काठमाडौं । फागुन शुक्ल पूर्णिमा अर्थात् रङको पर्व । यो पर्व आज नेपालको हिमाली तथा पहाडी जिल्लामा निकै ठूलो जनसहभागिताका साथ मनाइँदै छ । जनस्तरमा स्वतःस्फूर्त र हर्षोल्लासका साथ मनाइने यो पर्व परापूर्व कालदेखि चलि आएको मानिन्छ ।
यसका बारेमा धेरै धार्मिक तथा सांस्कृतिक किम्बदन्ती तथा कहावतहरु रहँदै आएका छन् । भौतिक अर्थ र महत्व पनि यसमा लुकेको पाइन्छ । गहिरिएर हेर्दा दानव र मानव प्रवृत्तिका बीचमा निकै गहिरो लडाइँ र अन्ततः मानव प्रवृत्तिको विजय यसको शिक्षा रहेको देखिन्छ । यसले मानव जातिमा मेलमिलाप ल्याओस् र सौहाद्र्रताका माझमा साझा खुशी र समृद्धि पनि भित्र्याओस् भन्ने रहेको देखिन्छ ।
समय चक्र र ऋतु परिवर्तनका हिसाबले पनि पुरानोको बिदाइ तथा नयाँको आगमनसँगै होली मनाइएको पाइन्छ । वसन्त ऋतुको आगमन प्रकृति आफैमा पुनर्ताजकीको परिचायक हो । यति बेला प्रकृति पनि नयाँ, ताजा र रङमय देखिएको हुन्छ । ठूला विरुवा तथा रुख फूलहरु फुल्ने, पालुवाले पल्लवित हुने, वनजंगल हराभरा हुँदै जाने र गोठालाहरुले पनि “वर्षा लागे साइँली खेती र पाती, लागे हिउँद माया र पिरती” भनेर गीत गाउने भएकाले पनि यो समयमा प्रकृति स्वयम्मा पनि केही नयाँपन, केही उमंग र चञ्चलता तथा केही वातावरणीय परिवर्तन देखा पर्ने र त्यसले प्रकृतिकृत मानव जातिमा पनि प्रत्यक्ष असर पार्ने गरेको देखिन्छ ।
यस धर्मशास्त्र र परम्पराले कथाकुथुंग्री तथा रमाइला किस्सा र कहानीका फुँदाहरु जोडिदिएर सुनमा सुगन्धित, उमंगमा पुलकित र प्राकृतिक रहस्यमा उत्तेजित बनाइदिंदा मानिसहरु रङको स्वरुपमा आफूलाई बहाउन पुगेको देखिन्छ । सौन्दर्य, चाहे त्यो प्राकृतिक होस् वा मानव र मानवकृत, यसको काम र विशेषता भनेकै आकर्षित गर्ने र लट्ठ्याउने, आफैमा बेर्ने र समाहित गर्ने नै हो ।
त्यसैले यो रङ पर्वमा विशेष गरी हिन्दूहरु र समग्रमा संसारभरका मानिसहरु यो आनन्दको आहालमा स्वाद मानेर रमाउने गर्दछन् । यो स्वाद हिमाली तथा पहाडी जिल्लाहरुमा बुधवार र तराइमा बिहीवार मनाइँदै छ ।
पहिले पहिले रङका अलावा फोहर पानी, कालो मोसो तथा स्थायी रङहरुको प्रयोग गरेर देखाइँदै आएको साँच्चिकै आसुरीय प्रवृत्ति अब मानव प्रवत्तिमा बदलिँदै गएको छ । मानिस बढी संवेदनशील, सचेतन र विवेकी बन्दै गएको देखिएको छ । काठमाडौंको वसन्तपुरमा उपस्थित होलीपे्रमी तर हेलिकाविरोधी मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने तयारी गरिरहेका छन् । चीर दहनपछि खरानीको टीका लगाउने चलन यथावत नै छ ।
होलीकै रातमा टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि बोकेर ल्याइन्छ, त्यो पनि कहींपनि नबिसाई । ल्याइ पुर्याउने बित्तिकै दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाइन्छ र विधि पूरा भएको मानिन्छ ।
धार्मिक कथाअनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाए । तर होलिका आफैँ भष्म भइन्, विष्णुभक्त प्रह्लाद बाँचे । कथा अनुसार ब्रह्माबाट आगोले पोल्न नसक्ने वरदान पाएकी होलिका पोलिइन्, तर प्रह्लाद भने बाँचे । यो आफैमा ब्रह्मा बलिया कि विष्णु भनेर प्रयोग गरेको घटनाका रुपमा पनि देखिन्छ । त्यसै उपलक्ष्यमा होली मनाइएको छ ।
भौतिकवादीहरुका अनुसार रङ र मानिसको छालाबीचमा सम्बन्ध के छ ? रङसँग खेल्नाले हुने फाइदा आदि वारे खोजअनुसन्धानको विषय अघि सार्ने गरेका छन् । सैन्य विज्ञानमा त रङलाई ‘क्यामोफ्लेज’का रुपमा निकै सौन्दर्यपूर्ण र सैन्यअर्थका हिसाबले सफलतापूर्वक प्रयोग गरेको पाइन्छ ।