने न त छोडिसक्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री टेरिजा मेको आफ्नै पार्टी विभाजित भएपछि यो समस्या अझै बढी लम्बिन पुगेको हो ।
पछिल्लो पटक ब्रसेल्समा बसेको ईयुको वैठकले बेलायतको घरेलु मामलालाई मध्यनजर गरेर २ महिनाको समयसीमा थप गरेको छ । यसले बेलायती प्रधामन्त्री मेलाई केही सास फेर्ने बाटो मिले पनि दुईदुईपटकसम्म उनको प्रस्ताव बेलायती संसदबाट अस्वीकृत भएको अवस्थामा ईयुले दिएको थप दुई महिनामा केही निकास आउला भन्ने कुरा आशंकाकै गर्भमा रहेको छ ।
ब्रेकजिट संकट गलाको पासो बनेर बेलायती संसदमा अल्झिन पुगेको छ । यसले प्रधानमन्त्री टेरिजा मेलाई राजीनामाको अप्ठेरो विकल्प छनौट गर्न बाध्य बनाउने पनि देखिन थालेको छ ।