नेकपाका नेता हेमन्तप्रकाश ओली गिरफ्तार

कम घनत्वको युद्धनीतिमा ओली सरकार

प्रकाशित मिति : २०७५ चैत्र ९

काठमाडौं । नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन् । उनीसहित मध्य कमाण्डको नेकपाको टिम प्रहरीको घेराउमा परेको हो । ओली नेकपा मध्य कमाण्डका इञ्चार्ज हुन् ।

ओली सरकारद्वारा प्रतिबन्धको घोषणा गरेपछि कम घनत्वको युद्धको अमेरिकी तरिका अपनाएर नयाँ खालको सर्च अभियानमा सरकारी जंगी शक्ति लागि रहेको छ । यही क्रममा प्रहरीको विशेष सर्च टोलीले शुक्रबार राती काभ्रेबाट ओलीको टिमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार विप्लव नेकपाका स्थायी समिति सदस्य ओलीसँगै अन्य आठ जना नेता तथा कार्यकर्ता पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्य नेता तथा कार्यकर्ताहरुमा शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कारहेको बताइएको छ ।

जानकारी अनुसार काभ्रे र ललितपुरको सीमानामा रहेको खानीखोला गाउँपालिका मिल्चेस्थित बोरेनीमा उनीहरुलाई गिरफ्तार गरिएको हो । भूमिगत टिम बा १७ च ४८९३ नं को स्कारपियो गाडीमा ललितपुरतिर जाँदै थिए । गिरफ्तारपछि उनीहरुलाई राती नै काठमाडौं ल्याइएको थियो ।

सूचना सञ्चारको अत्यधिक प्रयोग गरेर कम घनत्वमा फौज परिचालन गर्ने र स्थानीय प्रहरी चौकीहरुसँग समन्वय गर्दै अघि बढ्ने फौजी नीति अबलम्बन गरी उनीहरुलाई गिरफ्तार गरिएको हो ।

के हो कम घनत्वको युद्ध ?

कम घनत्वको युद्धमा थोरै तर सेलेक्टेड शक्ति प्रयोग गरिन्छ । हात हतियारका हिसाबले पनि एक नम्बरका हतियार केन्द्रित गरिन्छ । सूचना सञ्चार पनि त्यहीखाले बढी संवेदनशील र उच्च र्यांकका प्रयोग गरिन्छ । संभावित स्थान वा शेल्टर विशेषको छनौट गरी घनिभूत निगरानी राखिन्छ ।

यो युद्ध घोषणा, होहल्ला, प्रचारवाजीभन्दा पनि बढी लुकेर, छिपेर, सूचनाको सुनिश्चित गरेर गरिन्छ । आम जनताका पछि वा कार्यकर्ताका पछि नलागेर मुख्य मुख्य नेतृत्वको सघन पिछा गरिन्छ । यो युद्ध पूर्व निर्धारित हुन्छ । खोजि गरिएकामध्ये कोको र कति जना छन्, तिनीहरुलाई गिरफ्तार गरिने हो कि मारिने हो, घाइते बनाइनु पर्ने हो कि गायब पारिनु पर्ने यो सबै एक्सन फिक्स हुनु अगाडि नै आधिकारिक निकायबाट निर्णय गरी एक्सन टिमलाई निर्देशन गरिन्छ ।

तदनुरुपको फौजी एक्सनपछि प्रचार पनि रेडिमेड रुपमा ढिलो वा चाँडो गरिन्छ । यसलाई एक्सनमा निशस्त्र समातेर हत्या गरिएको होस् वा भिडन्त भएको होस् वा आत्मसमर्पणपछि मारिएको होस्, यसको जवाफ पूर्व निर्धारित वा रेडिमेड नै हुन्छ । यसको मतलब हो सबै कुरा पूर्व निर्धारित ।

पेरुमा क्रान्तिकारी पार्टी साइनिङ पाथका नेता अबिमायल गुज्मनको गिरफ्तारी र जेल गुमनाम, बोलिभियामा चे ग्वेभेराको गिरफ्तारी र अमानवीय हत्या, पाकिस्तानको ओटावा सहरमा पाकिस्तानी सैनिक क्याम्पसँग जोडिएको घरमा ओसामा बिन लादेनको मध्यरातमा हत्या आदिइत्यादि ‘टपमोष्ट’ कम घनत्व युद्धका उदाहरण र अमेरिकी सफलताहरु हुन् । सबैभन्दा रोचक कुरा त ओसामा बिन लादेन त्यहाँ रहेको उनको हत्या गरिनु भन्दा आठ महिना पहिले अमेरिकाले पत्ता लगाएको र निरन्तर उच्च गोपनियताका साथ निगरानी गर्दै आएको थियो ।

आठ महिनापछि अमेरिकी सानो टुकडीले ओटावास्थित विनलादेनको शेल्टरघरमा यसरी आक्रमण गरी क्षणभरमै उसको हत्यागरी लास लिएर गयो कि पाकिस्तानी सेना अलर्ट हुँदा अमेरिकी लडाकु हेलिकप्टर र फाइटर विमानहरुले पाकिस्तानी सीमा काटिसकेका थिए ।
चे ग्वेभेरालाई घेरा हालेर समात्दा जम्मा ७ जना अमेरिकी रेञ्जर सेनाहरु मात्र थिए ।

अबिमायल गुज्मानलाई समात्न पिछा गर्ने अमेरिकी अधिकारीको अनुसनधान कक्षमा प्वाल परेको पुरानो टेबुल, केही कलम र कापी, पानी खाने जार, एकदुई जोर लत्ता कपडा भन्दा बढी केही पनि थिएनन् । अमेरिकीहरुले प्रयोग गरेको ‘थ्योरी’ भनेको ‘फइट द गुरिल्ला, लाइक द गुरिल्ला’ नै हो ।

अहिले विप्लव नेतृत्वको नेकपाको केही सोच र अनुभव भनेको जनयुद्धको हो । शैली गुरिल्लाको हो । तर नेपालमा अमेरिका पसिसकेकाले लडाइँ र छिपाइको पुरानो शैली काम लाग्दैन । अर्को कुरा, परिस्थिति छापामार युद्धअनुकूल पनि छैन । देशैभर सत्ताधारी नेकपाका मान्छे र समर्थकहरु व्यापक छन् । जनतामा वैचारिक र फौजी कित्ताबन्दी पनि भएको छैन । सबैको हातहातमा सञ्चारका साधन मोबाइलहरु छन् ।

सबैभन्दा असजिलो कुरा त विप्लव नेकपा लडाइँ नलड्ने मुडमा भएको र सरकारी सैनिक तथा पुलिसमाथि आक्रमण गर्ने कुनै नीति नै नभएको स्पष्ट गरिरहँदा पनि सरकारले फौजी शक्ति प्रयोग गरेर जबर्जस्त युद्ध थोपरिरहेको अबस्था छ ।

योसँगै ‘पावर सेयरिङ’को क्लियर भिजन पनि नहुने र संघर्षको तयारी पनि नहुने अवस्थामा कम घनत्व युद्धको अमेरिकी फैजी कलाले विप्लव नेकपामा ठूलो अप्ठेरो आइपरेको सहजै देखिन्छ ।

वर्तमान ओली सरकारले त सूचना संकलनका लागि यतिसम्म पनि गरेको छ कि सानातिना पार्टीका नेताहरुलाई पनि प्रहरी सुरक्षा पार्श्ववर्तीको व्यवस्था गरेर सेकेण्डभर पनि आफ्नो नियन्त्रणभित्र राखिरहेको छ ।